वराहक्षेत्र एकादशी मेला आउने भक्तजनको सुविधाका लागि तोरीबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सहकार्यमा वराहक्षेत्र १ स्थित वडा कार्यालयले सार्वजनिक धारा जडान गरेको छ ।
वडाका विभिन्न ७ स्थानमा सार्वजनिक धारा जडान गरिएको वडा सदस्य कुमार भट्टराईले जानकारी दिए चतरा बसपार्क, डिल्ली चोक, औलिया मठ, खहरे चोक, पीपल डाँडा, भन्डारी टारलगायतका क्षेत्रमा सार्वजनिक धारा जडान गरिएको हो ।
यस्तै वडा कार्यालयले मेलालक्षित सडक बत्तीसमेत जडान गरेको छ । वडा सदस्य भट्टराईका अनुसार चतरा बसपार्कमा २ वटा, वराहक्षेत्र मार्गमा २ वटा, खहरे चोकमा १ वटा हेलोजिन बल्ब लगाइएको छ ।
'वराहक्षेत्र मेलामा आउने भक्तजनको सुविधालाई मध्येनजर गरेर खानेपानी र बिजुली बत्तीको व्यवस्थापन गरेका हौं,' वडासदस्य भट्टराईले भने ।
गत बिहीबारदेखि ५ दिने एकादशी कात्तिके मेला बराहक्षेत्रमा लाग्दैछ । बर्सेनि लाग्ने मेलामा नेपालसहित भारत र भुटानका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।
धर्तीको पहिलो धामका रुपमा रहेको बराहक्षेत्रमा शास्त्रीय मान्यताअनुसार विष्णु भगवानको अवतारका रुपमा वराह भगवानको पूजा अर्चना, भाकल गर्ने गरिएको छ । धर्तीमा विष्णु भगवानको पहिलो अवतार वराह भगवानका विभिन्न स्वरुप आदि वराह, श्वेत वराह, नील वराह, धुम्र वराहको पूजाअर्चना हुने गरेको छ ।
हिन्दू धर्मशास्त्रका अनुसार भगवान विष्णुले वराह (बँदेल) को रूप लिएर पृथ्वीलाई लातिले हानेर समुन्द्रमा डुबाउने 'हिरण्याक्ष' नाम गरेको राक्षसको वध गरेका थिए। जलमा डुबेको पृथ्वीलाई पूर्ववत उद्दार गरेका थिए ।