धरानमा पछिल्लो समय सामुदायिक कुकुरका कारण दुर्घटनामा परेको र कतिपयलाई टोकेका घटना सार्वजनिक भइरहेका छन् । सडकमा रहेका कुकुरले लखेट्ने, झम्टिनेजस्ता कारणले मोटरसाइकलबाट लडेर घाइते भएका धेरैजना भेटिन्छन् धरानमा । कतिपयलाई कुकुरले आक्रमण गरेर घाइते भएका घटना पनि छन् ।
धरानको सडकमा यात्रा गर्ने यात्रुहरुमाथि कुकरले आक्रमण गरेका घटना भइरहँदा स्थानीय सरकार मौन देखिन्छ । झट्ट हेर्दा र सुन्दा कुकुरले झम्टिनु र टोक्नु सामान्य घटनाजस्तो लागे पनि यसबाट कुनै पनि बेला रेबिजजस्तो डरलाग्दो रोग फैलिन सक्ने खतरालाई कसैले नजर अन्दाज गर्नु हुँदैन । विगतमा कुकुरको टोकाइबाट जनावरहरु मरेको घटना भएकाले पनि धरानमा सतर्कता अपनाउनु जरूरी रहेको विज्ञहरुले बताइरहेका छन् ।
धरानको वरिपरि वन जङ्गलले ढाकिएको कारण पनि रेबिजजस्ता खतरनाक रोगको जोखिम रहेको विज्ञहरुको भनाइ छ । वनमा हुने स्याल, फ्याउरोजस्ता जङ्गली जनावरबाट कुकुरमा रेबिज सर्ने र त्यसरी रेबिज सरेका कुकुरले टोकेमा मान्छे र जनावरमा रेबिज सर्ने हुन्छ । वरिपरि जङ्गलमा जनावर बस्ने भएकाले पनि धरानजस्ता स्थानमा रेबिजको खतरा बढी देखिन्छ । त्यसैले सडकमा छाडा सामुदायिक कुकुरहरुलाई बेलैमा नियन्त्रण गर्नुपर्ने अवस्था छ । पशु अधिकारका हिसाबले कुकुरलाई मार्न पाइँदैन ।
सडकमा रहेका कुकुरलाई नियन्त्रण गर्नका लागि धरानमा बर्सेनि कुकुरको बन्ध्याकरण गर्ने गरिएको छ । तर, वर्षमा चार–पाँच सय कुकुरको मात्र बन्ध्याकरण गरिन्छ । धरान उपमहानगरपालिकाको पशुपंछी विकास शाखाको तथ्याङ्कअनुसार धरानको सडकमा करिब चार हजारको सङ्ख्यामा कुकुरहरु रहेका छन् । वार्षिक चार–पाँच सय कुकुरको बन्धाकरण हुने गरे पनि त्यति नै सङ्ख्यामा नयाँ कुकुर वार्षिक रुपमा थपिने गरेका छन् । यसले मात्र कुकुर नियन्त्रण हुन सक्ने देखिँदैन । त्यसका लागि स्थानीय सरकारले नीति निर्माण गर्नु आवश्यक छ ।
त्यसो त धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कुकुर नियन्त्रणबारे बेला–बेला कुरा नउठेको होइन । यद्यपि हालसम्म यससम्बन्धी कानून बन्न सकेको छैन । कार्यपालिकाबाट कानून बनाएर बेलैमा कुकुर नियन्त्रण गर्न लाग्नु पर्छ । अन्यथा कुनै पनि बेला रेबिजजस्तो खतरनाक सङ्क्रमण फैलिएर ठूलो क्षति हुन सक्ने विज्ञहरुले बताइरहेकाले समुदाय पनि यस विषयमा सचेत भएर अघि बढ्नु उचित हुन्छ । बेलैमा नसोच्ने हो भने कुनै पनि बेला खतरा निम्तिन सक्ने भएकाले सबै सचेत बनौं ।