धरानको खानेपानी समस्या निराकरण नभएको प्रमाणित गर्ने आधार धरान खानेपानी व्यवस्थापन बोर्डको सूचनाले नै प्रष्टिन्छ । धरानमा नयाँ नगरप्रमुख आएपछि खानेपानीका लागि श्रम अभियान भनी नामकरण गरी ठूलै तामझाम गरियो । त्यो तामझाम हेर्दा लाग्थ्यो, अब धरानमा सधैँका लागि पानीको समस्या निराकरण हुँदैछ । तर, आजको अवस्था आइपुग्दा ‘जुन जोगी आए पनि......’ भन्ने उक्ति सिद्ध भएको छ । धरानको खानेपानी समस्या खडेरी सुरू नहुँदै सुरू भएको छ ।
यसले के प्रमाणित गर्छ भने विगतमा जे जति लगानी गरिए ती बालुवामा पानी भएको रहेछ भन्ने । धरानको खानेपानीको समस्या नौलो विषय होइन । यो कुनै नगरप्रमुख आउने बित्तिकै ‘छु मन्तर.....’ का भरमा समस्या निराकरण गर्न सक्ने पनि होइन । यसमा दीर्घकालीन योजना र सोचको जरूरी छ ।
खानेपानी समस्यालाई दीर्घकालीन समाधान गर्नका लागि त्यहीअनुसारको सोच र योजना चाहिन्छ । हचुवाको भरमा गरिएका योजनाले पूरा हुने भए अहिलेसम्म धरान पानीले डुब्नु पर्ने थियो । तर, त्यसो हुन सकेन । पानीको स्रोत बढेको छैन । अवस्था ज्यूँका त्यूँ छ ।
धरानको खानेपानीमा नगरप्रमुखले हचुवाको भरमा जुन लगानी गरे र त्यहाँ मानव सागरको श्रम खर्च गरे । त्यो श्रमलाई दीर्घकालीन योजनाका लागि तयार गर्नुपथ्र्यो । त्यो सहयोग रकमले केही योजना बनाउनका लागि काम गथ्र्यो । तर, त्यो गर्नुको सट्टा ‘तातै खाऊ जली मरुँ’ भन्ने जस्ता उक्तिलाई पछ्याइयो ।
फलतः अहिले त्यसको शिकार सबै धराने जनता भइरहेका छन् । आखिर यतिका लगानी र श्रमदान ‘बालुवामा पानी’ नै हो त ? यस्ता प्रश्नको निर्मम समीक्षा नगर्ने हो भने अबका दिनमा धरानको भविष्य सुनिश्चित हुने देखिँदैन । जसरी २०४५ सालपछि धरानलाई मृतप्रायः सहरको ‘ट्याग’ लगाइन्थ्यो । त्यस्तै बन्ने बाटोमा तयार हुँदैछ । नगरप्रमुखको कार्यक्रम गराइ र तौरतरिकाले धरानको भविष्य थप अन्धकारमय देखिँदैछ । किनकि योजनाविहीन कार्यले हामीलाई कहीँ पनि पु¥याउँदैन । एकछिन हाई हाई होला तर, त्यो हाई हाईको दीर्घकालीन असर हुँदैन ।
त्यसले अन्ततः धरानलाई नै घाटा पु¥याउँछ । त्यसै पनि धरान बस्नका लागि मात्रै योग्य सहर हो । बस्नका लागि पनि पर्याप्त पानी भएन भने यहाँ कोही पनि बस्नेवाला छैन । पानी अनिवार्य आवश्यक वस्तु हो । यसलाई भरण गर्नका लागि नगरले दीर्घकालीन योजना बनाउन आवश्यक छ । नगरप्रमुख हुनुभन्दा अगाडि एसियाली विकास बैङ्कको ऋण अनुदानमा निर्मित धरानको खानेपानी गलत थियो र छ भनेर हिँडेका व्यक्ति नगरप्रमुख छन् । आज त्यो आयोजना ठीक कि बेठीक भनेर आत्मसमीक्षा गर्न तयार देखिँदैनन् । पानी अपरिहार्य वस्तुमा राजनीति गर्नेभन्दा पनि कसरी समाधान गर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ ।
निवर्तमान नगरप्रमुख तिलक राईको पदावधि सकिँदै गर्दा उनले गरेको पत्रकार सम्मेलनमा ४० प्रतिशत पानी चुहावट हुने गरेको तथ्य सार्वजनिक गरेका थिए । उक्त कुरालाई निर्वाचित भएर आएका नगरप्रमुखले कुनै ध्यान दिएनन् । पानीको स्रोत फालाफाल छ भन्दै सहयोग जुटाएर काम गर्नतर्फ लागे ।
आज के अवस्था छ यहाँ भनिरहन आवश्यक छैन । यसकारण त्यो बेलामा पूर्व नगरप्रमुखले औँल्याएको तथ्यलाई ध्यान दिएर काम गरेको भए मात्रै पनि एकतिहाइ समस्या समाधान हुन्थ्यो । तर, त्यसो गरिएको देखिएन । आफू हाई हाई हुने रणनीति मात्रै अख्तियार गर्दा आजको अवस्था आइपुगेको छ । अझै पनि केही ढिला भएको छैन । धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि थुप्रै विकल्पहरु खडा छन् ।
नेपाल सरकारले निर्माण गर्नका लागेको सुरूङ मार्गमार्फत् पनि तमोरको पानी लिफ्टिङ गरेर ल्याउन सकिने आधार छ । कोशीबाट पानी ल्याउन सकिएला तर, त्यो एकदमै महँगो हुनेछ । किनकि विश्वको दोस्रो बालुवा फाल्ने नदीको रुपमा कोशी नदीलाई लिइन्छ । यसका लागि थुप्रै ट्रिटमेन्ट प्लान्टहरुको आवश्यकता पर्न सक्छ । त्यति मात्रै नभई बालुवाका कारणले चाँडै मेसिनहरु बिग्रिने, भत्किने समस्याहरु हुन सक्छन् । यसका लागि तमोर नै एउटा उत्तम विकल्प हुन सक्छ । त्यसका लागि चाहिँ नगरप्रमुखले ध्यान दिने हो कि ?