औलिया महामुनी पिठ चतरा गद्दीबाट निशान यात्रा वराहक्षेत्र पुगेपछि औपचारिक रुपमा वराहक्षेत्रमा एकादशी मेला सुरु हुन्छ ।
वि. सं. १८२१ मा चतरा गद्दीको स्थापना भएपछि बर्सेनि निशान यात्रा चतरा गद्दीबाट वराहक्षेत्र लाने गरिएको छ । जनश्रूति र धार्मिक मान्यताअनुसार वराह भगवानका उपासकका रुपमा रहेका महामुनि औलियाले निशान यात्राको सुरुवात गरेका हुन् ।
वराहक्षेत्र मन्दिरका पुजारी योगेश भण्डारी 'वराहक्षेत्र' ले प्राचीन कालदेखि चल्दै आएको पर्वले बर्सेनि निरन्तरता पाएको बताए । उनका अनुसार औलिया बाबा वराह भगवानका पहिलो मानव पुजारी रहेकाले औलिया बाबाको प्रतीकस्वरुप निशान झण्डा लाने गरिएको हो ।
आज सप्तकन्या सहितको निशान यात्रालाई स्थानीय सुरक्षा निकायले सलामी दिएपछि मठबाट चतरा गद्दी, चतरा बजार परिक्रमा गर्दै वराहक्षेत्र प्रस्थान गरेको कारोबारी महन्त विनायक पुरीले जानकारी दिए ।
विगत १३ वर्षदेखि निशान यात्रामा सहभागी धनेश्वर महादेव मन्दिर, काभ्रेका महन्त चतुर्भुज गिरी यो वर्ष पनि निशान यात्रामा सहभागी छन् ।
उनको यो तेह्रौं पदयात्रा हो । बर्सेनि उनी निशान बोकिरहेका छन् । 'रोगव्याधि लकडाउनमा समेत निशान यात्रा रोकिएन,' महन्त गिरीले भने । उनी झण्डै ७० वर्षको उमेरमा समेत खाली खुट्टा सात किलोमिटर यात्रामा निस्किएका छन् ।
निशान झण्डासहितको पदयात्रामा जुना अखाडाका जोगी-सन्यासी, चतरा गद्दीका साधु-सन्त, वराहक्षेत्रका जनप्रतिनिधि स्थानीयवासीसहितको पदयात्रा वराहक्षेत्र प्रस्थान गरेको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन निशान यात्रा वराहक्षेत्रका लागि निस्कने गरेको छ । पूर्णिमाका दिनसम्म वराहक्षेत्रमा राखेर सोही विधिअनुसार पुनः चतरा मठ ल्याउने गरिएको छ ।
गत बिहीबारदेखि ५ दिने एकादशी कात्तिके मेला बराहक्षेत्रमा लाग्दैछ । बर्सेनि लाग्ने मेलामा नेपालसहित भारत र भुटानका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।
धर्तीको पहिलो धामका रुपमा रहेको बराहक्षेत्रमा शास्त्रीय मान्यताअनुसार विष्णु भगवानको अवतारका रुपमा वराह भगवानको पूजा अर्चना, भाकल गर्ने गरिएको छ । धर्तीमा विष्णु भगवानको पहिलो अवतार वराह भगवानका विभिन्न स्वरुप आदि वराह, श्वेत वराह, नील वराह, धुम्र वराहको पूजाअर्चना हुने गरेको छ ।
हिन्दू धर्मशास्त्रका अनुसार भगवान विष्णुले वराह (बँदेल) को रूप लिएर पृथ्वीलाई लातिले हानेर समुन्द्रमा डुबाउने 'हिरण्याक्ष' नाम गरेको राक्षसको वध गरेका थिए। जलमा डुबेको पृथ्वीलाई पूर्ववत उद्दार गरेका थिए ।