लियो क्लब अफ धरान विजयपुरले ५ किलोमिटर अन्तरविद्यालय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।  

शनिबार बिहान ६ बजेबाट सुरु हुने दौड पुतलीलाइन, दुर्गाचोक, कल्याण चोक, पानी ट्याङ्की, छाताचोक, सिंहदेवी चोक, माछाभौडी र देशीलाइन हुँदै पुनः पुतलीलाइन पुगेर समापन हुने आयोजकले जनाएको छ ।

क्लबले गतवर्षदेखि लियो दौड प्रतियोगिता आयोजना गर्न थालेको हो । प्रतियोगितामा कक्षा ८ देखि १० सम्म र कक्षा ११ देखि १२ सम्मका छात्र र छात्रा गरी ४ विधा रहने क्लबकी अध्यक्ष मोनिका श्रेष्ठले बताइन् । प्रतियोगितामा सहभागी हुन २ सय ५० शुल्क लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि धरान, वराहक्षेत्र, कालाबञ्जार, चतरा, इटहरीलगायतका करिब १ हजार विद्यार्थीले फारम भरेका छन् । करिब ५ लाखको लागतमा दौड कार्यक्रम गर्ने लियो क्लब अफ धरान विजयपुरका कार्यक्रम संयोजक प्रतीक ओझाले बताए ।

सहभागीहरूलाई लियो क्लब अफ धरानले निःशुल्क टिसर्ट उपलब्ध गराउने साथै सहभागिता जनाउने विद्यार्थीले अनिवार्यरूपमा स्कुलको परिचय–पत्र लिएर आउनुपर्ने आयोजकले जनाएको छ । दौडमा पहिलो हुनेले ९ हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ५ हजार र मेडल प्राप्त गर्नेछन् ।  

बालबालिकाहरूको क्षमता वृद्धिसँगै स्वस्थ जीवनका लागि दौड अनिवार्य भएकाले ५ किलोमिटर दौड  आयोजना गरेको लायन्स क्लब अफ  धरानका अध्यक्ष धीरज गुरुङले बताए । कार्यक्रममा लायन्स क्लबका टङ्ककुमारी गुरुङ, किरण देवान, एकता श्रेष्ठ, सम्राट श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।