विषय प्रवेशः

पछिल्लो समय मुलुक नराम्ररी बिग्रिएको छ । सिङ्गो अर्थराजनीति गन्हाएको छ । सामाजिक क्रियाकलापहरू कुहिएका छन् । विकृति र विसङ्गति बढिरहेको छ । आपराधिक मनोवृत्ति मौलाइरहेको छ । लपनछपन, ढाँटछल, षड्यन्त्र र चलखेलद्वारा नेपाली समाज निर्देशित भइरहेको छ । निहीत स्वार्थ, नाफा र आत्मकेन्द्रित व्यक्तिवादी मनोविज्ञान उत्कर्षमा पुगेको छ । समाज असाध्यै बढी स्वार्थी र आपराधिक बन्दैगइरहेको छ । ढोङ, आडम्वर, अल्छेपना, उपभोगवादी संस्कृतिले समाज निथु्रक्कै भिजेको छ । स्वाभिमान डग्मगाउँदै छ भने सिर्जनशीलता हराउँदै गएको छ । 

श्रम र उत्पादन संस्कृति छैन । यसरी श्रम संस्कृति संस्थागत नभएको समाजमा परिश्रम र मिहिनेतको सम्मान हुँदैन । कामलाई जीवनको अभिन्न संस्कृतिमा रूपान्तरण गरिँदैन । काम गर्नेभन्दा नगर्नेलाई मान सम्मान गर्ने ढोङ्गी  समाज छ । समाज काम वा सारभन्दा रूप वा हल्लाखल्लामा अडेको छ । यस्तो समाजमा योजनाभन्दा गफगाफ प्रधान हुन्छ । रणनैतिक र योजनाबद्धरूपमा प्रचार गरे सही भन्दा गलत हाबी हुन्छ । यस्तै वस्तुगत धरातलमा मुलुक बिग्रियो । समाज र समुदाय बिग्रियो । पार्टीहरू र  नेताहरू बिग्रिए । कार्यकर्ता बिग्रिए । आनीबानी बिग्रियो । सोच र चिन्तन बिग्रियो । जीवनशैली, कार्यशैली, खानपान र उठबस सबै बिग्रियो भन्ने जनमत धेरै छ । यस आलेखमा यसरी पार्टी, नेता र कार्यकर्ताहरू बिग्रिनुको पछाडि रहेका जड कारणहरूबारे चर्चा गरिएको छ ।

स्वार्थी प्रणालीः

हाम्रो अर्थराजनीतिक प्रणालीलाई निहीत तथा निजी स्वार्थले नेतृत्व गरिरहेको छ । पार्टी, नेता वा जो कोही बिग्रिनु पछाडिको सबैभन्दा ठूलो कारण भनेको निहीत स्वार्थमा आधारित अर्थराजनीतिक प्रणाली जिम्मेवार देखिन्छ । नेपाली अर्थराजनीतिको सारभूत चरित्र भनेको पार्टीगत तथा व्यक्तिगत स्वार्थ वा नाफाद्वारा निर्देशित रहेको छ । अर्थात् पद, पैसा, प्रतिष्ठा र पावरजस्ता नितान्त निजी स्वार्थमा रुमल्लिएको छ । निजी स्वार्थमा आधारित परिपाटीमा विभिन्न स्वार्थी समूहहरू एक आपसमा टक्कराउने गर्दछन् । त्यो भनेको एकले अर्कोलाई सम्मान नगर्नु हो । एकले अर्कोको अस्तित्वलाई अस्वीकार गर्नु हो ।  आफू अघि बढ्दा अरूलाई निषेध गर्नुपर्ने हुन्छ । यसमा विजय र पराजयको खेल  धेरै खेलिन्छ । तब खेल जित्ने नाममा राम्रा नराम्रा सबैखाले अभिनयहरू गर्नुपर्ने हुन्छ, जसले सिङ्गो समाज नराम्ररी बिगार्ने गर्दछ ।

यसका अतिरिक्त हाम्रो संसदीय चुनावी प्रक्रिया असाध्यै विकृत र विसङ्गतिपूर्ण बन्दै गइरहेको छ । बालिग मताधिकारको आधारमा गरिने आवधिक चुनावलाई लोकतन्त्रको आदर्श मान्ने गरिन्छ । तर, सिद्धान्ततः निर्वाचन सही भए पनि व्यवहारतः आज निर्वाचन धेरै विकृत र अश्लील भइरहेको छ । राजनीति चुनावी गुरुत्वकेन्द्र वरिपरि घुमिरहेको छ । यस्तो प्रणालीले सम्पूर्ण पार्टी, नेता तथा कार्यकर्ताहरूलाई पनि विकृत पारिरहेको छ । मत हाल्ने मतदाताहरूलाई समेत विकृत पारिरहेको छ । संसदीय लोकतन्त्रमा जसरी पनि चुनाव जित्नैपर्ने हुन्छ । राजनीतिको समग्र काम नै चुनाव जित्नुबाहेक अरू हुँदैन । बहुमत पु¥याएर सरकार बनाउनु पर्ने हुन्छ । यसरी जसरी पनि चुनाव जित्ने नाममा राम्रा नराम्रा सबैखाले सम्झौताहरू गर्न बाध्य पारिन्छ । सबैखाले मानिसहरूसँग रहर वा बाध्यतावश उठबस गर्नैपर्ने हुन्छ । यहाँसम्म कि चुनाव जित्ने शर्तमा कहिलेकाहीँ सेतोलाई कालो र कालोलाई सेतो भन्नुपर्ने अवस्था पनि आउने गर्दछ । यही मेसोमा आदर्शवान्, सिद्धान्तनिष्ठ र इमान्दार पार्टी वा नेताहरू पनि विस्तारै बिग्रिँदै र प्रदूषित हुँदैजान्छन् । 

स्वार्थी नेताः

मुलुक बिग्रिनुमा पार्टी वा नेताहरूको चरम् स्वार्थ जिम्मेवार देखिन्छ । निजी स्वार्थमा आधारित समाजमा राजनीति सेवाको रूपमा गरिँदैन । सिद्धान्तमा सेवा भने पनि व्यवहारतः निजी स्वार्थ प्राप्तिको साधन बन्ने गर्दछ राजनीति । यसको  व्यावहारिक कार्यान्वयन साझा स्वार्थमा मात्र सम्भव हुन्छ । यसकारण हाम्रो अर्थराजनीति निजी स्वार्थद्वारा निर्देशित रहेको कारण हरेक सामाजिक सत्ताहरू निजीत्वमा आधारित हुन्छन् । यस्तो अर्थराजनीतिक परिवेशमा सम्पूर्ण उठबसहरू आप्mनो स्वार्थ वरिपरि घुम्ने गर्दछन् । अर्थात् सम्पूर्ण अर्थराजनीति तथा सामाजिक क्रियाकलापहरू निजी स्वार्थमा आधारित हुने गर्दछ ।

तब उनीहरूको राजनीति केवल नाफाको स्वार्थमा गरिने व्यापार व्यवसायजस्तो हुन पुग्दछ । यो निजी पद प्राप्तिसँग जोडिन्छ । राजनीति गर्नु भनेको सामाजिक प्रतिष्ठा आर्जन गर्नुसँग गाँसिन्छ । पैसा कमाउने महŒवपूर्ण पेशा व्यवसाय बन्न पुग्दछ । राजनीति राजकीय शक्ति हत्याउने रणनैतिक साधन बन्दछ । योसँगै अन्य भौतिक तथा सामाजिक सुखभोग, मोजमस्ती र शक्तिको दुरुपयोगमा समेत अल्झिन्छ राजनीति । अर्थात् निजी स्वार्थको राजनीति केवल आफू र आफन्तजनहरूको स्वार्थमा सीमित हुनेगर्दछ । यस्तो निजी स्वार्थ हाबी भएको समाजमा देश र जनताको सेवा भन्ने कुरा चुनावको लागि मतदाताहरूलाई भावनात्मक ब्ल्याकमेलिङ गर्ने बहाना मात्र बन्दछ । यसकारण राष्ट्रिय राजनीति स्वार्थी नेताहरूको स्वार्थ प्राप्तिमा मात्र कैद गरिएको हुँदा यो दिनदिनै वदनाम भइरहेको छ । हाम्रो मुलुक र समाज बिग्रिरहेको छ । 

स्वार्थी मतदाताः

निजी स्वार्थद्वारा निर्देशित समाजमा कोही स्वार्थी र कोही निःस्वार्थी भन्ने हुँदैन । यसमा समग्र समाज वा सामाजिक सत्ता नै स्वार्थी हुन्छ । तब पार्टी र नेताहरू जस्तै मतदाताहरू पनि स्वार्थी हुन्छन् । मुलुक वा समग्र राजनीति बिग्रिनुमा पार्टी वा नेताहरूलाई मात्र दोष दिने जबरजस्त मनोविज्ञान बनेको छ । तर, यो नै सबै वास्तविकता भने होइन । किनभने मुलुक वा समाज बिग्रिनुमा पार्टी वा नेताहरूको भूमिका पहिलो हुनसक्छ । तर, स्वार्थी जनताको लम्पट वा उपभोगवादी चाहना र आकाङ्क्षाहरू पनि कम जिम्मेवार छैनन् । मतदाताहरूले पनि आप्mनो स्वार्थभन्दा मुलुकको साझा स्वार्थ दिलदिमागमा बोकेर सचेत भई आत्मनिर्णय गर्ने हो भने पार्टी वा नेता एक्लैले मात्र यति धेरै बर्बाद गर्ने थिएनन् । यहाँ नेता र मतदाताहरूको दोहोरो स्वार्थ हाबी हुनाले मुलुक झनै बर्बादीको दिशातर्पm गइरहेको प्रष्ट देखिन्छ ।

एउटा मतदातासँग अनगिन्ती स्वार्थहरू सँगालिएको हुन्छ । उसले ती स्वार्थहरू नेतासमक्ष शर्तसहित पेश गर्दछ । मतदाताहरूले मन्त्री, सांसद् वा नेताहरूसँग राख्ने थुप्रै स्वार्थी मागहरू छन् । उदाहरणको लागि प्रथमतः मतदाताले आप्mनो घरअगाडि वा नजिकै सडक, ढल, पुल, खानेपानी, अस्पताल, विद्यालय, सामुदायिक भवन, बजार, बगैँचा निर्माणको माग राख्दछ । स्रोतसाधनको सीमितताबारे उनीहरूलाई मतलव हुँदैन । जसरी पनि उनीहरूको माग पूरा हुनै पर्दछ । अन्यथा चुनावमा मत नहाल्ने खतरानक शर्त अघि सारिन्छ । यद्यपि यी त साधारण र औसत अपेक्षाहरू हुन् । यस अतिरिक्त असाधारण मागहरू पनि राख्छन् । जस्तैः भन्सारबाट तस्करीको सामान छुटाउन प्रहरीलाई भनसुन गरिदिनु पर्ने, चोरी र बलात्कारी मुद्दामा हिरासतमा पुगेको आफन्तजनलाई विना प्रक्रिया तुरुन्तै रिहा गरिदिनु पर्ने, आवश्यक प्रक्रिया नपु¥याई भनसुनकै भरमा जागिर लगाइदिनुपर्ने, लाइनमा नबसी कुपन काटिदिनुपर्ने, करलगायतका सबै नागरिक दायित्वहरूमा भारी छुट गरिदिनु पर्ने, जाँड खाएर झगडा गरेको निहँु वा कुटपिट काण्डमा प्रहरी हिरासतमा पुगेकाहरूलाई रातारात छाडिदिनुपर्ने, परीक्षा बिगारेका विद्यार्थीलाई पास गराइदिनु पर्ने, तोकिएको समयावधिमा प्रक्रिया अघि बढाउन नसक्ने अनि बेला बितेपछि सारा भनसुन लगाएर स्वार्थसिद्ध गरिदिनुपर्ने आदि । 

वस्तुतः सामाजिक तथा राजकीय मूल्यमान्यता र नियम कानूनहरूलाई पनि व्यक्तिगत स्वार्थमा यसरी कैद गरिँदै जाँदा हाम्रो समाज कस्तो बन्छ, सहजै अनुमान गर्न सकिन्छ । नेपालमा दुःख नगरी सुख खोज्ने बनीबनाउ भाष्य बनिरहेको छ । नेताले पनि मतदाताले भनेपछि जस्तोसुकै माग पूरा गर्नैपर्ने हुन्छ । अन्यथा चुनावमा हावा खाइन्छ । त्यसैले मुलुक बिग्रिनुमा नेता मात्र होइन, मतदाताहरूको निहीत र निकृष्ट स्वार्थ पनि उत्तिकै जिम्मेवार देखिन्छ । 

निष्कर्षः

तसर्थ, मुलुक बिग्रिनुमा प्रथमतः हाम्रो राष्ट्रिय अर्थराजनीतिक प्रणाली जिम्मेवार रहेको छ । संसदीय प्रणाली, खर्चिलो चुनाव, विकृत र विसङ्गतिपूर्ण जीवन व्यवहार अनि निजी र निकृष्ट निहीत स्वार्थको कारण मुलुक बर्बाद हुँदैछ । प्रणालीमा रहेको खोटसँगै तमाम नेताहरूमा रहेको स्वार्थी मनोविज्ञान पनि समाज बिग्रिनुमा कम जिम्मेवार छैन । अर्थात् हरेक नेताहरू पद, पैसा, प्रतिष्ठा र पावर प्राप्त गर्ने निजी स्वार्थकै कारण सबैखाले स्थापित मूल्यमान्यताहरू पनि विस्थापित हुँदै गइरहेका छन् । राजनीति सेवा नभएर नाफाको लागि गरिएको थोक व्यापार–व्यवसायजस्तो बन्न पुगेको छ । यसले हाम्रो समाज झनै विकृत बन्दैगइरहेको छ । यसका अतिरिक्त मतदाताहरूको अन्तरनिहीत व्यक्तिगत स्वार्थले पनि मुलुक वर्वादीको दिशातर्पm गइरहेको छ । यहाँसम्म कि कतिपय मतदाताहरूको माग संविधान, ऐन, कानून र सामाजिक मूल्यमान्यताविपरीत रहेको छ । बलात्कारीलाई प्रहरीले गिरप्mतार गर्छ, उसका आफन्त वा मतदाता रातारात छाड्न नेताको घर धाउन थाल्छ । यस्तै मागहरू पूरा गर्दै जाँदा समाज बिग्रिन्छ कि सप्रिन्छ ? विषय विचारणीय छ ।

त्यसैले राजनीति गर्नेले चुनावमा जानैपर्ने हुन्छ । चुनावमा जाँदा मतदाता रिझाउनु पर्दछ । मतदाता रिझाउन वा फकाउन उनीहरूको मिल्दै नमिल्ने शर्तहरू पनि पूरा गर्नु पर्दछ । अर्थात् गलत काम पनि शक्ति दुरुपयोग गरेर भए पनि फत्ते गर्नुपर्दछ । शक्तिको दुरुपयोग भनेकै राजनैतिक संस्कार र मूल्य बिग्रिनु हो । संस्कार बिग्रिनु भनेको मुलुक वा समाज बिग्रिनु हो । यसकारण निजी निहीत स्वार्थमा कसैलाई पनि गलत काम गर्न बाध्य नपारौं । तब मात्रै मुलुक र समाज सप्रिने सम्भावना रहन्छ ।