वराहक्षेत्र । वराहक्षेत्रमा हरेक वर्ष लाग्दै आएको हरिबोधनी एकादशी मेला आज (बिहीबार) बाट सुरु हुँदैछ ।

प्रत्येक वर्ष कात्तिक महिनाको हरिबोधनी एकादशीबाट सुरु भएर पूर्णिमासम्म ५ दिनसम्म लाग्ने मेलामा हजारौँ नेपाली र भारतका भक्तजन वराह भगवान्को पूजा र दर्शन गर्न आउँछन् ।

मेला अवधिभर वराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित वराहक्षेत्र मन्दिरक्षेत्रका होटलहरूमा नगरपालिकाले मदिराजन्य पदार्थ तथा माछा, मासु बिक्री वितरण र सेवनमा पूर्णरूपमा रोक लगाएको छ । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रको रूपमा रहेको वराहक्षेत्र मन्दिर परिसरमा रहेका होटल व्यवसायीहरूलाई मदिराजन्य पदार्थ तथा माछा, मासु बिक्री वितरण नगर्न आग्रह गरिएको र उक्त कार्यलाई कार्यान्वयन गराउन इलाका प्रहरी कार्यालय महेन्द्रनगर तथा वराहक्षेत्र संरक्षण मञ्चलाई समेत आग्रह गरेको नगरप्रमुख रमेश कार्कीले बताए ।

धार्मिक क्षेत्र मठ, मन्दिरको ५ सय मिटर वरपर मदिराजन्य पदार्थ तथा माछा, मासु बिक्री वितरण गर्न नपाउने नगरपालिकाको निर्णयअनुसार वराहक्षेत्र मन्दिर क्षेत्रका होटलहरूमा उक्त सामग्री प्रतिबन्ध गरिएको नगरप्रमुख कार्कीले बताए ।

वराहक्षेत्र मन्दिरमा उक्त नियमलाई पूर्णरूपमा पालना गराएर अन्य स्थानमा पनि उक्त नियम लागू गराइने नगरप्रमुख कार्कीको भनाइ छ । धार्मिक क्षेत्रका होटलहरूमा मदिराजन्य पदार्थ तथा माछा, मासु बिक्री वितरणमा रोक लगाउन जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र वराहक्षेत्र नगरपालिकाबाट समेत निर्देशन आएकाले उक्त निर्णयलाई कार्यान्वयन गर्न इलाका प्रहरी कार्यालय महेन्द्रनगर लागिपरेको प्रमुख इन्स्पेक्टर रामप्रसाद तिमिल्सिनाले बताए ।

पहिलो चरणमा होटल सञ्चालकहरूलाई मौखिक सूचना र माइकिङ गरिने त्यसपछि अटेर गरे दण्ड, जरिबानाको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । मन्दिर क्षेत्रका होटलहरूमा मदिरा र माछा–मासु रोक लगाउन इलाका प्रहरी कार्यालय चतरा र वराहक्षेत्र प्रहरी चौकीलाई समेत निर्देशन दिएको उनले बताए ।

वराहक्षेत्र मन्दिरमा दर्शन गर्न देश विदेशबाट दैनिक हजारौँ श्रद्धालु भक्तजनहरू पूजा, आराधना गर्न आउने भएकाले होटलहरूमा मदिरा र माछा–मासु बिक्री वितरणमा रोक लगाउनु राम्रो कुरा भएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । हिन्दू धर्मावलम्बीहरूको आस्था तथा विश्वासको केन्द्रमा रहेको वराहक्षेत्र मन्दिरमा मदिरा र माछा, मासु बिक्री वितरणमा रोक लगाउने निर्णयलाई लागू गराउन मञ्चले पनि काम गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।