विषय प्रवेशः
पछिल्लो समय ‘मिसन–८४’ राजनैतिक वृत्तमा सर्वाधिक चर्चा कमाउने पदावली बनिरहेको छ । बिहान उठेदेखि बेलुका नसुतेसम्म यसैको मातमा गर्ने–नगर्ने र सक्ने–नसक्ने सबै वाचा कसमहरू खाने काम भइरहेको छ । ठूलादेखि साना र पुरानादेखि नयाँ पार्टी, नेता र कार्यकर्ताहरू यही एकल मिसनमा एकोहोरिएर लागिरहेका छन् । त्यसमा पनि अझ विशेष गरेर प्रतिपक्षी दलहरूले मिसन ८४ को नारा उरालिरहेका छन् अर्थात् सबैको अर्जुनदृष्टि आगामी २०८४ सालमा हुने आम निर्वाचनमा केन्द्रित भइरहेको छ । यो मिसनमा धेरैको उद्देश्य भनेको बहुमत हासिल गर्ने भन्ने देखिन्छ । कतिपयको दुई–चार सिट सङ्ख्या बढाउने मात्रै पनि हुनसक्छ । खैर, जे होस् सबैको जोड–कोण, ध्यान र योग भनेको आउँदो चुनावमा आफू र आप्mनो पार्टीलाई जिताउने निहीत स्वार्थमा सबै दलहरू लागिरहेको देखिन्छ ।
वस्तुतः संसदीय लोकतन्त्रको आदर्श नै आवधिक चुनाव हो । चुनावबाट जनादेश लिएर सरकार गठन र विघटन गर्नु सामान्य प्रक्रिया हो । यसमा आपत्ति गर्नुपर्ने कुनै कारण देखिँदैन । विजय र पराजय लोकतान्त्रिक अभ्यासको विशेषता हो । यसो भएपछि कुनै दल वा कोही नेताहरूले विजय र बहुमतको सपना देख्नु र सरकार गठनको परिकल्पना गर्नु अनौठो होइन । यो लोकतान्त्रिक शासन प्रणालीको विशेषता हो । तर, वर्तमान नेपाली राष्ट्रिय राजनीतिमा आवधिक चुनाव र त्यसमा जसरी पनि जित हात पार्नको लागि विचार, सिद्धान्त, दृष्टिकोण, कार्यदिशा, कार्ययोजना र कार्यक्रमहरू सबै भुल्ने प्रवृत्ति भने नराम्ररी बढिरहेको छ । यो दुःखद् र विडम्बनापूर्ण सवाल हो । त्यति मात्र होइन, वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, मूल्य–मान्यता, आदर्श, विवेक अनि इमान–जमान सबै चुनाव जित्ने नाममा लिलाम गर्ने क्रम बढ्दो छ । यस्तो प्रवृत्ति जुनसुकै जोड–कोणबाट विश्लेषण गरे पनि सही र उत्पादनमूलक हुन सक्दैन । अर्थात् चुनाव लक्षित औसत अर्थराजनैतिक परिपाटीले मात्र न राजनैतिक समस्याहरूको गाँठो फुकाउन सकिन्छ, न त परिवर्तनकारी निकास र न्यायिक निसाफ नै ।
वास्तवमा पछिल्लो राजनीतिमा विचार, सिद्धान्त, कार्यदिशा, कार्ययोजना, कार्यक्रम र योजनाबद्ध उद्देश्य हराउँदै गएको छ । यही मेसोमा अधिकांश राजनैतिक दलहरू चुनावी फेरो समातेर राजकीय भौतिक शक्ति, पद, प्रतिष्ठा र सुखभोगरूपी सरकारी वैतरणी तर्ने मानसिकतामा देखिन्छ । उनीहरूलाई राजनैतिक एजेण्डा, उत्पादनशील र अनुत्पादनशील, अग्रगामी र पश्चगामी अनि न्यायपूर्ण र अन्यायपूर्णसँग कुनै सरोकार छैन । यही रवैया र स्कुलिङको कारण आम मतदाताहरूमा पनि सिद्धान्त, विचार, एजेण्डा, कार्यदिशा र कार्यक्रमहरूको सवालमा चिन्तन्–मनन् गर्ने प्रवृत्ति लगभग हराउँदै गएको छ । सिद्धान्त, आदर्श, इमान्दारिता र त्याग बलीदानी भावहरू बिलाउँदै गएको छ । परिणामतः मतदाताहरू पनि निहीत स्वार्थको लागि एकाएक भ्रष्ट मानसिकताद्वारा ग्रसित छन् भने पार्टी र नेताहरूलाई पनि भ्रष्ट बनाइरहेका छन् अर्थात् पार्टी, नेता र मतदाताहरूबीच स्वार्थ मिले सारा संसार उज्यालो र सारा भीर पहराहरू समथर देख्ने स्वार्थी दृष्टिदोष मौलाइरहेको छ । यता दोहोरो स्वार्थ नमिले सहीलाई गलत, राम्रोलाई नराम्रो, अग्रगामीलाई पश्चगामी अनि समथर धरातललाई पनि भिरालो देख्ने निहीत स्वार्थी नजर बढिरहेको छ ।
यसकारण हाम्रो राष्ट्रिय राजनीति यस्तै निहीत स्वार्थी नजरद्वारा निर्देशित भइरहेको छ । मुलुक हाँक्ने पार्टी तथा नेताहरू र उनीहरूलाई सत्ता र शक्तिमा पु¥याउने मतदाताहरू दुवै पक्ष नै अलि बढी स्वार्थी अनि अलि बढी आत्मकेन्द्रित व्यक्तिवादी बन्दैगइरहेको छ । किनभने आप्mनो काम गरिदिएको छ भने खराब पार्टी र नेता पनि उनीहरूको नजरमा राम्रो हुन्छ । अर्थात् सही र गलत पनि स्वार्थद्वारा निर्देशित भइरहेको छ । यो कदापि राम्रो होइन । यसले सिद्धान्त, नीति, पद्दति र प्रणालीलाई सम्मान गर्दैन । तब सिङ्गो राजनीति दोहोरो स्वार्थको दलदलमा नराम्ररी फस्दछ । आज हामीसामु आदर्श र मूल्यका राजनीति खस्कँदै जानु र औसत चाकाचुलीगत खुटकीलो मिलाएर स्वार्थ सिद्धीको भ¥याङ चढ्नु प्रतिष्ठा र सफलताको विषय वन्दैगइरहेकोछ । यसले विचार र एजेण्डाहरुलाई नजरअन्दाज गर्दछ हातहाती स्वार्थको तौल अनुरुप समर्थन र विरोधको पारो तन्कीने गर्दछ । यसो भएपछि वस्तुगत आयामभन्दा पनि औसत मन छुने भावनाजन्य र भाइरलजन्य कार्यक्रम र कार्ययोजनाहरू हाबी हुन जान्छ । यसैको परिधिमा सिङ्गो राजनीतिले गोलचक्कर मारिरहन्छ जुन सच्चाई आज हामीले भोगिरहेका छौं ।
तव यस्तो औसत अर्थराजनीतिमा वस्तुवादी र स्पष्ट विचार, कार्यदिशा, कार्यक्रम र कार्ययोजना जरुरी हुँदैन । आन्दोलन र गन्तव्यको उद्देश्यगत खाका आवश्यक पर्दैन । मुलुक हाँक्ने स्पष्ट मार्गचित्र कोर्नु पर्दैन । न्याय(अन्याय, अग्रगामी–पश्चगामी, सही–गलत अनि इमान्दार र बेइमान नाप्ने तराजुको औचित्य रहँदैन । उत्पादनमूलक र अनुत्पादनमूलक अनि वस्तुवादी र हावादारी सबैलाई एउटै गोलमटोल फुर्लुङमा कोच्ने गरिन्छ । यसले आम मतदाताहरूमा झनै विभ्रमहरू पैदा गर्दछ । सबै उस्तै भन्ने जबरजस्त भाष्य बन्दछ, जुन आज हामीले देखिभोगिरहेकै छौैं । सारमा भन्दा पनि रूपमा व्यवहारमा भन्दा पनि आडम्बरमा समाधन खोज्ने मनोवैज्ञानिक संस्कृतिले घर गर्दछ । सिङ्गो समाजमा विषयवस्तु वा एजेण्डाहरूमा भन्दा पनि औसत हल्ला–खल्ला र मिडिया स्टण्टबाजीजन्य मालहरू मात्रै बिक्री हुन थाल्दछ । यस्तो माल उत्पादनमा स्पष्ट विचार र दृष्टिकोण केही जरुरी हुँदैन । यसलाई डिजीटल संसारले निर्देश गरेको सञ्चारको साधन भए पुग्छ । नयाँ–नयाँ र चित्र–विचित्रको नाटकहरू मञ्चन गरे हुन्छ । डिजिटल दर्शक र पाठकहरू धेरै छन् । यस्तै औसत दैनिकीमा राजनीति गर्नेले राजनैतिक स्वार्थ पूर्ति गरिरहेका छन् भने मतदाताहरूले पनि उनीहरूलाई यो वा त्यो माग राख्दै आप्mनो स्वार्थको गुरुत्वकेन्द्र सुरक्षित गरिरहेका छन् ।
यस्तो वस्तुगत अर्थराजनीतिक धरातलमा चुनाव लक्षित कार्यक्रमहरू हावी हुन्छ । चुनावभन्दा अरू संसार नै हुँदैन । जित्ने र जिताउने रणनैतिक स्वार्थको सपनारूपी आकाशमा सुख र समृद्धिका महलहरू बनाउने गरिन्छ । उपभोगवादी मतदाताहरूको भोगविलासी र सुखी जिन्दगीको स्वर्गमार्गी भ¥याङहरू निर्माण गरिन्छ अर्थात् खाइहाल्ने, लाइहाल्ने, गुडीजाने, उडीजाने अनि दृश्यपान गरिहाल्ने रमिते टावरहरू खडा गरिन्छ । यस्तै औसत गतिविधिहरू नै राजनैतिक स्वार्थसिद्धिको लागि फलदायी माध्यम बन्दछ । तब अघिल्लो आवधिक चुनाव सकिँदा–नसकिँदै अर्को आवधिक चुनावको गुरुयोजना बुन्न थालिन्छ । यही मेसो वा स्वार्थमा मिसन–८४ र मिसन–८९ जस्ता कार्यक्रमहरू तय गरिन्छ । यही मेसोमा भ्रष्टाचार विरोधी अभियान छेडिन्छ । बेथिति र विसङ्गतिविरुद्ध शून्यसहनशीलताको नीति लिइन्छ । बिग्रेको, भत्केको वा बिगारेको वा भत्काएको सबै देखिन्छ । आफू, आफन्त र आप्mनो पार्टी, समुदाय सबै सही अरू सबै गलत र काम नलाग्ने भन्दै हिँडिन्छ । गालीगलौज र आरोप–प्रत्यारोपमा उत्रिइन्छ । अर्थात् गल्ती जति सबै अरूको सही मात्रै आप्mनो वा आप्mनो दलको भन्ने मान्यता स्थापित गरिन्छ । अरूले केही गर्न सक्दैन, आफू भए जे पनि गर्न सक्षम भन्ने बनीबनाउ भाष्य पढ्न लगाइन्छ । यस्तै निकृष्ट गालीले नै चुनावी बजार तताउँदै आएको छ ।
यही सिलसिलामा भ्रष्टाचार विरोधी कार्यक्रमहरूको खाका कोरिन्छ । विसङ्गति र बेथितिविरुद्ध आन्दोलनको रूपरेखा तयार गरिन्छ । राजमार्गमा आधारित कार्यक्रमहरू तय गरिन्छ । मेची–काली र हिमाल तराईलाई जोड्ने रसायनहरू खोजिन्छ । रूपान्तरण अभियानहरू चलाइन्छ । मिसन–८४ को संज्ञा दिइन्छ । अर्थात् सरल भाषामा भन्ने हो भन्ने विभिन्न बहाना र नाममा नेपालव्यापी सामूहिक वा संस्थागत घुमघामको कार्यक्रम बनाइन्छ । व्यवहारतः घुमघाम उस्तै हो । तर, यस्तो स्वार्थगत घुमघामलाई अभियान वा आन्दोलन पदावलीले सम्बोधन गर्ने गरिन्छ । बस् फरक यत्ति हो । यसमा मिडियाबाजी, हल्ला–खल्ला र प्रचारबाजी आवश्यकताभन्दा बढी नै गरिन्छ । कुराकै तान, कुराकै धागो, कुराकै सीप अनि कुराकै जनशक्तिद्वारा कुराकै कपडा बुनेर हिउँद–वर्षा सधैँ ओढिन्छ वा लगाइन्छ । संसदीय चुनावमा आधारित नेपाली राजनीतिमा यस्ता तानाबाना बुन्ने काम नयाँ होइन ।
त्यसैले कसैले मिशन ८४ र मिशन ७९ जस्ता सपना देख्नु राम्रो कुरा हो । यसमा हामीले टाउको दुखाउनु जरुरी हुँदैन । उनीहरूले देखेको सपना अनुरूप चुनावमा विजयी होलान् वा बहुमत पनि ल्याउलान् । कुनै अमुक पार्टी वा नेताले चुनावमा बाजी मार्ने कुरा नयाँ सवाल होइन । यो त चुनावी प्रक्रिया आरम्भ भएयता धेरै पार्टी वा नेताहरूले चुनाव जितिसकेका छन् । सरकार पनि पटक–पटक चलाइसकेका छन् । आरम्भमा नयाँ जोगीले पुरानो जोगीलाई गाली गर्छन् । गालीकै कलात्मक अभिनयद्वारा बहकिएको र बरालिएका मतदाताहरूलाई लट्याउँछन् अनि सरकारी पहुँचमा पुग्छन् । अब त नयाँ साधुहरू पनि पुराना भइसके । हिजोको नयाँलाई आजको नयाँले विस्थापित गरिरहेका छन् । आजको नयाँलाई भोलिको नयाँले लखेट्नेछन् । अरू नयाँ जोगीहरू पनि पुरानो वा अनुभवी हुने प्रक्रियामा जन्मिरहेका छन् । राज्य रहेसम्म संसदीय अर्थराजनैतिक प्रणालीमा जोगी बदलिने क्रम जारी रहन्छ ।
तसर्थ, चुनावकेन्द्रित अभियान प्रधान कुरा होइन । मिसन–८४ र मिसन–७९ कुनै नयाँ विषय र नयाँ समाधान पनि होइन । नेपालमा चुनावी राजनीतिको लामो इतिहास छ । अर्थात् चुनावले धेरै पुस्ता गुजारिसकेको छ । विगत इतिहासलाई नियाल्दा कुनै एउटा अमुक चुनाव नै सवै समस्याको रामवाण अश्त्र भएको देखिँदैन । यो इतिहाससिद्ध तथ्य हो । त्यसैले मिसन–८४ जस्ता अभियानको दूरगामी राजनैतिक महŒव छैन । चुनाव आउँछ, जान्छ । यसले कुनै अमुक पार्टी र नेताहरूलाई जिताउला अनि सरकार पनि बनाउला । तर, यस्तै औसत निरन्तरताको सरकारले समस्याहरूको वस्तुवादी समाधान दिन्छ भन्ने आधार छैन । बरू यस्तो दिग्भ्रममा फस्नुभन्दा विकृत र विसङ्गतिपूर्ण राजनैतिक प्रणालीको उन्नत विकल्पबारे बहस गर्नु बुद्धिमानी हुन्छ । सबैलाई चेतना होस् ।