धरान । धनकुटा डाँडाबजारस्थित भानुस्मृति माध्यमिक विद्यालयलाई चौबीसे समाज हङ्कङले तीन रोपनी १० आनाभन्दा बढी जग्गा प्रदान गरेको छ ।
विद्यालयलाई समाजले २१ लाख रुपैयाँ बराबरको तीन रोपनी १० आना एक दाम जग्गा खरिद गरी प्रदान गरेको छ । यसैबीच समाजले सात लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छ । मा.वि. तहसम्म पढाइ भइरहेको स्कुलमा कक्षा ११ र १२ सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि समाजले जग्गा प्रदान गरेको जानकारी दिएको छ ।
समाजले आइतबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरी समाजले सङ्कलन गरेको रकममध्येबाट जग्गा र अक्षयकोष खडा गरिदिएको जनाएको छ । कार्यक्रमका सहभागी साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेत्द्र रुम्दाली राईले समाजले गरेको योगदानको चर्चा गरे । एक पालिका, एक स्नातक तहसम्म अध्यापन गराउने गरी कलेज खोल्ने योजनामा गाउँपालिका रहेको उनले बताए ।
प्रधानाध्यापक यज्ञबहादुर लिम्बूले समाजको सहयोगलाई स्कुलले जति नै धन्यवाद दिए पनि अपुग नै हुने बताए । व्यवस्थापन समिति अध्यक्ष पूर्ण खजुमलाई जग्गाको कागजात, अक्षयकोष संयुक्तरूपमा समाजका अध्यक्ष निरप्रसाद लिम्बूले हस्तान्तरण गरे । उनका अनुसार ७ लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रदान गरिनेछ ।
समाजलाई ४० जना दाताहरूले आर्थिक सहयोग गरेका थिए । स्कुलमा हाल प्राविधिक धारतर्फ इलेक्ट्रिकल इन्जिनियर, व्यवस्थापन र शिक्षा सङ्कायको पढाइ हुँदै आएको छ ।