विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजको कक्षा १२ विज्ञान सङ्कायमा अध्ययनरत सात जना विद्यार्थीहरूले पानी रकेट बनाएका छन् ।
कलेजका आयुष ठाकुर, रितेस भट्टराई, राहुल ठाकुर, प्रशान्त झा, सिम्रिका तिमल्सिना, संस्कृति कर्ण र सिवाङ्का भगतले लामो समयसम्मको खोज र अनुसन्धानपछि पानी रकेट तयार पारेका हुन् । उनीहरूले लामो समयको मिहिनेतबाट बुधबारदेखि सुरु भएको विज्ञानसम्बन्धी ६ दिने कार्यशालामा पानी रकेट देखाउँदा सहभागी भएका जनप्रतिनिधि, प्राध्यापक, शिक्षक र विद्यार्थीहरू पनि दङ्ग देखिन्थे । उनीहरूले ५० मिटर उचाइसम्म उड्ने पानी रकेट बनाएको विद्यार्थी आयुष ठाकुरले बताए । वाटर रकेट प्रक्षेपणपछि उनले भने, ‘विज्ञान पढेको स्वाद त बल्ल पो आयो ।’ कार्यशालाले विज्ञान क्षेत्रमा नेपालले केही गर्नसक्ने सम्भावना देखाएको उनले बताए ।
शिक्षादीप कलेजले विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीहरूका लागि बुधबारदेखि सुरु भएको अन्तरिक्ष विज्ञानसम्बन्धी ६ दिने कार्यशालामा पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘पानी रकेट’ तयार पारी उडाउँदा सबै दङ्ग देखिन्थे । रिसिक इनोभेसन्स अन्तर्गतको ‘द स्क्वाड अफ चेन्ज मेकर्स’ सँगको सहकार्यमा विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीहरूका लागि कार्यशाला सुरु गरेको हो । विज्ञान विषय अध्ययनरत ४ समूहमा विभाजन गरेर कार्यशालामा सहभागी गराएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए ।
कार्यशाला सकिएपछि विद्यार्थीहरूले पाँच हजार फिट उड्ने रकेट बनाउने द स्क्वाड अफ चेन्ज मेकर्सका अध्यक्ष सुशीलदेव भट्टराईले बताए । फ्युलमा सुगर प्रयोग गरेर बनाउने रकेट प्रतिसेकेण्ड ७० फिट स्पिडको प्रक्षेपण गरिएको उनले बताए । विद्यार्थीहरूले कार्यशालामा रोबोटिक्स, खगोल विज्ञान, रकेट साइन्स, स्याटेलाइट टेक्नोलोजी, उड्डयन प्रविधिसँग सम्बन्धित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन गर्नेछन् । पुस २ गतेसम्म चल्ने कार्यशालामा विद्यार्थीहरूलाई ६ दिनसम्म क्रमशः पहिलो दिन सैद्धान्तिक र दोस्रो दिन प्रयोगात्मक कक्षामा सहभागी गराउने तयारी कलेजले गरेको छ । कार्यशालामा विद्यार्थीहरूले १ सय १० मिलिमिटरको अमेच्योर रकेट, १ युनिटको क्युव स्याटेलाइट र ३ किलोमिटर रेन्ज भएको रिमोट कन्ट्रोल प्लेन बनाउन सिक्नेछन् । खगोलशास्त्रको अन्तिम दुई दिने कार्यशालामा विद्यार्थीहरूलाई छुद्र ग्रह पत्ता लगाउन तथा आकाशको म्यापिङ गर्नसमेत सिकाइने बताइएको छ ।
‘विद्यार्थीले किताबी ज्ञान र आउट नलेज व्यवहारमा उतारेका छन् । पानी रकेट बनाएर उडाउँदा छुट्टै आनन्द हुँदो रहेछ’ कलेजका प्रिन्सिपल खड्काले भने, ‘अब यस्ता गतिविधि निरन्तर गरेर विज्ञान सिकाइ प्रभावकारी बनाउनु आवश्यक छ ।’ कार्यशालाले विद्यार्थीलाई नयाँ ढङ्गले सोच्न सहयोग पुग्ने उनले बताए । कार्यशालाले विद्यार्थीको सीप अभिवृद्धि गरी आत्मविश्वास जगाएको उनले बताए । कार्यशालाको उद्घाटन समारोहमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यार्थीहरूले आफूसँग भएको अवसरलाई सदुपयोग गर्न सिक्नुपर्ने बताए । कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा. यदावराज कोइराला, कलेजका अध्यक्ष तथा प्रदेश सांसद् भीम पराजुलीलगायतले विद्यार्थीहरूले सिकेको किताबी ज्ञान व्यवहारमा उतार्नु पर्नेमा जोड दिए ।
मोरङमै पहिलोपटक आयोजना गरिएको यस प्रकृतिको कार्यशालाका लागि ९ जना विज्ञको टोली विराटनगर आएका छन् । विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा समेत कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।