विजयपुर । किरात धर्मका तेस्रो पुस्ताका धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको आइतबार ८० औँ जन्मजयन्ती मनाइएको छ ।
जन्मजयन्तीका साथै फाल्गुनन्द–लाफयङ बहुभाषिक पाठशालाको आठौँ वार्षिकोत्सव पनि सम्पन्न भएको छ । फाल्गुनन्द नोमाङ्गेन्ना सेवा सङ्घद्वारा आयोजित कार्यक्रम इलामको चुलाचुली गाउँपालिका–१ कमलस्थित फाल्गुनन्द बहुभाषिक पाठशालाको प्राङ्गणमा भएको थियो । चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले गुरु लाफयङको दर्शनलाई संरक्षण गर्नका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताए ।
बहुभाषिक पाठशालाका अध्यक्ष डम्बरकुमार तुम्बापोले गुरु लाफयङ र फाल्गुनन्द गुरुको स्मृतिमा स्थापित बहुभाषिक पाठशालालाई औपचारिक पाठशालाको रूपमा रूपान्तरण गर्नुपर्ने बताए । त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगको आवश्यकता रहेको उनले बताए । सेवासावा मणिकुमार इधिङ्गोले शान्तिपाठ वाचन गरे । महागुरु फाल्गुनन्द र गुरु लाफयङको सालिकमा गाउँपालिका अध्यक्ष केरुङ, सभाध्यक्ष तुम्बापो, गाउँपालिकाकी उपाध्यक्ष दिलु योङ्हाङ लावतीले माल्यार्पण गरे । किरात सत्यहाङ्मा सेवा सङ्घका अध्यक्ष एवम् साहित्यकार तथा मूर्तिकार ज्ञानोदय लावतीले गुरु लाफयङको योगदानको चर्चा गरे ।
मङ्सिर १० गते आइतबार गुरु लाफयङको जन्मजयन्तीमा पालिकाभरि सार्वजनिक बिदा दिइएको थियो । कार्यक्रममा बहुभाषिक पाठशालाका विद्यार्थीहरूले केलाङ, स्वागत नृत्य प्रस्तुत गरे । त्यस्तै सङ्गम केलाङ समूहबाट केलाङ प्रस्तुति भएको थियो । समाज सुधार समूह सङ्घ नेपालबाट सांस्कृतिक नृत्य धान नाच प्रस्तुत भएको थियो । एस.ई.ई. डान्सिङ स्टार–२०२२ र ०२३ का विजेताहरू क्रमशः नुमा लिम्बू, लिसारा थापा मगर र सेकेन्ड रनर अप लाजिव शाही ठकुरीले नृत्य प्रस्तुत गरे । एस.ई.ई.सिङ्गिङ आईडल २०२३ का फष्ट रनर अप मिङ्मा टि शेर्पाले गीत प्रस्तुत गरेको बहुभाषिक पाठशालाका महासचिव नाम्लिङ्हाङ चेम्जोङले जानकारी दिए ।
पाठशालाका सचिव पूर्ण चेम्जोङले चुलाचुली गाउँपालिकाभरिबाट २०७९ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको जानकारी दिए । उनका अनुसार रोहिना फियाक र किरात लिपि लिम्बू भाषामा गाउँपालिका उत्कृष्ट अङ्क ल्याउने छात्र नायल राई सम्मानित भएका हुन् । उनीहरूलाई नगदसहित सम्मान–पत्रले सम्मान गरिएको हो । रोहिनाले चुलाचुलीको बालज्योति मा.वि.बाट एस.ई.ई. दिएकी थिइन् भने नायल फल्गुनन्द–लाफयङ बहुभाषिक पाठशालाकी छात्रा हुन् ।