धरान । धरान–१५ का जीवन राई साँझबिहान नै बाँसको चोयासँग खेल्छन् । चोयासँगै खेल्न थालेको पनि १९ वर्ष पुगिसक्यो । बुबाले फालेको चोयाबाट परम्परागत डोको, खुँगी बुन्न थालेका उनले अहिले यसैबाट जीवन धानेका छन् ।
बुबा धलबहादुर राईको सीप हेर्दा हेर्दै सिकेको उनी बताउँछन् । ‘बाउले फालेको चोयाबाट बाउले बनाएजस्तै बनाउन खोज्थेँ, धेरै पटक बिग्रियो पनि’ उनले भने, ‘तर, विस्तारै अभ्यास हुँदै गयो । अहिले केही पैसा कमाउन सक्ने भएको छु ।’ बुबाले फालेको चोया नै उनको लागि परम्परागत सीपको आधार बन्यो । अहिले डोको, खुँगी मात्रै बुन्दैनन्, बाँसको मुडा पनि बनाएर बिक्री गर्छन् । ‘बाउले त्यो बेला घरमा चलाउनका लागि बुन्नुहुन्थ्यो, अहिले म बेच्न बुन्छु’–उनी भन्छन् ।
उनी बिहानैदेखि बाँसको चोया काट्न व्यस्त हुन्छन् । भ्याउन्जेलसम्म उनी केही न केही बनाइरहेकै हुन्छन् । यही सीपबाट जीवन धानेका छन् । २०६२ सालतिर डोको बुनेर बेच्दा एउटा डोकोको मूल्य ३० रुपैयाँ पथ्र्यो । जबकि एउटा बाँसको मूल्य एक सय पाँच रुपैयाँ थियो । आजको अवस्था पनि उति साह्रो परिवर्तन भएको छैन । अहिले पनि डोकोको मूल्यमा खासै अन्तर छैन । महँगीले आकास छोए पनि डोको, खुँगीजस्ता सामग्रीको मूल्यमा खासै वृद्धि नभएको उनी बताउँछन् । डोकोले मात्रै जीवन नधानिने देखेपछि उनले बाँसको मुडा बनाएर बेच्न थाले । जसले थोरै भए पनि आर्थिक टेको दियो । त्यो बेलामा मासिक ८ हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो ।
निर्माण मजदुरका लागि चाहिने भएकाले पनि डोको बुन्न उनलाई भ्याई नभ्याई हुन्छ । सहरमा डोको बिक्ला र ! भन्ने लागेको उनलाई पहिलो पटक १० वटा डोकोको माग आएपछि नै सीपले फल्नेफुल्ने मौका पाएको उनी बताउँछन् । डोको बुनेकै कारण अहिले उनको पहुँचमा २७ भन्दा बढी ठेकेदार छन् । उनीहरूले कुनै न कुनै समयमा डोको मागिरहने उनी बताउँछन् । उनको व्यवसाय विस्तार हुँदै गएको छ । डोको र मुडा बेचेरै जीविकोपार्जन गरिरहेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘यसैले राम्रो बजार लिएकाले यसैबाट बाँचेको छु ।’ कहिलेकाहीँ त अँध्यारो पनि ढिलो भइदेओस् झैँ उनलाई लाग्छ । ‘अर्डर आएको बेला त दिन पनि लामो भइदिए हुन्थ्योजस्तो लाग्छ’–उनी भन्छन् ।
धरान–५ (साविकको पाँचकन्या गा.वि.स.) देवीगाउँमा जन्मिएका जीवनको जीवनमा केही उतारचढाव नआएका होइनन् । २०६७ सालमा पत्नी कमलालाई एक्कासि ट्युमर भएको थाहा पाएपछि उनी छाँगाबाट खसेजस्तै भए । डोको बुनेर जीविका चलाउने उनका लागि त्यो समस्याले झण्डै ‘डिप्रेसन’ भयो । ट्युमर उपचारका लागि एकैपटक एक लाख २४ हजार रुपैयाँ जुटाउनु पर्ने भनी अस्पतालले भनेपछि निकै अप्ठ्यारोमा परे । ‘हस्पिटलका डाक्टरहरूले पैसा नभए पनि उपचार गरिदिने र पछि अकाउन्टमा जम्मा गरिदिनू भने । त्यो कुरालाई मलाई धेरै राहत भयो’ उनले भने, ‘पछि जग्गा बेचेरै उपचार खर्च तिरिदिएँ ।’ डोको, मुडा बुन्ने कामबाहेक कृषिमा पनि समय खर्चिएका छन् उनले । करेसाबारीमा लगाएको सब्जी बेच्दाबेच्दै उनी सब्जी पसले पनि भएका छन् । पसल पत्नीले हेर्छिन् । उनले भने दिउँसो टेम्पो चलाउन थालेका छन् । कृषि बजारबाट सब्जी ल्याइदिने र बाँचेको सयम डोकोका लागि चोया काढ्ने काम गर्छन् । अहिले डोकोबाटै मनग्य आम्दानी हुन थालेको छ । उनी भन्छन्, ‘डोकोबाट मासिक २०–३० हजार जति कमाउन थालेँ ।’ टेम्पो र डोको बुन्ने कामबाट उनको कमाइ राम्रै हुने गरेको छ । ‘मासिक ४०–५० हजार कमाइ हुन्छ’ उनी भन्छन्, ‘आफ्नै ठाउँमा काम गर्दा पनि हुन्छ । जे पर्छ त्यही काम गर्ने हुनुपर्छ ।’
विदेशको नाममा उनी भुटान पुगेको स्मरण गर्छन् । भुटानमा नेपालीहरूलाई लखेट्दा त्यो लखेटाइमा उनी पनि परे । तर, बाँसको झ्याङमा लुकेर बाँचेको उनी बताउँछन् । सीप भएकाले त्यहाँ पनि डोको बुनेर जीविका चलाएको उनी सम्झन्छन् । ‘हातमा सीप भएकाले भोको पेट बस्नु परेन, डोको बुनेर भुटानी २० रुपैयाँमा बेच्थेँ’–विगत सम्झँदै उनी भन्छन् । जहाँ गए पनि उनले परम्परागत पेशा छाडेका छैनन् । एउटा डोको बुन्नका लागि करिब पाँच दिन लगाउँछन् । यही सीपबाट छोरीलाई नर्सिङ पढाएको उनी बताउँछन् । नर्सिङ सकेकी छोरी करुणा अहिले धरान–१० स्थित विजयपुर हस्पिटलमा काम गर्छिन् । उनले बुनेका डोको धरानमा मात्रै हैन, पोखरासम्म पुग्ने गरेको छ । धरानका लाहुरे ट्रेनिङ सेन्टरहरूले पोखरा पु¥याएको बताउँछन् । त्यसकारण पोखराको लाहुरे ट्रेनिङ सेन्टरबाट पनि माग आउने गरेको छ । सीप भए भोको नहुने र बाँच्न सकिने उनको भनाइ छ ।