मध्य पहाडमा रित्तिंदै गएका बस्ती रुँघेर बसेकाहरुलाई एउटै चिन्ता छ, हामीले पनि गाउँ छोड्नु पर्ने हो कि भन्ने । गाउँमा खेती हुन छाडेपछि घुर्यानमै झाडी बढेको छ । बारी बाँझिएका छन् । अघिल्लो दशकसम्म घन्चमन्च हुने सडकहरु समेत अचेल निस्ताएका छन् । पहाडका सहर भनिएकै ठाउँहरुमा पनि साँझमै बत्ती निभ्ने गर्छ । बाटोमा नौलो मान्छे देख्दा पनि चासो बढ्छ ।
राज्यको तर्फबाट मध्य पहाडमा शिक्षा, स्वास्थ्य तथा सडकका क्षेत्रमा अर्बौ रुपैयाँ खर्चिएपछि मानव बस्ती टिक्न सकेको छैन । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भई रहेको मध्य पहाडी राजमार्ग पूरा भएपछि गुमेको गुल्जार फर्किएला कि भन्ने आशामा छन्, मध्य पहाडका बासिन्दा ।
घण्टौं लगाएर पार गर्नु पर्ने दुरी सडकले घटाएको छ । गाउँगाउँमा आर्थिक चहल पहल बढेको छ । कतिपय विदेश गएकाहरु पनि फर्किएर गाउँमै उद्यम गर्न थालेका छन् । सिन्धुपाल्चोकको मुडेमा होटल व्यवसाय गर्ने ठूले लामाको व्यापार घटेको व्यापार पक्कै फर्किएला भन्ने आशामा छन् । उनले भने–‘सबैले गाउँ छोडेर पनि भएन, पहिले त व्यापार भएकै हो ।
अब बाटो राम्रो भए पछि ती दिन फेरि आउलान् नि ।’ काठमाडौंबाट रामेछापसम्म जाने यात्रुहरु दोलालघाट, मुडे, चरीकोट हुँदै जाने गरेका थिए । तर बिपी राजमार्ग शुरु भएपछि ती भेगका यात्रुको बाटो छोटियो । तर सिन्धुपाल्चोक, दोलखालगायतका बजारमा कारोबार घट्नु यति मात्रै होइन, कारण । गाउँगाउँका पर्यटकीय, धार्मिक स्थानहरुमा पुग्ने बाटो चुस्त बनाउने र मध्य पहाडी लोकमार्ग पूर्णरुपमा चल्ने हो भने व्यवसायका लागि शहर पस्नै नपर्नेमा यस भेगका बासिन्दा आशावादी छन् ।
उता डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । सडक सञ्जालले यहाँका कुनै पनि गाउँ जोडिएका थिएनन् । तर अहिले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसँगै थुप्रै ग्रामीण सडकले जोडिएको छ यो ठाउँ ।
अलपत्र नयाँ सहरको योजना
मध्य पहाडबाट हुने बसाइसराइ रोक्न सरकारले मध्यपहाडी लोकमार्ग निर्माणसँगै त्यसैसँग जोडिएका १० ठाउँमा नयाँ सहर बनाउने घोषणा गरेको थियो । ती प्रत्येक सहरमा कम्तिमा १-१ लाख जनसङ्ख्या टिकाउन सके पहाडी जिल्लामा बढेको मानवविहीनताको खतरा टर्ने सरकारको अनुमान थियो । तर अनुमानअनुसार कार्यसम्पादन नहुँदा नयाँ सहरको हालत नयाँ बन्न सकेको छैन ।
मध्य पहाडी लोकमार्गमा पर्ने पूर्वको पाँचथरस्थित फिदिमसहित तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेणी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रूकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन नयाँ सहर बनाउने सूचीमा थिए । पछि थपिए, सुर्खेतको भेरीगङ्गा र प्युठानको भिंग्री । तर सहरको सङ्ख्या थपिए पनि लक्ष्य अनुसार प्रगति हुन नसक्दा मध्य पहाडको आर्थिक सामाजिक जीवनले गति पाउन सकेको छैन ।
सडकसँगै आर्थिक विकासका आधार, स्वास्थ्य–शिक्षा जस्ता आधारभूत आवश्यकताको पूर्ती हुने अवस्था समेत पुर्याउन सकेमात्र त्यहाँ पुगेको सडकको पनि उपादेयता रहन्छ । नत्र वर्षौंको प्रतिक्षा र अर्बौंको लगानी लागेका सडक पनि निस्ताउने अवस्था रहन्छ ।
आर्थिक वर्ष २०६९-०७० देखि राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथमिकताका साथ काम भई रहेको यो मध्यपहाडीको प्रस्थान विन्दु चिवाभञ्ज्याङ्, पाँचथरको याङवारक गाउँपालिका वडा १ मा पर्दछ । यसै गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या यो सडक निर्माणले गति लिएसँगै मध्य पहाडका बासिन्दाहरु विकासप्रति आशावादी बन्दै गएको बताउँछन् ।
उनका अनुसार सडक किनारामा बढेका चोक बजार, सवारी साधनको चाप लगायतका कारण कृषि उपजको बजारीकरणमा सहजता भएको छ भने गाउँमै स्वरोजगारीका आधारहरु देखिन थालेका छन् ।
एमालेको सङ्कल्प यात्रा
यही मध्य पहाडलाई लक्षित गरी अहिले नेकपा एमालेले पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्रा चलाइरहेको छ । प्रतिपक्षमा हुनु र संसद पनि नचल्नुको समयलाई उपयोग गर्दै एमालेले यो यात्रा चलाएको हो ।
झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राका लागि उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमालसहितको टोली एक साताको स्थलगत निरीक्षण सकेर काठमाडौं फर्किएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु यात्रामा छन् ।
ज्ञवालीसहितको टोली धादिङबाट चिवाभञ्ज्याङ सम्मको रुट र स्थान निर्क्यौल गरेर काठमाडौं फर्किएको थियो भने रिमालसहितको टोलीले झुलाघाटदेखि धादिङसम्मको अवस्था हेर्यो । त्यस पछिको यात्रा कोशी प्रदेश पुगिसकेको छ ।
१ हजार ८ सय किलोमिटर भन्दा लामो यो यात्रालाई एमाले नेताहरुले राजनीतिक गतिविधिको रुपमा मात्र नभई विकास र समृद्धिको अभियानका रुपमा बुझ्न पनि आग्रह गरेका छन् ।
यो यात्राले मध्य पहाडलाई विकासको मूल प्रवाहमा जोड्ने एमाले स्थायी कमिटी सदस्य शेरधन राई विश्वास व्यक्त गर्छन् । मध्यपहाडी लोकमार्ग मात्र नभई समग्र मध्य पहाडको विकासलाई नयाँ आयाम दिन यो यात्रा कोशेढुंगा सावित हुने उनको तर्क छ ।
यस्तै एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यो यात्राले जनता र पार्टीबीचको सम्बन्ध थप सुदृढ बनाउँदै विकास र जनजीविकाका सवाललाई राष्ट्रिय प्राथमिकताका विषयका रुपमा उजागर गर्ने बताएका छन् ।
सडकको अवस्था
मध्यपहाडी राजमार्ग १ हजार ८ सय ७९ किलोमिटर लामो रहेको छ । यसलाई चाँडो सम्पन्न गर्नका लागि पाँच खण्डमा विभाजन गरेर काम भइरहेको छ । मध्यपहाडी राजमार्ग योजना कार्यालय,फिदिम पाँचथरले पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुरसम्मको ३ सय ८६ किलोमिटर सडक निर्माणको काम गर्दछ ।
आयोजनाका प्रमुख कुबेर नेपालीका अनुसार रामेछाप कार्यालयले खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक र सिन्धुपलान्चोकको ३ सय ३५ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ ।
पर्वतको कुश्मामा रहेको कार्यालयले कास्की, पर्वत र बागलुङको २ सय ४५ किलोमिटर सडक निर्माणको काम गर्दछ। दैलेख कार्यालयले रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र वैतडी जिल्लाको ६ सय ५३ किलोमिटर सडकको निर्माण कार्य गरिरहेको छ । प्रमुख नेपालीका अनुसार मध्यपहाडी राजमार्ग निर्माणका विभिन्न ठाउँमा अझै पनि कामहरु बाँकी नै छन्।
आयोजना जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कार्यालयका सबै सम्पर्क कार्यालयहरु लागि परेका छन् । यो सडक पूरा गर्ने विषयमा पटक पटक लक्ष्य संशोधन भएको छ । आर्थिक वर्ष ०७९-८० सालसम्म गर्ने लक्ष्य राखिएकोमा पुनः संशोधन गरेर आर्थिक वर्ष ०८४-०८५ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण अवधि लम्बिएसँगै आयोजनाको लागत पनि करिब तीन दोब्बर बढेको छ ।
सुरुवातमा ३३ अर्ब ३६ करोड रुपैंया लागत रहेकोमा हाल ८४ अर्ब ३३ करोड रुपैंया अनुमान गरिएको छ । मध्यपहाडी सडकको लम्बाइ १ हजार ८ सय ७९ किलोमिटर भए पनि आयोजनाले निर्माण गर्ने सडकको लम्बाई १ हजार ४ सय १७ किलोमिटर मात्रै रहेको छ । ४ सय ६२ किलोमिटर सडक अन्य आयोजनाबाट निर्माण भएको छ ।