इनरुवा । चार वर्षअघि दलीय खिचातानीले इनरुवाबाट ओझेल परेको प्रदेश प्रहरी अस्पताल अन्ततः इनरुवामै फर्केर आएको छ ।
तत्कालीन समयमा इनरुवा नगरप्रमुख राजन मेहताले इनरुवामै राख्न चाहेको अस्पताल अन्तिम समयमा आएर विपक्षीको असहयोग र स्थानीयको अवरोधका कारण नगरबाहिर पुगेको थियो । यद्यपि अहिले भने उक्त अस्पताल पुनः इनरुवामै आइपुगेको छ । मेहता नगरप्रमुख रहँदा बेवारिसे अवस्थामा रहेको नयाँ बसपार्कको भवनमा अस्पताल सञ्चालनको तयारी गरिएको थियो । जसलाई राजनैतिक रङ दिइँदा उक्त विषय विवादित बन्न पुगेकोले अस्पताल स्थापनाको प्रयास सफल हुन सकेको थिएन । विपक्षी र स्थानीयको अवरोधका कारण त्यसबखत इनरुवाबाहिर पुगेको प्रदेश प्रहरी अस्पताल यतिबेला भने पुनः राजन मेहताकै पहलमा इनरुवा ल्याइएको छ । बेलबारीमा सीमित कोठाबाट सेवा दिँदै गरेको अस्पताललाई जिल्ला समन्वय समिति सुनसरीका सभापति मेहताकै पहलमा इनरुवा ल्याइएको हो ।
जग्गा र भवनको लागि दाता खोजिरहेको प्रहरी अस्पतालका लागि मेहताले जिससको कार्यपालिका बैठकबाटै पूर्वाधार संरचनासहितको २ बिघा ३ कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय गराए । इनरुवाको जिसस भवनमा अस्पताल सञ्चालनको लागि हालसालै सरुवा भएकी सुनसरी प्रजिअ हुमकला पाण्डेको समेत विशेष साथ रहेको थियो । यस पटक भने गुपचुप रहेर निर्णयसहितका कार्य अघि बढाइएको थियो । जसका कारण अस्पतालका सरसामान झारिएपछि मात्रै प्रहरी अस्पताल इनरुवा आएको विषय बाहिरिएको थियो । कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलासहित अस्पतालका पदाधिकारीको टोलीले इनरुवा पुगेर जिससको पूर्वाधार संरचना र जग्गाबारे निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा अस्पताल सञ्चालनकोलागि उपयुक्त पाइएको टोलीको ठहरसँगै अस्पताल सार्ने निर्णय भएको बताइएको छ ।
सोही आधारमा प्रदेश प्रहरी अस्पतालले बेलबारीबाट आफ्नो सीमित सेवालाई विस्तार गर्ने उद्देश्यसाथ अस्पताललाई इनरुवा सारेको बताएको छ । लामो समयदेखि जग्गा र भवन खोजी भैरहँदा जिल्ला समन्वय समिति सुनसरीबाट आएको प्रस्ताव उपर छलफल र अनुगमनका क्रममा उपयुक्त ठहरिएपछि प्रदेश प्रहरी अस्पतालको सेवा सञ्चालनमा ल्याउन लागिएको अस्पताल प्रमुख डा.सरोज सिंहले बताए । डा.सिंहले बेलबारीमा रहँदासमेत अस्पतालको लागि निकै ठाउँमा दाताको खोजी गरिएको बताए । भनेजस्तो स्थान र सहयोग नपाएको बताएका सिंहले अब भने संरचना अभावमा चिकित्सकसहितका प्राविधिक र स्रोतसाधन थन्किएर बस्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले प्रहरी अस्पतालको सेवालाई विस्तार गर्ने उद्देश्यका साथ जिसस सुनसरीबाट आएको प्रस्ताव उचित ठहरिएकाले सोही बमोजिम अघि बढाएको बताए ।
उता जिसस सुनसरीका प्रमुख राजन मेहताले भवन र जग्गा अभावमा भौंतारिरहेको प्रदेश अस्पताललाई समितिको बैठकबाट पारित गरी संरचना हस्तान्तरण गर्ने निर्णय गरिएको बताए । उनले इनरुवाबाट सञ्चालनमा आउने प्रदेश प्रहरी अस्पताल नगर विकासको लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । उनले भने, ‘यसअघि नै इनरुवामा उक्त अस्पताल राख्न खोजिएको थियो । केही कठिनाइले तत्कालीन समयमा सकिएन । यतिका दिनसम्म पनि प्रदेश प्रहरी अस्पताल जग्गा र दाताकै खोजीमा रहेको पाइएकाले जिसस भवनसहित संरचना नै उसैलाई दिने गरी निर्णय गरिएको हो ।’ मेहताले प्रदेश प्रहरी अस्पतालले प्रहरी र तिनका परिवार मात्रैको नभई आम सर्वसाधारणसमेतको सुलभ उपचार गर्ने भएकाले आफूहरू सानो कोठामा स्थानान्तरण भई अस्पतालका लागि सिङ्गो जिसस संरचना उपलब्ध गराएको बताए ।
पुस ४ गतेबाट सञ्चालन तयारी गरिएको प्रदेश प्रहरी अस्पतालको प्रारम्भिक सेवा १५ बेड सुविधाको हुनेछ । १ सय बेड क्षमताको लक्ष्य रहेको अस्पताललाई जिससमा पर्याप्त कोठा खाली रहेकाले केही समयमै ५० बेडको बनाइने बताइएको छ । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार तत्काल एकजना एमडी र २ जना एमबीबीएस डाक्टरले सेवा दिनेछन । प्रारम्भिकरूपमा जेनेरल सेवा, इमरजेन्सी, सर्पदंश र ल्यावजस्ता सेवा दिइने बताएको अस्पतालले क्रमशः एक्स–रे, दन्त र फिजियोथेरापीसहित अन्य सेवा विस्तार गर्दै लैजाने जनाएको छ ।
मेडिकल विद्यार्थी उत्पादनको लक्ष्यसमेत लिएको प्रदेश प्रहरी अस्पतालले प्रदेश तालिम केन्द्रमार्फत् छनौट हुने प्रहरी भर्ना प्रक्रियामा आवश्यक पर्ने मेडिकल चेकजाँचसमेत गर्नेछ । अस्पतालबाट सर्वसाधारणसहित प्रदेशभरका प्रहरी र तिनका परिवारले उपचार सेवा प्राप्त गर्नेछन् । जसले गर्दा समेत इनरुवाको विकासमा टेवा पुग्ने जिसस सभापति मेहताको विश्वास छ ।