काकाकुल धरानलाई खानेपानी खुवाउन धरान नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले गरेको श्रम अभियानअन्तर्गत जडान गरिएका खानेपानीका स्रोत पनि सुख्खा मौसममा निष्प्रभावी भएका छन् ।
हालसम्म खानेपानीको समस्या नभोगेका धरान–१८ बुद्धचोकबासी सचिन राईले यसै साता दुई पटक गरेर चार हजार लिटर खानेपानी खरिद गरे । विगतमा सुख्खा मौसममा पनि खानेपानीको समस्या नभोगेका राईले भने, ‘अहिलेसम्म समस्या आएको थाहा थिएन । यसपल्ट पहिलो पटक अनुभव गरियो । दुई पटक गरी चार हजार लिटर पानी किनियो ।’
धरान–१८ बुद्धचोक नगरप्रमुख हर्कराज राईकै क्षेत्र हो । त्यस क्षेत्रमा केही व्यवसायीले पनि केही दिनअघिदेखि नै खानेपानी खरिद गरी काम चलाउँदै आएका छन् । २०७९ को निर्वाचनपश्चात् नगरप्रमुख भएलगत्तै हर्कराज राईले सतहगत स्रोतबाट पानीको जोहो गर्न श्रम अभियान नै चलाए ।
खानेपानी लक्षित उनको श्रम अभियान झण्डै एक वर्ष नै चल्यो । सर्दु, खर्दु, कोकाहा क्षेत्रको सतहबाट पानी ल्याए । त्यसका लागि देशविदेशबाट उनलाई आर्थिक, भौतिक सहयोग प्राप्त भयो । अभियान सञ्चालनको क्रममा विभिन्न दाता र धरान खानेपानी व्यवस्थापन बोर्डबाट नगदी र जिन्सी गरी सात करोड चार लाख १८ हजार ६ सय ३२ रुपैयाँ सङ्कलन भएको हिसाबकिताब सार्वजनिक नै गरियो । यो हिसाबकिताब कोकाहा अभियानको मात्रै हो ।
यतिका लगानी गरे पनि खानेपानीको दीर्घकालीन समस्या समाधान भएको छैन । निवर्तमान नगरप्रमुख तिलक राई भन्छन्, ‘धरानमा पानीको स्रोत बढेको छैन, लोकप्रियता गर्ने काम भए । पानी प्रत्येक वर्ष घट्दै गइरहेको छ । चुहावट पनि बढ्दै गएको छ । ग्लोबल वार्मिङले गर्दा भूमिगत स्रोतको पानी पनि प्रत्येक वर्ष घट्दै छ ।
पानी किनेर खानुपर्दा स्रोत नबढेको पुष्टि भएको छ ।’ खडेरी लाग्न सुरु नहुँदै धरानका ४, ५, ६, २० र १७ को पटनालीबाहेक अन्य वडामा ‘अल्टरनेटिभ’ गरी पानी खुवाउन थालिएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डले आफ्नो आधिकारिक फेसबुकमा शुक्रबार सूचना जारी गर्दै धरानभित्र पर्ने १७ नम्बरको आधासहित १६ वटा वडाहरूमा अल्टरनेटिभ गरेर पानी खुवाउने सूचना प्रकाशन गरेको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार अहिले विभिन्न सतहगत पानी घट्दै गएको र भूमिगत पानीको मात्रै भर पर्नु परेकाले ‘दिन बिराएर खानेपानी खुवाउने सूचना जारी’ गरिएको हो ।
उनका अनुसार अहिले सतहबाट करिब एक करोड लिटर दैनिक पानी आपूर्ति भइरहेको छ । यता भूमिगत स्रोतबाट डेढ करोड लिटर पानी दैनिक आपूर्ति हुँदै आइरहेको छ । ‘सतहबाट आउने पानी त दिनदिनै घट्छ’ उनले भने, ‘कोकाहाबाट दैनिक ७–८ लाख लिटर पानी झर्दैछ ।’
धरानका धेरै क्षेत्रमा खानेपानीको समस्या चुलिँदै गएको छ । ‘एक–दुई दिन बिराएर आउँदा पनि पहिला पानीको समस्या थिएन’ धरान–१८ निवासी सचिन राईले थपे, ‘पानी वितरण गर्ने तरिका नमिलाएर होला । तिहारपछि पानीको समस्या सुरु भएको छ । दुई दिन त ठप्पै भयो ।’
कोकाहा खानेपानी अभियानकै क्रममा अभियानकर्मीले गत असार २५ गते पत्रकार सम्मेलनको क्रममा नगरप्रमुख राईले करिब २५ हजारदेखि ३० हजार उपभोक्ताको तिर्खा मेट्न सकिने दाबी गरेका थिए । कोकाहा अभियानसम्म विभिन्न दाताहरूले चार करोड ८२ लाख ५२ हजार ३५ रुपैयाँ नगद र एक करोड २० लाख ३८ हजार सात सय चार रुपैयाँ बराबरको जिन्सी प्राप्त गरेका थिए ।
त्यस्तै धरान खानेपानी व्यवस्थापन बोर्डबाट ६६ लाख ५१ हजार दुई सय २० रुपैयाँ बराबरको पाइप प्रयोग गरेको विज्ञप्ति प्रकाशित गरिएको थियो । २०७९ फागुन २३ गतेदेखि सुरु गरी २०८० असार २१ गतेसम्मको आय–व्यय सार्वजनिक गरिएको हो । त्यसअघि सर्दु र खर्दुमा पनि उस्तै गरी नगद र जिन्सी सहयोग प्राप्त भएको थियो ।
धरानमा आजको दिनमा दैनिक ३ करोड लिटरभन्दा बढी खानेपानीको माग रहेको छ । बर्सेनि घर बन्ने दर बढ्दै गएकाले पानीको माग पनि चुलिँदै गएको हो । कोभिड–१९ पछि भने धरानमा बर्सेनि २ सय ५० को हाराहारीमा घर निर्माण भइरहेको धरान उपमहानगरपालिकाको योजना महाशाखाले जनाएको छ ।
धरानको घर सङ्ख्या, उपभोक्ताको अवस्था आदिलाई मध्यनजर गर्दै २०३१ सम्म खानेपानी खुवाउने योजनाअनुरूप एसियाली विकास बैङ्क (एडीबी) को ऋण अनुदानमा एकीकृत सहरी विकास आयोजना (आइयुडीपी) सञ्चालनमा रहेको थियो । उक्त आयोजना सम्पन्न गर्नका लागि तत्कालीन समयको २२ दशमलव ०७ मिलियन अमेरिकी डलर अर्थात् साविकको दररेटअनुसार दुई अर्ब १९ करोड ६ लाख ६८ हजार २ सय रुपैयाँ लागत रहेको थियो ।
आयोजनाको डिजाइनअनुसार सर्दु र खर्दु स्रोतबाट वर्षायाममा एक करोड ७४ लाख ९० हजार लिटर र सुख्खायाममा ४५ लाख लिटर पानी आपूर्ति हुने २०७७ साल चैत २९ गते गरिएको पत्रकार सम्मेलनमा उल्लेख गरिएको थियो । नगरप्रमुख हर्कराज राई आएपश्चात् सर्दु र खर्दुको छुट्टै सतहगत स्रोत र कोकाहाको स्रोत जोडिएको छ ।