कोशी प्रदेशमा सडक दुर्घटना न्यूनीकरण सचेतना तीन महिने अभियान घोषणा गरिएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशीले आयोजना गरेको सडक सुरक्षा,चासो र हाम्रो भूमिका विषयक कार्यक्रममा अभियान घोषणा गरिएको हो ।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोला प्रमुख अतिथि रहेको कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले सडक दुर्घटना न्यूनिकरण सचेतना तीन महिने अभियानको प्रस्ताव गरेका हुन् ।
प्रस्तावमा कोशी प्रदेशका प्रहरी प्रमुख केदार नाथ बास्तोला,यातायात व्यवसायी महासंघ कोशीका संयोजक सरोज श्रेष्ठ र नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष कमल राईले सर्मथन जनाएका थिए ।
तीन महिने अभियानको कार्ययोजना तर्जुमा गर्न मंसिर २९ गते सरोकारवाला पक्षहरुबीच छलफल गरिने भएको छ । प्रहरी,यातायात मजदुर र व्यवसायी तीन पक्ष मिलेर सडक दुर्घटना न्यूनिकरणमा चेतनामूलक अभियान चलाइने भएको हो ।
कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले सडक दुर्घटना न्यूनीकरणमा व्यक्ति, संगठन र सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।उनले इमान्दारिता पूर्वक सहकार्य गरेर अघि बढे सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । हरेक क्षेत्रमा सुधार आफैंबाट गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संगठनका अध्यक्ष भीमराई ज्वालाले विश्वमा प्रत्येक २७ सेकेण्डमा एकजनाको सडक दुर्घटना बाट ज्यान जाने गरेको तथ्याङ्क सुनाए । उनका अनुसार नेपालमा दिनमै ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । एक वर्षमा २ हजार ८सय ८० जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कार्यपत्रमा सडक दुर्घटनाको कारण र समाधानका उपाय प्रस्तुत गरेका थिए ।