धरान । विगतका वर्षहरूको तुलनामा यस वर्ष (अम्लिसो) को भाउ बढेपछि किसानहरू उत्साहित भएका छन् ।
धरानस्थित कृषिउपज बजारका अनुसार यस वर्ष अम्लिसो प्रतिकिलो १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । गतवर्ष यही समयमा प्रतिकेजी १ सय रुपैयाँमा बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । पछिल्लो समय पूर्वी पहाडीभेगका धेरै कृषक नगदेबाली छाडेर व्यावसायिक रूपमा अम्लिसो खेतीमा आकर्षित भएका छन् ।
अम्लिसोको कुचोबाट राम्रो आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । एक वर्षमा एकपटक उत्पादन हुने अम्लिसो तराईको बजारमा सजिलै बिक्री हुने भएकोले धेरैजसो किसानहरू यस खेतीतर्फ आकर्षित हुन थालेको अम्लिसो खेती गर्दै आएका धनकुटाका कृषक दिनेश राईले बताए । उनले भने, ‘एक सिजनमा करिब १५ देखि २० क्विन्टलसम्म अम्लिसो बिक्री गर्दै आएको छु ।’
कुनै सयम बिक्री नभएर गाईवस्तुकोे आहारा बन्ने अम्लिसो अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, सुनसरी र पूर्वी पहाडीभेगका धेरै किसानहरूले मकै, कोदो उत्पादन हुने खेती मासेर अम्लिसो खेती गर्न थालेका छन् । ओरालो र भिरालो ठाउँमा राम्रो उत्पादन हुने अम्लिसोबाट राम्रो आम्दानी लिन थालेको उनी बताउँछन् । धनकुटाका व्यापारी राजकुमार राईले भने, ‘केही समयअगाडि प्रतिकेजी ९० देखि १ सय रुपैयाँसम्म मूल्य रहेको अम्लिसो अहिले बढेर १ सय ५० पुगेको छ ।’ उत्पादन कम भएकाले भारतबाट अत्यधिक माग आइरहेको छ ।
केही किसानले पहिलेकै कुचो बेच्ने गरेकाले भाउ कम हुने गरेको व्यवसायी राईको भनाइ छ । ‘कुचो जुन सालको हो । त्यही साल नै बेचिसक्नुपर्छ । अर्को साल पर्खियो भने गुणस्तरहीन हुन्छ’–उनले भने । भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को साल बेच्ने गरेका कारण भाउ नपाउने उनको भनाइ छ ।
यस वर्ष भने भाउ उल्लेखनीय भएकाले किसान खुसी छन् । अम्लिसोको मूल्य बढेकाले धनकुटाका राईले यसवर्ष बारीकोे सबै अम्लिसो निकालेर बेच्न सुरु गरेको बताए । अम्लिसोको मूल्य घटबढ हुने भएकोले यसवर्ष चाँडै बेच्न हतारिएको पनि उनले बताए । अम्लिसो रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुन थाल्ने र हेरचाह गर्न पनि खासै मिहिनेत गर्नु नपर्ने भएकाले किसानहरू अम्लिसो खेतीतर्फ आकर्षित भएका छन् ।
थोरै लगानी र कम खर्चमा धेरै आम्दानी हुन थालेपछि एक जना कृषकले धेरै क्षेत्रफलमा अम्लिसो खेती गर्न थालेका छन् । पूर्वी पहाडी जिल्लामा उत्पादित अम्लिसोको ७० प्रतिशत व्यापार भारततिर हुने गरेको छ । अम्लिसोको मुख्य सिजन पुसबाट भए पनि यो वर्ष अम्लिसोले उच्च मूल्य पाएकै कारण किसानहरूले अगाडिदेखि नै गाडीमा लोड गरेर धरानको कृषि बजारसम्म अम्लिसो ल्याउने गरेको व्यवस्थापक भट्टराईले बताए ।
‘अम्लिसोलाई प्रशोधन गरेर पठाउन सके अझ राम्रो हुन्छ, व्यवस्थापन आधुनिकीकरण गर्नसके नेपालमै रोजगारीको सिर्जनासमेत गर्न सकिन्छ’–उनले भने । भारतीय व्यवसायी आफै यहाँ आएर अम्लिसो लाने गरेको पनि उनले बताए । धेरैजसो अम्लिसो जाने भनेको मुठा र भारी हो । यहाँबाट वर्षमा ४० देखि ४५ मेट्रिक टनसम्म बिक्री हुने गरेको व्यवस्थापक भट्टराईले बताए । भारतबाट उच्च माग भएकाले पनि यस वर्ष कुचोको भाउ अझै बढ्न सक्ने उनको अनुमान छ ।