भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले आफ्ना गौरवको योजना मापदण्डसहितको स्तरोन्नति गर्न एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।
मङ्सिर १४ देखि सुरु भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा अभियानअन्तर्गत् बिहीबार पौवादुङ्मास्थित तिवारी भञ्ज्याङ आइपुगेका अध्यक्ष ओलीसमक्ष स्थानीय राजनीतिक दलले संयुक्त ज्ञापनपत्र बुझाउदै पालिकाका तीन ठूला गौरवका योजनालाई पूर्णता दिन माग गरेका छन् ।
संघीय सरकार र प्रदेश सरकारका बजेट र कार्यक्रममा स्थान दिनका लागि पौवादुङमा गाउँपालिकामा रहेका राजनीतिक दलहरुको तर्फबाट ज्ञापनपत्र बुझाएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
ज्ञापनपत्रमा पूष्पलाल मध्य पहाडी लोकमार्ग मापदण्डसहितको हालकै स्थानबाट कायम गरी स्तरोन्न्ति गर्न र निरन्तरता दिन मागरिएको छ । यस्तै पूष्पलाल मध्य पहाडी लोकमार्गको तिवारी भञ्ज्याङ्गलाई जीरो किलो मानी हाल ग्राभेल सम्पन्न भएको पञ्चकन्या कृषि सडक, जसले यस गाउँपालिकाका छ वटा मध्ये पाँचवटा वडाका तिवारी भञ्ज्याङ्ग, कोट गढी, च्याङ्ग्रे बजार, बास्तिम, मानेडाँडा, ठूलो दुम्मा, सानो दुम्मा हुँदै अधैरीघाटसम्मको ३१ किमी समेटेकाले कालोपत्र गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा अरुण नदीको अधेरीघाटमा मोटरेबल पक्की पुल निर्माण गर्न ठेक्का प्रकृया अगाडि बढाउन आवश्यक पहल गर्नसमेत अध्यक्ष ओलीसमक्ष माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले विकास निर्माणमा ढिला भए पनि अब एमालेले त्यसको नेतृत्व गर्ने बताए । 'विकास निर्माणमा विलम्ब भयो, तर यो देशमा नेकपा एमाले छ ।' अध्यक्ष ओलीले भने । उनले काठमाडौ पुगेपछि ज्ञापनपत्र अध्ययन गरी यथासक्य चाँडो प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
ज्ञापनपत्रमा स्थानीय नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली काङ्ग्रेसलगायतका दलले भोजपुर जिल्लाको पौवादुङमा गाँपालिकाको सामाजिक आर्थिक विकास गर्न र बढ्दो बसाइँसराइलाई रोक्नका निमित्त, यस गाउँपालिकालाई आत्मनिर्भर बनाउन यस गाउँपालिकाका सम्पूर्ण राजनीतिक दलहरु क्रयाशील भई अथक प्रयास गरिरहेको उल्लेख गरेका छन् ।
पौवादुङमा गाउँपालिकामा रहेका राजनीतिक दलहरुको तर्फबाट मङ्सिर २२ गते बसेको सर्वदलीय बैठकको निर्णयबाट मागहरु पेश गरिएको उल्लेख छ ।
नेकपा माओवीदी केन्द्रका तर्फबाट सन्जिव मुक्मिन राई, नेकपा एमालेका तर्फबाट ज्ञानेन्द्र राई र नेपाली काङ्ग्रेसका तर्फबाट चोल प्रसाद आलेले हस्ताक्षर गरेका छन् ।