धरान – बेलायतमा रहेका नेपाली श्रष्टाहरुको साझा साहित्यिक संस्था नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको अध्यक्षमा टंक वनेम निर्वाचित भएका छन् ।
प्रतिष्ठानको गत आइतबार सम्पन्न पाँचौँ अधिवेशनले वनेमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले समितिको दुई उपाध्यक्षमा मिजास तेम्बे र देवेन्द्र खेरेस, महासचिवमा चोक गुरुङ, कोषाध्यक्षमा निर्मला परिवेश राई र सचिवमा अञ्जु अञ्जली चयन भएका हुन् ।
समितिको सदस्यहरूमा दयाकृष्ण राई, रक्ष राई, गणेश राई, नरेश नाति र दीपा लिम्बू राई चयन भएका छन् । सन २००८ मा प्रवासमा नेपाली साहित्य, कला, संगीतको प्रवद्र्धन र जगेर्ना गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानले प्रत्येक बर्ष नगद १ लाख रुपैयाको प्रतिभा सम्मान र ५० हजार रुपैयाको प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।
बेलायतमा बार्षिक रुपमा अभिव्यक्ति श्रृङ्खला संचालन गर्दै आएको प्रतिष्ठानले नेपाली श्रष्टाहरुद्धारा लिखित साहित्यक पुस्तकहरु पनि प्रकाशित गर्दै आएको छ । गतबर्ष प्रतिष्ठानले प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति वैरागी काइला (तिल विक्रम नेम्बाङ) लाई धरानमा नागरिक अभिनन्दन गर्दै कवि सुदिप पाख्रिनलाई प्रतिभा सम्मान र गायक संगितकार दीप श्रेष्ठलाई प्रतिभा सम्मान गरेको थियो ।
फोटो
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको नवनिर्वाचित टंक वनेमलाई बधाई दिदै निवर्तमान अध्यक्ष गणेश राई (बायां) । तस्वीर सौजन्यः गणेश राई