जनता नै एमालेको सञ्जीवनी बुटी
एमालेका मूल आधार जनताकै कुटी
जनहितका राम्रा काम गर्दा एमाले
शत्रुहरुको घेरामा पर्यो एमाले
जनताकै साथ पाई जाग्छ एमाले
१.आरम्भ
नेकपा (एमाले) नेतृत्वको दुईतिहाइ नजिकको ओली सरकारका विरुद्ध अनेक षड्यन्त्र गरियो । यस कुकर्ममा पार्टीभित्रकै हरियो सर्प लागिपरेको ओलीले बताउनुभयो । त्यति बेला नै उक्त गीत मैले लेखेकी थिएँ । देशी विदेशी मिलेर संसद् विघटनजस्तो अप्रिय काम गर्न बाध्य बनाइयो । संसदीय व्यवस्था भएका मुलुकहरूमा बाध्यतावश संसद् विघटन गर्ने सर्वमान्यता स्थापित देखिन्छ । नेपालकै संविधानको सारमा संसद् विघटनलाई परोक्ष रूपमा समर्थन नै गरेको देखिन्छ । तर, त्यसलाई अवैधानिक भन्नेहरूले संसद्लाई नै छलेर टीके प्रधानमन्त्री र सरकार बनाएकामा हर्ष र उमङ्ग मनाएको लाजमर्दो दृश्य देखियो । उक्त गीतमा उल्लेख गरे झैँ देश र जनताका हितमा जनतालाई नै जगाउनु पर्छ । यही सिलसिलामा पार्टीले झुलाघाट–चिवाभन्ज्याङ समृद्धि सङ्कल्प यात्रा सुरु गरेको छ ।
२. ऐतिहासिक यात्रा
यो यात्रा ऐतिहासिक रहेको छ । कोशी प्रदेशमा यो यात्रा मङ्सिर २६ मा प्रवेश गर्नेछ र तेह्रथुमको वसन्तपुरमा मङ्सिर २८ गते आमसभासहित रचनात्मक रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको छ ।
यसले कोशी नामकरण विरुद्धका अफवाहका बारेमा आम जनसमक्ष सुस्पष्ट पार्ने पार्टी प्रदेशले बताएको छ । यस कार्यक्रमको अर्थ, आशय र सन्दर्भका बारेमा हामीले घरमा नै सानो छलफल चलायौँ । यसका लागि डा. बद्रीविशाल पोखरेलसित यससम्बन्धी उहाँले पाएको जानकारी लिइयो । उहाँले यात्रालाई जान्दा श्रीखण्ड हुन्छ, नजान्दा मोती पनि माटामुनि पर्छ र सार संक्षेपमा यही भन्नुभयो । माओले तिमीसित जे छ, त्यही सशक्त हतियार हो भनेको पनि डा. पोखरेलले उल्लेख गर्नुभयो । यसको अर्थ तिमीसित विचार छ, आँखा छ, ज्ञान छ, इमान छ, आँट र अठोट छ भने त्यही शक्ति हो र हतियार पनि हो भनेका रहेछन् । उहाँले ‘कलाकारका हातमा परेको माटो धपधपी बल्छ’ भन्नुभयो । यो विषय पत्रपत्रिकामा पनि प्रकाशित गर्नुपर्ने भएकाले सविस्तार बताइदिन उहाँलाई मैले भनेँ । अनि उहाँले व्याख्या गर्नुभयो । यो यात्राको बहुआयामिक अर्थ र सन्दर्भ रहेको छ तर, त्यसलाई हामी सबले के कसरी लिन्छौँ, त्यसमा भर पर्छ भन्नुभयो । यो यात्रा एमालेले आजका दिनसम्म देश र जनताका लागि नमुनाका रूपमा गरेका कामहरू फेरि पनि बताउने हो ।
३. यात्राको उपलब्धि
तुलना गरेर हेर्ने हो भने एमालेबाहेक अरू कुनै पार्टीले नमुना काम गरेको छैन । यो जनजागरणको यात्रा हो । यो यात्रा प्रतिगमनकारी सोचका विरुद्ध लक्षित छ । अझ देशलाई अनेक बहानामा विखण्डन र असफल बनाउनेहरू ठगबन्धन सरकारविरुद्ध यो लक्षित छ । यति कुरा आफू बुझ्ने आम जनतालाई चित्तबुझ्दो रूपमा बुझाउने कुरासित सम्बन्धित छ । यो जनतालाई देशको अवस्थाबारे सुसूचित गर्ने चेतनशील बनाउने यात्रा हो । यसका मनोवैज्ञानिक पक्षहरू पनि छन् । कम्तिमा यस यात्रामा सम्बद्ध, सहभागी र सहयात्रीहरूमा अभियान र एमालेप्रति पातलै झुकाव र समर्थन प्राप्त हुन्छ । तर, यसलाई घनीभूत बनाउन पार्टी लागिपर्नु पर्छ । स्कुलमा विद्यार्थी चाहिँ भर्ना ग¥यो अनि नपढाएर वर्षभरि रल्लिन र हल्लिन दिएर हुँदैन । अहिले नै पार्टी र मोर्चाका सङ्गठन र विभागहरू बनेको कम्तिमा एक वर्ष हुनलाग्यो तर, काम हेर्ने हो भने आशाजनक देखिन्न । सङ्गठनमा बसेर मूलतः वैचारिक सैद्धान्तिकलगायत जागरणमूलक तथा जनसेवाका काम गरेकै हुनुपर्ने प्रावधान नराखेसम्म काम हुने देखिन्न । डा. पोखरेलले भने झैँ म आफै संलग्न रहेको प्रदेश फाउन्डेशन हेर्दा पनि थाहा भयो । अधिवेशन भएको एक वर्ष हुनलाग्यो । काम भने वरको सिन्को पर सरेको छैन । मलाई किटानी जिम्मेवारी दिनुस् भनेकी छु । काम पनि दिए म गर्छु । प्रायः आफू मातहत अरू कसैले राम्रो काम गर्दा सहन नगर्ने अवस्था भयो भने अनि कसरी काम हुन्छ ? अभियानका दौरानमा नेकपा (एस) र नेपाली काङ्ग्रेस लगायतका पार्टीका नेता र कार्यकर्ताहरु भ्रम निवारण भई एमालेमा प्रवेश गर्नेछन् र गरिरहेका पनि छन् । यस्ता यात्रा दुई प्रकारका हुन्छन् ।
महाकवि देवकोटाका अनुसार एउटा ठिमिले यात्रा हुन्छ । खुरुखुरु र लुरुलुरु एकोहोरो बग्गीको घोडा झैँ सिधा बाटो हिँड्ने र अर्को चाहिँ त्यही बाटो हिँड्दा पनि वरपर तलमाथि हेर्ने समग्र अध्ययन गर्ने खालको यात्रा पनि हुन्छ । यात्रालाई सन्देशमूलक बनाउनेहरू त्यसअनुसारको तौरतरिकासहित सक्रिय हुन्छन् तर, हाहाहुहु र साथी–सङ्गी र सङ्गतिकै लागि मात्र सडकमा धुलो उडाउनेहरू अहिलेका सामाजिक सञ्जालको दुरुपयोगमा मात्र रमाउँछन् ।
४. यात्रामा सामेल नेताको हविगत
यात्राका महत्वपूर्ण विषय र पक्षहरूलाई ओझेल पार्ने र पर्ने गरी कतिपय नेता नै कानेखुसी र हो–हल्ला गरिरहन्छन् । अझ कति त यात्राका सार र सन्दर्भलाई नै आझेल पर्ने र पार्ने गरी सिँगारपटार र साजसज्जामा मात्र ध्यान दिन्छन् । कति त नेताका आँखामा पर्न लागि कुदेका हुन् कि ? डा. पोखरेलको यस कुरामा मैले आपत्ति गरेँ, यो त अलि अति भएन र ? अझ यसमा महिलाका सिँगारपटारलाई लक्षित गरेजस्तो पो भयो डा. साहेव भनिदिएँ । यसलाई उहाँले अझ स्पष्ट पार्दै भन्नुभयो । के महात्मा गान्धी हरितन्नम भएर कछाड लगाएर हिँडेका हुन् र ? होइन नि । उनी धनी बाबुका छोरा थिए । म्याडम क्युरी, पारिजात र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आदि नारी हस्तीहरू घाँटीमा तीन तोलाको सुनको सिक्री भिर्न नसक्ने हुन् र ? मुखभरि बाक्लो फाहा किनेर घस्न नसक्ने हुन् र ? उनीहरू एउटा मेसिन किनेर कपाल तान्न नसक्ने हुन् कि ? कुन ठाउँमा कुन लुगा लगाउने भन्ने पनि छ क्या ? कमरेड केपी ओली प्रायः दौरा सुरुवाल, कोट र टोपी लगाएर हिँड्नुहुन्छ । उहाँले दस हजारको टाइ किन्न नसकेर टाइ नलगाएको हो र ? मूल कुरा कसको केमा ध्यान केन्द्रित छ भन्ने कुरा हो । जब यात्रा, ध्येय र उद्देश्यको मूल मर्मप्रतिभन्दा अन्य अन्य स–साना झिनामसिना विषयमा ध्यान केन्द्रित हुन्छ र छ भने बुझे हुन्छ । ती नाम मात्रका हुन्, कामका होइनन् । अर्को कुरा, ओलीले के कस्तो पोसाक लगाउने भन्ने बारेमा पनि नेताहरूलाई प्रशिक्षित गर्नुभएको छ । जिन्दगीभरि नेपाली टोपी नलगाउने वा टोपीप्रति अपेक्षा भाव राख्ने नेता पनि आफूले चिनेको डा. पोखरेलले बताउनुभयो । ओलीले अर्तीउपदेश गरे झैँ जनताप्रति विनम्र व्यवहार हामी कति गछौँ ? हामी सेवक हो कि शासक हो ? यस यात्रामा मात्र होइन, सधैँ यस्ता कुरालाई पनि ख्याल गर्नुपर्ने हो नि । अलिकति त देखेर पनि जान्नु पर्ने हो । त्यसमा पनि अध्यक्षले नै प्रशिक्षित गरेपछि त मान्नु पर्ने होइन र ? डा. पोखरेलले लामै बेलिविस्तार लगाउनुभयो । उहाँका चखिला र चोटिला कुरा सुन्दै गएपछि फेरि प्रश्न गरुँ गरुँ लाग्यो । जुँगा चले कुरा बुझे भने झैँ अरू केही छ कमरेड भनेर सोध्ने कुरा भनिहाल्नु भो । मैले स्वीकृतिमा टाउको हल्लाएँ ।
५. समग्र आन्दोलन बुझाइमा समस्या
ए त्यसो भए अलि पहिले पार्टीले गरेका जनसरोकारका आन्दोलन हेर्दा धेरै कुरा सिक्न सकिन्छ । कुरो हो भने उहिल्यै किसान आन्दोलन पार्टीमार्फत् चलेको थियो । किसानलाई हेपेर रे होइन जी कहो आन्दोलन सुरु गरेको थियो । यसमा मूलतः वैचारिक तथा अन्य हक अधिकार पनि किसानलाई दिलाएको थियो । आन्दोलनमा लाग्ने किसानले पार्टी र यसका नीति सिद्धान्त जान्न बुझ्न पाएका थिए । कुनै पनि सभा, गोष्ठी र अभियान विचार र व्यवहार केन्द्रित हुन्थे । कुनै पनि कार्यक्रमबाट केही न केही सिकिन्थ्यो । किसानका कार्यक्रम गरेपछि किसानहरू व्यापकरूपमा पार्टीमा आबद्ध र गोलबद्ध भएका थिए । यसरी नै महिला, मजदुर, विद्यार्थीलगायत जनसरोकारका विषयहरूमा आन्दोलनहरू हुन्थे । कवि कलाकारका जागरणमूलक कार्यक्रमहरू सुनेर जनता प्रभावित हुन्थे । ती कार्यक्रमहरू बेला–बेला भइरहन्थे । अहिले सुनसान देखिन्छ । सुनसरीमा भने केही भइरहेकै छ । अनेक समस्याहरूबाट अत्यन्त पीडित किसान, मजदुर, महिलालगायतहरूका विषय किन अहिले मुद्दा बन्दैनन् ? मिटरब्याज पीडित किसानहरू पीडित छन् तर, किन अनेकिसङ्घको आँखामा ती समस्या पर्दैनन् ? माथि उल्लिखित गीतअनुसार जनतालाई मूल आधार र आश्रय आन्दोलन ठान्ने हो भने तिनका समस्या समाधानमा अगुवाइ वा नेतृत्व गर्नैपर्छ । माया गरे माया बढ्छ । हेर्न, बोल्न र व्यवहार गर्न जान्दा मात्रै पनि मैत्री कायम गर्न सकिन्छ । अहिले पनि विभिन्न खाले हिंसा पीडित महिलाको सङ्ख्या हजारौँ रहेको छ । ती महिलाहरूलाई गोलबद्ध गरेर आवश्यक दबाव दिएर समाधान गर्न गराउन सकिन्छ । न्यायालयलाई पनि पीडितका पक्षमा फैसला गर्न सघाउ पुर्याउँछ ।
६. जनताका समस्या उठानमा बेवास्ता
झुलाघाट–चिवाभन्ज्याङ मध्य पहाडी समृद्धि सङ्कल्प यात्रामा हुँदा र नहुँदा पनि ओली कमरेडले समग्र विकास निर्माणलगायत हिंसा पीडित महिलाका विषयमा दबावमूलक सम्बोधन गर्नुभएको देखिन्छ । मोर्चा सङ्गठनहरू निरन्तर आ–आफ्ना क्षेत्रका समस्याहरू समाधान गर्न ध्यान नदिने हो भने जनता हाम्रो जनसङ्गठन र पार्टी वरिपरि गोलबद्ध हुँदैनन् ।
महोत्तरी निवासी नेहा चौधरी पारिवारिक हिंसाको असाध्य पीडामा परेको नागरिक दैनिकबाट थाहा भयो । तर, ती महिला अनेम सङ्घमा हार गुहार गर्नुभन्दा दुर्गा प्रसाईंसित गइछन् । अनेम सङ्घ पीडित महिलाको रखवारी गर्ने संस्था हो भन्ने सन्देश कामले देखाउनु पर्छ । यस्ता अनेक समस्याहरू म आफै लगायत सुनसरी र इटहरीका साथीहरूले समाधान गर्न पहल गरेका छौँ । निरन्तर दबाव नदिई यस्ता समस्या समाधान हुँदैनन् ।
त्यसैले यस यात्रामा यस्ता समस्याहरू बुझ्ने र समाधानका लागि पहल गर्ने कुरालाई पनि ध्यानमा राख्नु पर्छ । सबैभन्दा ठूलो विकास र समृद्धि बुद्धि, ज्ञान, चेतना, विचार र चिन्तनमा आउनुपर्यो । मन सफा भए पो तन सफा हुन्छ ? मनमा हरियो सर्प लुकेपछि काम सद्दे हुँदैन । अभिभावकले अनावश्यक लाडप्यार र चरम् हेला उपेक्षा र अपमान गर्दा सर्पहरू जन्मिन सक्छन् । सुनसरीका ठूला नेता र नेती ‘आफै धामी आफै झाँक्री’ भएर कार्यकर्ताका बीचमा आफूहरूलाई चोखो बनाउन र अरूहरूलाई खुइल्याउन प्रायोजित रूपमा बेनामे पर्चा छरिरहेका छन् । यस अभियानका बारेमा प्राप्त अलोचना र सुझावलाई बेवास्ता गर्नुहुन्न । सही सल्लाह स्वीकार्ने र गलत रहेछन् भने तर्कसहित प्रस्तुत हुनुपर्छ ।
समाज, देश र जनताका समस्या समाधान गर्नुपर्छ, चेत सर्वोपरि नहुन्जेल हाम्रा कामहरू लक्षतिर उन्मुख हुँदैनन् । मन एकातिर अनि तन अर्कातिर भयो भने पार्टीका अभियानहरूले लक्ष प्राप्त ठूलो सकस पर्छ । पार्टी र नेता देश र जनताका हितमा इमान्दारिता साथ एक ढिक्का हुने हो भने सय थुकी नदी हुन्छ । देश र जनताको कायापलट हुन्छ ।
(इटहरी निवासी लेखक अनेम सङ्घ, केन्द्रकी सल्लाहकार हुनुहुन्छ ।)