विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले लिएको आन्तरिक परीक्षामा ८० प्रतिशत कटाउने ९१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

विज्ञान सङ्कायमा अध्ययनरत कक्षा ११ मा ८० प्रतिशत कटाउने ४४ जना र कक्षा १२ मा ४७ जना गरी ९१ जना विद्यार्थीहरूलाई कलेजले छात्रवृत्ति प्रदान गरेको हो । ९१ जनामध्ये कक्षा ११ बाट टप टेनभित्र पर्ने १२ जना र कक्षा १२ बाट १० जना गरी २२ जना विद्यार्थीहरूलाई छात्रवृत्तिसहित नगद पुरस्कार प्रदान गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए ।

छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई कलेजले मङ्गलबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । ८० प्रतिशत कटाउनेमध्ये पनि कक्षा ११ बाट टपटेनभित्र प्रथम रूसन दाहाल, द्वितीय अमन साह र तृतीय गौरव भट्टराई भए । यसैगरी कक्षा १२ मा टपटेनभित्रको प्रथम प्रशान्त कार्की, द्वितीय गङ्गाराज अधिकारी र तृतीय कृपा शिवाकोटी भएकी थिइन् । टपटेनभित्र प्रथम हुनेले ४२ हजार ७ सय ५०, द्वितीयले ४० हजार २ सय ५० र तृतीयलाई ३७ हजार ७ सय ५० रुपैयाँ बराबरको छात्रवृत्ति दिएको कलेजका प्रिन्सिपल खड्काले जानकारी दिए ।

८० प्रतिशत कटाउने चौथोदेखि टपटेनभित्र पर्ने विद्यार्थीले २७ हजार ७ सय ५० रुपैयाँ छात्रवृत्ति पाएका छन् । यसैगरी ८० प्रतिशतभन्दा बढी अङ्क ल्याउने अन्य विद्यार्थीहरूले जनही २२ हजार ७ सय ५० रुपैयाँ बराबरको छात्रवृत्ति पाएको कलेजले जनाएको छ । छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई कलेजले प्रमाण–पत्र र माला लगाएर सम्मान गरेको छ । पुरस्कृत र सम्मानित भएका विद्यार्थीहरूलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर  खड्का, कलेजका चिफ डाइरेक्टर रमेशकुमार मण्डल, निर्देशक भूपेन्द्र दाहाल, नवीनकुमार रोयलगायतले सम्मान गरेका थिए ।

शिक्षादीपमा प्रत्येक वर्ष आठ सय बढी विद्यार्थीहरू विज्ञान सङ्काय अध्ययनको लागि भर्ना हुने गरेका छन् । सङ्घीय राजधानीबाहिर मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने कलेजको रूपमा पनि शिक्षादीप कहलिएको छ । यस कलेजमा अध्ययनरत विद्यार्थीहरूले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगञ्ज मेडिकल इन्स्टिच्युट (त्रिवि शिक्षण अस्पताल) सहितका अन्य मेडिकल कलेजहरूमा पूर्ण छात्रवृत्तिमा चिकित्साशास्त्र पढ्न सक्षम बनाउने कलेजको पहिचान शिक्षादीप कलेजले बनाएको छ । गत वर्ष चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएसको प्रवेश परीक्षामा शिक्षादीपकी अदितीकुमारी जैन ‘टपर’ भइन् । उनले  १८ हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै छात्रातर्फ देशभरै टप भएकी थिइन् । यसवर्ष शिक्षादीपका ७ जना विद्यार्थीले मेडिकल शिक्षा अध्ययनको लागि एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । उत्कृष्ट शैक्षिक वातावरण, अनुशासन, क्यारियर डेभलपमेन्ट अवसर, निरन्तर सुपरीवेक्षण शिक्षादीप कलेजको सफलताको सूत्र भएको प्रिन्सिपल खड्काले बताए ।