नेपाल कम्युनिस्ट पार्टी एमाले धरान उपमहानगर कमिटीले रुकुम र जाजरकोटका भूकम्पपीडितका लागि १ लाख ६६ हजार बढी रकम हस्तान्तरण गरेको छ । 

भूकम्पपीडितका लागि १ लाख ६१ हजार १ सय २५ रुपैयाँको चेक र एमाले धरान १८ वडा कमिटीबाट प्राप्त नगद ५ हजार तीन सय रुपैयाँँसहित जम्मा १ लाख ६६ हजार ४ सय २५ रुपैयाँ हस्तान्तरण गरिएको हो । 

नेकपा एमाले धरान उपमहानगर कमिटीद्वारा आज मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा भूकम्पपीडितको राहतका लागि रकम हस्तान्तरण गरिएको हो । 

सोही कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य, सुनसरी जिल्ला इञ्चार्ज साथै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले नेकपा एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प अभियानबारे जानकारी गराएका थिए । 

उनले विभिन्न वहानामा एमालेको  सङ्कल्प अभियानलाई रोक्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी आएकाले अवरोधका कार्यक्रम नगर्न आग्रह गरे । 

‘पार्टीले घोषणा गरेको अभियानलाई कर्तव्य ठानेर रकम सङ्कलन गर्ने र हस्तान्तरण गर्ने काम गरेकामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट प्रमुख अतिथिका रुपमा आएका एमाले नेता राईले धन्यवाद दिए । ‘नेकपा एमाले जनताको दुःख, अप्ठ्यारो पीडामा जहाँसुकै, जुनैबेला पनि जोडिन्छ ।’ नेता राईले भने, ‘रुकुम र जाजरकोटमा भूकम्प जाँदा देशै भरिका नागरिक र नेकपा एमालेलाई दुखेको छ ।’ 

पीडित जनताले सरकार भए–नभएको महसुस नगरेको राईले बताए । यद्यपि नेकपा एमाले छ भन्ने त्यहाँका जनताले अनुभूति गरेको नेता राईले बताए ।

एमाले धरानले राहत संकलनका लागि ९ सदस्यीय राहत सङ्कलन समिति निर्माण गरेको संयोजक पारस काङमाङ राईले जानकारी दिए 

धरानका जनताबाट सङ्कलन गरिएको रकम थोरै भए पनि सहयोग गर्न सकौ भनेर राहत सङ्कलन गरिएको हो, संयोजक काङमाङले भने, ‘राहत केन्द्रीय कमिटीमा पठाइने छ ।’

नेकपा एमालेले ११ वटा समूह बनाएर अस्थायी बास स्थान निर्माण गरिरहेको अध्यक्ष हर्कजङ एभेङले बताए । उनले केन्द्रीय कमिटीले १ करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरेकाले त्यसमा धरानले  थप गरेको बताए । 

नागरिक स्तरबाट ७३ हजार ५ सय ४० रुपैयाँ नगद सङ्कलन गरेको कमिटीले अन्य रकम वडा कमिटीबाट सङ्कलन गरेको थियो । 

भूकम्पपीडितको राहतका लागि रकम हस्तान्तरण तथा नेकपा एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा 

एमाले केन्द्रीय सदस्य तथा धरान इञ्चार्ज जगदीश कुसियत, एमालेको विपद व्यवस्थापन प्रदेश समितिका प्रमुख तथा प्रतिनिधि सभाका पूर्वसदस्य जयकुमार राईलगायतको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र राईले गरेका थिए ।