वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत भएका छन् । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आज उनिसहित तीन व्यक्तित्वलाई पुरस्कार प्रदान गरेको हो ।
रु ५१ हजार राशिको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कारबाट कथाकार एवं साहित्यकार भगिरथी श्रेष्ठ र रु २५ हजार राशिको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष झा पुरस्कृत भएका हुन् । दधिराज सुवेदीको उपचारमा संलग्न अबुर्द रोग अस्पताल भक्तपुरका चिकित्सक उज्ज्वल चालिसेलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पुरस्कृत व्यक्तित्वलाई बधाई दिँदै मुलुकको गहनाका रुपमा रहेको भाषा, साहित्य र संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिए ।
नेता डा कोइरालाले मुलुकमा सुशासनका लागि सरकार जवाफदेही हुनुपर्ने बताए । उनले असल सोच, विचार र भावनाबाट सरकारलाई काम गर्न सुझाव पनि दिए ।
कोशी प्रदेशसभाका सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले लोकतन्त्र र सङ्घीयताको विकल्प नरहेको जिकीर गरे । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नगरपालिकाले नगर क्षेत्रको भाषा, साहित्य र कलाको विकास गर्न नगर तहबाट प्रज्ञा प्रतिष्ठान बनाउने तयारी गरिरहेको जानकारी दिए ।
पुरस्कृत व्यक्तित्व झाले असल समाज निर्माण गर्न आफू निरन्तर लागिपर्ने विश्वास दिलाए । पुरस्कृत श्रेष्ठले समाज सेवाका अतिरिक्त भाषा, साहित्य र प्राज्ञिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने साहित्यकार सुवेदी प्रेरणाको स्रोतका रुपमा रहेको बताए ।