विराटनगर । जिल्ला कारागार मोरङमा पुर्पक्षको लागि थुनामा रहेका एक जना बन्दीको रहस्यमय मृत्यु भएको घटनाको सत्य–तथ्य पत्तालगाउन छानबिन समिति गठन गर्न मृतकका परिवारले माग राखेका छन् ।

जबरजस्ती करणी मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका मोरङको लेटाङ नगरपालिका–४ घर भएका ४० वर्षीय केशर बहादुर भुजेलको बिहीबार ५ः२२ बजे उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भुजेलको मृत्युको घटनालाई उनका परिवाले रहस्यमय मृत्यु भन्दै छानबिन समिति गठन गरी सत्य–तथ्य सार्वजनिक गर्न माग राखेका छन् ।

पेट दुख्ने र वान्ता हुन थालेपछि भुजेललाई कारागार प्रशासनले बिहीबार दिउँसो १२ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए । कोशीको आइसियु खाली नभएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई अस्पतालले भनेको थियो । उपचारको क्रममा भुजेलको कोशीमा मृत्यु भयो । भुजेलको मृत्यु हुनुभन्दा एक घण्टाअगाडि ४ बजे मृतकको भान्जी एलिना भुजेललाई खबर गएको थियो । कोशीमा आइपुग्दा मामालाई शवगृहमा राखिएको उनले बताइन् ।

‘मामालाई भेट्न मङ्सिर १६ गते कारागारमा आएको थिएँ । त्यसदिन मामाको जन्मदिन पनि थियो । त्यसैले म कारागार आएको थिएँ । त्यसबेला मामा राम्रोसँग बोल्नुभएको थियो । घरबाट बनाएर ल्याएको मासु खानुभयो । घरायसी विषयमा पनि कुराकानी भयो । त्यसयता पनि फोनमा कुराकानी भइरहेको थियो । एक्कासि मामा बितेको खबर आउँदा मलाई पत्याउन पनि मुस्किल भयो’ उनले भनिन्, ‘मामा बिरामी भएर हस्पिटल ल्याएको खबर भएन । एक्कासि मृत्यु भएको खबर मात्र आयो ।’

मृतकका परिवारले शव गृहमा राखिएको शव पनि हेर्न नदिएकोले भुजेलको मृत्यु शङ्कास्पद भएको गुनासो गरेका छन् । ‘श्रीमान्को मृत्यु भएको खबर सुनेपछि हस्पिटल आएका थियौँ । हस्पिटलमा पोष्टमार्टमको लागि शव राखिएको रहेछ । हामीलाई शव हेर्न पनि दिइएन । कतै श्रीमान्लाई कारागारभित्रै कुटपिट गरेको कारणले पो मृत्यु भएको हो कि शङ्का लागेको छ’ श्रीमती रामकुमारी भुजेलले भनिन्, ‘शव हेर्न पनि नदिनु ? ढिलो गरी परिवारलाई खबर गरिनु, केही दिनअगाडि मजासँग कुराकानी भएको श्रीमान्को एक्कासि कसरी मृत्यु भयो ? घटना रहस्यमय छ । घटनाको छानबिन गरिनुपर्दछ ।’ उनले भनिन्, ‘न्यायिक छानबिन समिति गठन गरेर घटनाको सत्य–तथ्य बाहिर ल्याउनु पर्दछ ।’ जिल्ला प्रशासन कार्यालय मोरङले छानबिन समिति गठन गरेपछि मात्र पोष्टमार्टम गरिनुपर्ने मृतकका परिवारको माग रहेको छ ।

भुजेल कात्तिक ६ गते जबरजस्ती करणीमा पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दायर गरेपछि मोरङ अदालतले मगरलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । अदालतको आदेशपछि भुजेल कात्तिक अन्तिम सातादेखि मोरङ कारागारमा रहेका थिए ।

मोरङ कारागारका जेलर कृष्णहरि न्यौपानेले भुजेलको उपचारको क्रममा मृत्यु भएको बताए । ‘साह्रै पेट दुख्ने र वान्ता गरेपछि हामीले तत्काल हस्पिटल लिएर गएका थियौँ । उपचारको क्रममा उनको मृत्यु भएको हो’ उनले भने, ‘एक पटक मृतकको भान्जीलाई शव देखाएको पनि हो । परिवारका सदस्य आए प्रहरीको रोहवरमा शव देखाउन सकिन्छ । त्यसको लागि मोरङ प्रहरीसँग समन्वय गरिनेछ ।’ कारागारबाट कुनै पनि लापरबाही नभएको उनको भनाइ छ ।

मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेका छन् । कारागारभित्र नाइकेको निर्देशनमा भाइ नाइकेहरूले कुटपिट गर्ने गरेको गुनासो रहेको छ । कैद भुक्तान गरी निस्किएकाहरूले दिएको जानकारीअनुसार मोरङ कारागारामा १० दिनभित्र कारागारभित्रको खानपिन गरेको हिसाब (बण्डा) नमिलाए कैदीबन्दीहरूलाई चौकीदार र उनको निर्देशनमा नाइके, भाइ नाइकेहरूले यातना दिने गरेका छन् । यतना दिएको कारणले कतिपयको उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु हुने गरेको पनि छ ।

मोरङ कारागारमा शुक्रबारसम्म  ९ सय ४७ पुरुष र ९५ महिला गरी १ हजार ४२ जना कैदीबन्दी रहेका छन् ।