‘विनोदले दुई दिनमा बहिनीलाई फोन गरेर मरे बाँचेको पनि सोधेका थिए’
विजयपुर । पतिबाट ज्यान मार्ने उद्योगबाट पीडित बनेकी रीता राईले उजुरी दिएको ६ महिना बितिसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेको छैन ।

२०८० साल जेठमा हथौडा प्रहार गरी मरणासन्न बनाई फरार भएका पति विनोद राई हालसम्म फरार छन् । उक्त प्रहारबाट उनी अहिले पनि पीडित छिन् । भोजपुर अरुण गाउँपालिकाकी २२ वर्षीया रीता माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरी अध्ययन गर्ने उद्देश्यले २०७५ सालमा काठमाडौँ गएकी थिइन् । उनका अनुसार अध्ययनका सिलसिलामा उदयपुर लिम्चुङ्बुङ गाउँपालिकाका–५ का २५ वर्षीय विनोदसँग भेट भएको थियो । दुवैले एक–अर्कालाई प्रेम गर्ने भएकाले २०७९ सालमा सहमतिमा विवाह गर्ने निष्कर्षमा पुगेको उनले पत्रकारसँग बताइन् । प्रेमविवाह भए पनि हालसम्म विवाह दर्ता नभएको उनको भनाइ छ । पतिले आफूलाई बुहारीका रूपमा चिनाउनका लागि उदयपुरस्थित घरमा पनि ल्याएको उनको भनाइ छ । तिहारको बेला परिवारलाई चिनाउन घर लगेको जनाउँदै उनकी दिदी मनिषा राईले बताइन् । घरपरिवारसँग चिना परिचय भएपछि पुनः ललितपुर महानगरपालिका–९ लामाटारस्थित डेरामा फर्किएको दिदीको भनाइ छ । तर, वर्षदिन नपुग्दै ज्वाइँ भनाउँदा विनोदले बहिनीलाई शङ्काका दृष्टिले हेर्न थालेको उनी बताउँछिन् । रीताकी दिदी मनिषाका अनुसार २०८० जेठ ३१ गते विनोदले झोलामा हथौडा बोकेर आई रीतालाई टाउकोमा प्रहार गरे । ज्यान मार्ने नियतले पटक–पटक टाउकोमा प्रहार गरे । मनिषा भन्छिन्, ‘सँगै भएका दुईजनालाई भित्र थुनेर बाहिर बहिनीलाई मरणासन्न हुने गरी टाउकोमा प्रहार गरेछ । हल्लाखल्ला भएपछि वाल चढेर भागेछ ।’

उक्त प्रहारबाट बेहोस भएकी उनलाई छरछिमेकी तथा प्रहरीको सहयोगमा ललितपुरको ग्वार्कोस्थित बी एन्ड सी अस्पताल लगेर बचाउन सफल भए पनि पूर्णरूपमा स्वस्थ नभएको उनी बताउँछिन् । टाउकोमा शल्यक्रिया गरेकाले सुस्त मनस्थिति भएको बताउँदै मनिषा भन्छिन्, ‘बहिनी बाँचेकी त छ तर, सुस्त मनस्थितिकी भएकी छे । काम गरेर खान सक्ने अवस्थामा छैन ।’ उक्त घटनापश्चात् नै २०८० जेठ ३२ गते नै प्रहरी वृत्त सातदोबाटोे ललितपुरमा विनोदविरुद्ध ज्यान मार्ने उद्योगमा रीताका दाजु युपेन राईले किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले ६ महिना बितिसक्दा पनि आरोपित विनोदलाई पक्राउ गर्न नसकेको भन्दै पीडितहरूले सञ्चारकर्मीसँग न्याय दिलाइदिन आग्रह गरे । पतिबाट पीडित रीता आरोपित पतिलाई पक्राउ नगर्दा थप पीडित बनेकी छन् । मनिषाले घटनापश्चात् प्रहरीले जानकारी पाए पनि पक्राउ नगरेको आरोप लगाइन् । उनका अनुसार घटना भएको सातदिनसम्म प्रहरी मोबाइल ट्रयाकिङमा उपत्यकाभित्रै देखिएको थियो । उनी भन्छिन्, ‘विनोदले सातदिनसम्म मोबाइल अन–अफ गरिरहेको प्रहरीले नै बताउँथे तर, पक्राउ गरेनन् ।’

आरोपित विनोदले मोबाइलबाट काकाकी छोरी प्रजा राईलाई फोन गरी पत्नी बाँचेको वा मरेको भनी सोधेकोसम्म आफूहरूलाई जानकारीमा आएको बताइन् । ‘दुई दिनमा फोन गरेर मरेकी छ कि छैन भनेर सोधेको पाइयो’ मनिषा भन्छिन्, ‘प्रहरीले लोकेसन दक्षिणकालीतिर देखिएको बतायो तर, पक्राउ गरेन ।’ बहिनीको न्यायका लागि मनिषासहित उनका दाजुले प्रहरी प्रशासनदेखि नेतासम्मलाई भेटेको बताउँछन् । माओवादी केन्द्रका नेता तथा पर्यटन मन्त्री सुदन किरातीलाई भेटेर भन्दा किरातीले न्याय दिलाउने भनेर आश्वासन देखाएको पनि ६ महिना बितेको उनीहरू बताउँछन् । मनिषा भन्छिन्, ‘सुदन किरातीकै पहलमा एआईजीसँग पनि भेट भयो । एआईजीले फायल अगाडि बढाइदिनू भने तर काम भएन ।’ आरोपित विनोद माओवादी निकट कार्यकर्ता रहेको उनको आरोप छ । उनले आरोपित विनोद गाउँघरतिरै रहेको दाबी गरिन् । ‘खनार मिलमा काम गरेको सुन्नमा आ’को छ । गाउँमा आउने जाने पनि गर्छ रे । प्रहरीले किन पक्राउ गर्दैन ?’–उनको प्रश्न छ ।

यता प्रहरी वृत्त सातदोबाटो ललितपुरका डिएसपी उमेशराज जोशीले प्रहरीले आरोपितलाई सक्दो खोजी गरिरहेको फोनमार्फत् जानकारी दिए । उनले ब्लाष्टकर्मीसँगको फोनसम्पर्कमा भने, ‘हामीले सिआइबी पनि परिचालन ग¥यौँ । इन्डियासम्म पनि खोज्यौँ ।’ उनका अनुसार आरोपित विनोदले घरमा ‘सुसाइड नोट’ लेखेर गएको दाबी गरे । उनले भने, ‘तँलाई पनि मार्छु र आफू पनि मार्छु भन्ने सुसाइड नोट लेखेको भेटियो ।’ उनले तीन–चार दिनसम्म ट्रयाकिङमा देखिएको बताउँदै भने, ‘मृत शरीर पनि भेटिन्छ कि भनेर खोज्यौँ ।’ उनले हाल अनुसन्धान अन्तिम चरणमा रहेको जानकारी दिए । उनले कतै देखे, शङ्का लागे जानकारी गराउन पनि अनुरोध गरेका छन् । आारेपितलाई जहाँ भेट्यो, त्यहीँबाट पक्राउ गरिने पनि उनको भनाइ छ । पीडिताको उपचारमा मात्रै १० लाख रुपैयाँभन्दा बढी खर्च भएको जनाइएको छ ।