भद्रपुर । झापाको भद्रपुरमा विहीबारबाट सुरु भएको ओम साई पाथीभरा हस्पिटल अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हल्दीबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अङ्क बाँडेका छन् ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रङ्गशालामा भएको खेलमा सुरुवाती अग्रता हल्दीबारीले लिए पनि खेल बराबरी हुन पुग्यो । २–२ गोलको बराबरी भएपछि हल्दीबारी र बिर्तामोडको एक–एक अङ्क भएको छ । खेलको २८ औँ मिनेटमा हल्दीबारीका हिरण राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ३१ औँ मिनेटमा बिर्तामोडका सुजनविक्रम लिम्बूले गोल फर्काएका थिए ।
त्यस्तै खेलको ६२ औँ मिनेटमा बिर्तामोडका रोमन भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ७६ औँ मिनेटमा हल्दीबारीका कप्तान विकास जवेगूले गोल फर्काएपछि खेल बराबरी भएको थियो । बिहीबारको खेलको प्लेयर अफ दि म्याच हल्दीबारीका हिरण राजवंशी भए । उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र सौजन्यकर्ता तीर्थराज ढकालले नगद दुई हजार र ट्रफी प्रदान गरे ।
फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गरेका थिए । कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेल र मुख्य प्रायोजक ओम साई पाथीभरा हस्पिटलका अध्यक्ष दीपक पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । १८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मङ्सिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दीबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।
प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । नकआउट चरणका खेलहरू क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मङ्सिर १९ र २० गते हुनेछन् । सेमिफाइनलका खेल मङ्सिर २२ गते हुनेछन् । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् ।
त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।