स्थानीय सरकारमा नगर उपप्रमुखहरु भूमिकाविहीन भएको आफूलाई महसुस गर्दै आएका छन् । कार्यकारी अधिकार नगर प्रमुखले मात्र प्राप्त गर्ने गुनासो उपप्रमुखको रहने गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार न्यायिक समितिका कार्यक्रम, सहकारी र नगर प्रमुखको उपलब्धता नहुँदा प्रमुख अतिथि आमन्त्रित हुनुबाहेक अन्य देखिने काम गर्न सकेकी थिइनन् । नगरमा आफ्ना नीतिगत योजना केके हुन् भन्ने समेत सार्वजनिक गर्न नसकेकी उपप्रमुख सुनुवारले आज मंगलबारदेखि भने उल्लेखीय काम सुरु गरेकी छन् ।  

उपप्रमुख सुनुवारले नगरभित्र रहेका ५७ आधारभूत विद्यालयहरुका लागि उपचारात्मक कक्षा र अनुगमन थालेकी छन् । उनको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल, शिक्षा अधिकृत उत्तम भारती, शिक्षा विकास समिति सदस्य ज्ञानबहादुर पाण्डेसम्मिलित टोली रहेको छ । 

‘विद्यार्थीको शिक्षा र गुणस्तरीय सिकाइको प्रभावकारी बढाउन उपचारात्मक कक्षा सुरु गर्ने नगरपालिकाको योजना हो,’ उपप्रमुख सुनुवारले भनिन्, ‘नगरको सबै ५७ वटै आधारभुत विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थी लक्षित कार्यक्रम सुरु गरिएको हो ।’

मंगलबार टोलीले वराहक्षेत्र– १ का ३ वटा आधारभूत विद्यालयमा अनुगमन गरेको छ । औलिया मावि, राधाकृष्ण संस्कृत गुरुकुलम माध्यमिक विद्यालय  र बगुवास्थित भगवती आधारभूत विद्यालयका आधारभूत तहमा अनुगमन गरिएको हो । 

Nanda Kumari Sunuwar Barahakshetra Municipality (1)

अनुगमनमा विजवद्यार्थीको शैक्षिक गतिविधि, शिक्षण विधि र सिकाइ क्षमताको निरीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्लले जानकारी दिए । 

उनका अनुसार अतिरिक्त कक्षा सञ्चालन गर्न नगरपालिकाले चालू आर्थिक वर्षको लागि ५७ वटै  विद्यालयलाई ५० हजार रुपैयाँका दरले बजेट उपलब्ध गराउने छ । चालु आर्थिक वर्षमा नगरपालिकाले विद्यालयको भौतिक पक्षभन्दा पनि शैक्षिक गतिविधि र क्रियाकलापलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको प्रमुख प्रशासकीय अधिकृत मल्लले जानकारी दिए । 

अतिरिक्त कक्षासँगै नगरले विद्यालयमा आइतबारबाट छड्के अनुगमन समेत सुरु गरेको छ ।