धनकुटा । धनकुटा नगरपालिका–१ सुकेपोखरीस्थित पाँडे पसलअगाडि एकै परिवारका तीन जना बिहीबार बिहान मृत फेला परेका छन् ।

पुख्र्यौली घर चैनपुर नगरपालिका–१ नुनढाकी भै हाल सोही ठाउँका स्थायीवासी ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा तामाङ गुरुङ र १० वर्षीय छोरा आयुष गुरुङ बिहीबार बिहान घरभित्रै मृत फेला परेका हुन् । टीकाराम झुण्डिएको अवस्थामा मृत भेटिएका छन् भने भीमा र छोरा आयुष पनि घरभित्रै मृत भेटिएको १ नम्बरका वडाध्यक्ष ओङ्गदा तामाङले जानकारी दिए । उनका अनुसार बुबा, आमा र छोरा मृत भेटिएका हुन् । तामाङले ब्लाष्टसँग भने, ‘के भएर यस्तो भयो, घटना देख्दा अचम्म लागेको छ ।’ वडाध्यक्ष तामाङले थपे, ‘मृतक टीकाराम गुरुङले अत्यधिक मदिरा सेवन गर्ने गरेको कारण श्रीमतीसँग आपसमा झगडा हुँदा मार्ने मर्नेसम्मको घटना घटेको हुन सक्छ ।’

उनीहरू करिब १२ वर्ष अघिदेखि ईश्वर श्रेष्ठको खाली घरमा बस्दै आएका थिए । लामो समयदेखि ज्याला मजदुरी गर्दै आएका टीकारामको परिवारमा चार जना थिए । ६ वर्षीया छोरी आशिका गुरुङबाहेक सबै मृत भेटिएका हुन् । टीकारामका छिमेकी मानिकलाल श्रेष्ठको घरमा बस्दै आएकी लक्ष्मी श्रेष्ठले भनिन्, ‘छोरी आशिकाले घरमा बुबा आमाबीच झगडा भएको भन्दै छिमेकीलाई सुनाएपछि घटना घटेको थाहा भएको हो ।’ छिमेकी श्रेष्ठले भनिन्, ‘छोरी आशिकालाई राति १ बज्न लाग्दा मेरो छोरी हेरी दिनू, हामी तल जाने काम प¥यो भन्दै मेरो कोठामा ल्याइदिए ।’ त्यसपछि के भयो आफूलाई थाहा नभएको श्रेष्ठले बताइन् । एक्कासि बिहीबार बिहान आशिकालाई घर पठाउँदा कोठामा बुबा आमाबीच झगडा भएको भन्दै सुनाएको र हेर्न जाँदा घटना भैसकेको श्रेष्ठले बताइन् ।

टीकारामका छोरा आयुष धनकुटा–३ स्थित लाँकुरे आधारभूत प्रा.वि.मा कक्षा ५ मा अध्ययनरत थिए भने छोरी आशिका भने कक्षा–१ मा अध्ययन गर्दै छिन् । टीकारामलाई बुधबार श्रीमती भीमाले जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य उपचारको लागि लगेको छिमेकी लक्ष्मी श्रेष्ठले बताइन् । अस्पतालमा डाक्टरले रक्सीको कारण किड्नी खराब भैसकेकाले नखान सुझाव दिएको खबर श्रीमती भीमाले सुनाएको लक्ष्मीले बताइन् । उनले बुधबार नै रक्सी छुटाउनको लागि टीकारामलाई धर्मगुरुकहाँ समेत लगेको बताइन् । राति करिब सवा १ बजेको समयमा घटना भएको अनुमान प्रहरीले गरेको छ ।

घटना घटेको थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाको टोली घटनास्थल पुगेर अनुसन्धान गरी आवश्यक सर्जमिन मुचुल्का उठाएको छ । प्रहरीले सर्जमिन मुचुल्का उठाएसँगै तीनवटै शवहरू पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । घटनाको प्रकृति हेर्दा झगडा गर्ने क्रममा टिकारामले श्रीमती र छोराको हत्या गरी आफू झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । झगडाको कारण एकिन नभए पनि मादक पदार्थ सेवन गर्ने भएकै कारण घट्ना घटेको हुन सक्ने प्रहरीको अनुमान छ ।

घट्नाको विषयमा भीमा तामाङ गुरुङ्गका माइती पक्षले के कसरी घट्ना घटेको हो भन्दै जिल्ला प्रहरी कार्यालयमा आएर चासो राखे पछि बिहीबार अवेर मात्र धनकुटा अस्पतालमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ । मृतक भीमाकी  माहिली दिदिको छोरा कुमार थिङका अनुसार बिहिबार साँझ पोष्टमार्टम भए पनि आज (शुक्रबार) मात्र सनाखत गरिने छ ।