धरानबाट आज पाँच जना पहिचानवादी नेता पक्राउ परेका छन् । विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी नेता, कार्यकर्ताको बिनाशर्त रिहाइको माग गर्दै आन्दोलनरत उनीहरूलाई पक्राउ गरिएको हो ।
पहिचानवादी नेताहरु सुमन चेम्जोङ, करुण राई, शम्भु राई पृथक, सीताराम राई र हरि बान्तवालाई प्रहरीले नियन्त्रणमा लिएको सङ्घर्ष समितिले जनाएको छ ।

कोशी नाम खारेजीको माग सहित मङ्सिर २६ गतेदेखि मध्ये पहाडी मार्गमा विभिन्न चरणमा बन्दको आयोजना गरिएको थियो । सोक्रममा खोटाङबाट पूर्व संस्कृति मन्त्री गोपाल किराँती, झापाका पाण्डवलाल चौधरीसहित  बिर्तामोड,भोजपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, उदयपुर लगायतबाट ३५ जना पहिचानवादी नेता, कार्यकर्ता पक्राउ परेका थिए ।

उनीहरुको बिना शर्त रिहाइको माग गर्दै प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आज मङ्सिर ३० देखि पुस १ गतेसम्म कोशी प्रदेशमा यातायात बन्दको आह्वान गरेका छन् ।

तस्बिर- पहिचानवादीको कोशी प्रदेश बन्द आह्वानका क्रममा देखिएको दृष्य ।