वराहक्षेत्रमा हरेक वर्षजस्तै धार्मिक मेला सुरू भएको छ । नेपालका विभिन्न ठाउँ र भारतबाट ठूलो सङ्ख्यामा भक्तजन आउने वराहक्षेत्र मेलालाई व्यवस्थित गर्नसकेमा धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने निश्चित छ । वर्षौंदेखि लाग्दै आएको यो मेला बर्सेनि उही अस्तव्यस्त तरिकाले सञ्चालन हुने गर्छ । वराहक्षेत्र नगरपालिका र विभिन्न सङ्घ– संस्थाहरुले व्यवस्थापनको प्रयास नगरेका होइनन् तर, अझै मेलाको समयमा सडक, मन्दिरदेखि बजारसम्म अस्तव्यस्त रहन्छ । वराहक्षेत्र र आसपासको क्षेत्रका धार्मिक, सांस्कृतिक विकास र संरक्षणका लागि भनेर सरकारले स्थापना गरेको बृहत्तर वराहक्षेत्र विकास समितिले यस्तो मेला, महोत्सव र वराहक्षेत्र मन्दिरको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने हो । समितिले यस्तो काम गर्न सकेको छैन ।
वराहक्षेत्रमा हरेक वर्ष कात्तिक र माघमा ठूलो मेला लाग्दै आएको छ भने अन्य तिथिहरुमा पनि ठूलो सङ्ख्यामा धार्मिक पर्यटकहरुको उपस्थिति रहने गर्छ । नेपालका मात्र नभएर भारत, बङ्गलादेशसम्मका पर्यटकबाट वराहक्षेत्रले पर्याप्त फाइदा लिन सकेको छैन । भौगोलिक कारणले पनि वराहक्षेत्रमा यसको धार्मिक महŒवअनुसारको विकास हुन सकेको छैन । वराहक्षेत्र मन्दिरसम्म पुग्ने सडक अहिले पनि कष्टकर छ । बाढी पहिरोले बर्सेनि सडक भत्काउने, बगाउने गर्छ । तल सप्तकोसी नदी र माथि ठूलो भीरका बीचबाट यात्रा गर्नु पर्दा पर्यटकलाई कष्ट हुन्छ । सप्तकोसी नदीबाट जेट बोटमार्फत् यात्रा गर्न पनि सकिन्छ तर, जेट बोटको व्यवस्थापन झनै अस्त–व्यस्त छ । सरकारले स्पष्ट नीतिसम्म बनाउन नसकेको बोटमा यात्रा गर्दा महँगो भाडा तिर्नु पर्छ । यसको प्रभावकारी नियमन हुन सकेको छैन । त्यसबाहेक पर्यटकका लागि आवश्यक बासस्थान र खानपिनको व्यवस्थापन हुनु आवश्यक छ । मेलामा आउने धेरैजसो भारतीय पर्यटकहरु आफै खानेकुरा बोकेर आउने गर्छन् । उनीहरुका लागि चतरा र वराहक्षेत्रमा धर्मशालाहरुको व्यवस्था गरिएको छ । खाना र बासस्थानको उचित प्रबन्ध गरेर बाहिरबाट ल्याउनु पर्ने अवस्थाको अन्त्य गर्नसके त्यसको फाइदा वराहक्षेत्रले लिन सक्छ ।
मेलाको समयमा मात्र होइन, आवश्यक पूर्वाधारको विकास गरेर धार्मिक पर्यटकलाई आकर्षित गर्नसके वराहक्षेत्रले राम्रो आम्दानी लिन सक्छ । त्यसका लागि स्थानीय सरकारले पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर गहन छलफल गरी स्पष्ट नीति निर्माण गर्नु आवश्यक छ । वराहक्षेत्रसम्म पुग्ने सडक मार्गलाई व्यवस्थित र सुरक्षित बनाउने, जल मार्गलाई सस्तो र सहज बनाउने, पर्यटकलाई आकर्षित गर्न सक्ने र सकेसम्म केही दिन वराहक्षेत्रमा बिताउन सक्ने उपायहरुको खोजी गरिनु आवश्यक छ । नारा र भाषणमा मात्र धार्मिक पर्यटन भनेर हुँदैन, त्यसका लागि नीति चाहिन्छ, दृष्टिकोण चाहिन्छ । त्यसो त वराहक्षेत्र मन्दिरमा दर्शनार्थीले चढाएको भेटी, गरेको सहयोगको पनि बेला–बेला चर्चा हुने गर्छ । त्यसको पनि हिसाब गरेर सार्वजनिक गर्ने व्यवस्था गरिनु आवश्यक छ । मन्दिरको आम्दानीलाई पनि व्यवस्थापनमा खर्च गर्न सकिन्छ । सबै पक्ष मिलेर व्यवस्थापन गर्ने र आवश्यक पूर्वाधारको विकास गर्ने हो भने वराहक्षेत्रलाई धार्मिक पर्यटनस्थलका रुपमा विकास गर्न सम्भव छ । त्यसका लागि स्थानीय सरकार र सरोकारवालाहरुको इच्छाशक्ति सबैभन्दा महŒवपूर्ण हुन्छ । त्यसको सुरूवात वराहक्षेत्र मेलालाई व्यवस्थित बनाएर गर्न सकिन्छ ।