धरान- १५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधारण सभाले चालू आर्थिक वर्षमा १ करोड ६३ लाख ३२ हजार १ सय ५३ रुपैयाँ ६३ पैसाको निक्षेप सङ्कलन गरेको विवरण सार्वजनिक गरेको छ ।
गत वर्ष २ करोड ५१ लाख २१ हजार ९ सय ९० रुपैयाँ ३३ पैसा रहेकामा चालू वर्ष घट्दो निक्षेप देखिएको छ ।
घरजग्गा धितो कर्जा, हायर पर्चेज कर्जा, व्यवसायिक कर्जा, बचत धितो कर्जालगायतमा लगानी गरेको सहकारीले गत वर्ष ३ करोड ९२ हजार ४ सय ९७ रुपैयाँ रहेकामा चालु आर्थिक वर्षमा २ करोड ९ लाख ९९ हजार ९ सय १ रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत वर्ष ८० लाख २३ हजार ५ सय रुपैयाँ शेयर पुँजी रहेको संस्थाको चालु आर्थिक वर्षमा ८२ लाख २४ हजार ६ सय रुपैयाँ शेयर पुँजी देखिएको छ । संस्थाको जगेडा कोषमा भने ५ लाख ८५ हजार ७ सय ९१ रुपैयाँ ८ पैसा रहेको छ ।
शनिबार साधारण सभामा आव २०७९ साउन १ देखि २०८० असार मसान्तसम्मको आयव्यव विवरण र वासलातसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नवीन मेन्याङ्बोले संस्था मुनाफामै रहे पनि आर्थिक तरलताका कारण ऋण लगानी उठ्न समस्या भएको बताए ।
'सहकारीले ५ सेकेन्ड पनि बचत फिर्ता रोकेको छैन', अध्यक्ष मेन्याङ्बोले साधारण सभासमक्ष भने,'तरलतालाई सही ढङ्गले व्यवस्थापन गर्न सकेका कारण हामीमा समस्या छैन ।'
साधारण सभामा सहकारीका सन्चालक समिति सदस्य विनोद विश्वकर्माले 'गैर-बैङ्किङ सम्पत्ति व्यवस्थापन सम्बन्धि नीति तथा कार्यविधि / भाका नाघेको कर्जा असुली नीति २०८०' प्रस्तुत गरेका थिए ।
साधारण सभाको खुल्ला सत्रका प्रमुख अतिथि धरान १५ का वडाध्यक्ष तथा सहकारी अभियन्ता नरेशकुमार इवारमले सहकारी धरासायी भएका खबर निरन्तर आइरहे पनि विजयपुर सहकारीले आत्तिनुपर्ने अवस्था नआएको बताए । अहिले सहकारीहरुमा तलमाथि हुँदा अध्यक्ष जेलजानु पर्ने अवस्था रहेको उल्लेख गर्दै सन्चालक समिति र सेयर सदस्य सचेत हुनुपर्ने बताए । 'सेयर लाउने, ब्याज खाने उद्देश्य कसैको पनि हुनुहुदैन ।' इवारमले भने, 'हाम्रै धरानका अन्य सहकारीको अवस्था के भएको छ, विचार गर्नुपर्छ ।'
विजयपुर सहकारीमा हाल ६ सय ७२ सेयर सदस्य रहेका छन् । आजै सहकारीले नयाँ सन्चालक समिति चयन गर्ने छ ।