विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन गरिनुपर्ने यहाँका स्थानीय राजनैतिक दलहरूले माग राखेका छन् ।
अवैज्ञानिक तरिकाले बढाएको कर समायोजन नगरे आन्दोलनमा उत्रिने उनीहरूले चेतावनीसमेत दिएका छन् । बढाएको करको दर पुस १५ गतेभित्रमा समायोजन नगरे आन्दोलनमा उत्रिने यहाँका राजनैतिक दलहरूले विराटचोकमा बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।
आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले जग्गा वर्गीकरणको नाममा एक सय प्रतिशत बढी कर बढाएको सुन्दर हरैँचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले बताए । खेती किसानी गरेर आफ्नो दैनिकी चलाउनेलाई करको दर उच्च भएको कारणले उनीहरूलाई समस्या परेको उनले बताए । ‘आर्थिक अवस्था टाट पल्टिएको अवस्थामा नगरपालिकाले नगरबासीको ढाड सेक्ने गरी कर बोकाएको छ’ उनले भने, ‘त्यो पनि अवैज्ञानिक तरिकाले कर बढाएको छ । तत्काल बढाएको कर समायोजन गरिनुपर्दछ ।’
स्थानीय उद्योगी व्यवसायीदेखि सर्वसाधारणसम्मले करवृद्धिको विरोध गर्दै तत्काल समायोजन गर्न माग गरेका छन् । करको दर बढेपछि सबै क्षेत्रलाई समस्या परेको नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी राष्ट्रिय स्वतन्त्र पार्टी, जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी सुन्दरहरैँचा, सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घ, सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घले विरोध जनाएका छन् । ‘हरेक क्षेत्रमा कर वृद्धि गरिएको छ’ माओवादी केन्द्र सुन्दरहरैँचा नगरपालिका अध्यक्ष दुष्यान्त भट्टराईले भने, ‘राजस्व परामर्श समितिको बैठकमा आफूहरूले करवृद्धि नगर्न सुझाव दिए पनि बेवास्ता गर्दै नगरपालिकाले एकलौटी ढङ्गले करवृद्धि गरेको छ । यो तत्काल सच्याइनुपर्छ, नत्र आन्दोलनमा उत्रन बाध्य हुनेछौँ ।’
कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०८०/०८१ बाट लागू हुने गरी जग्गा वर्गीकरणलगायतका विभिन्न शीर्षकहरूमा नगरपालिकाले कर वृद्धि गरेको थियो । स्थानीय र राजनैतिक दलको चौतर्फी विरोध भएपछि नगरपालिकाले कार्यदल गठन गरेको छ । सुन्दरहरैंचा नगरपालिका–१२ का वडाध्यक्ष रोशनप्रसाद ढकालको नेतृत्वमा सात सदस्यीय रहेको कार्यदल गठन भएको नगरप्रमुख केदारप्रसाद गुरागाईंले बताए । ‘सामान्यता दश प्रतिशतसम्म कर बढाउन पाइन्छ । त्यहीअनुसार हामीले बढाएका हौँ । अहिले कार्यदल पनि गठन भएको छ । कार्यदलले दिएको प्रतिवेदनको आधारमा समायोजन गरिनुपर्ने देखियो भने कार्यपालिकामा लगिन्छ । त्यही बैठकबाट आवश्यक निर्णय गरिनेछ’ उनले भने, ‘अहिले समय सापेक्ष रूपमा कर बढाइएको छ ।’
नगरप्रमुख गुरागाईंंमाथि १५ आरोप
यहाँका प्रमुख ६ वटा राजनैतिक दल र उद्योग वाणिज्य सङ्घहरूले सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंमाथि १५ आरोप लगाएका छन् । उनीहरूले पत्रकार सम्मेलन गरी विभिन्न १५ आरोप लगाएका हुन् । उनीहरूले सुन्दरहरैँचा–५ मा रहेको फुटबल ग्राउण्डलाई नगरस्तरीय खेलमैदानको रूपमा विकास गर्न तथा संरक्षण गर्न कुनै पहल नगरिएको बताएका छन् । उक्त खेलमैदान अतिक्रमण हुँदासमेत नगरपालिका बेखबर रहेको बताएका छन् ।
यसैगरी साविक सर्वदलीय संयन्त्र हँुदै नगरपालिकाले सुरक्षा गरिराखेको वडा सुन्दरहरैंचा–१० मा रहेको चार बिघा १६ कठ्ठा जग्गाको व्यवस्थापन र सदुपयोग गर्नुपर्नेमा नगरप्रमुखले एकलौटी निर्णय गरी सशस्त्र प्रहरी विद्यालय खोल्न दिने प्रयास भएको छ । जुन कार्य सरासर गलत रहेको उनीहरूले बताए । सामुदायिक विद्यालयको विकासमा ठोस कदम र नीति नगरपालिकाबाट नबनाई शिक्षालाई पार्टीकरण गर्ने प्रयास भएको उनीहरूको आरोप छ । त्यस्तै इन्द्रपुर रङ्गशाला तथा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि घेराबारा सुरु गरिएको १९ बिघा ७ कठ्ठा जग्गा विभिन्न नाममा मिचिएकोमा नगरपालिकाले संरक्षणका लागि कुनै चासो नदिएको तथा रङ्गशाला निर्माण गर्न पहल नगरेकोले नगरपालिकाको नेतृत्व असक्षम सावित भएको बताइएको छ । नगरपालिकाभित्रको खोला–नालाको नियोजितरूपमा ठेक्का नलगाई अमानतमा कर उठाउने बहानामा करोडाँै भ्रष्टाचार गरिएको उनीहरूको आरोप छ ।
नगर प्रमुखले भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका लागि कुनै पहल नगरेको साथै सुरु भएको नापजाँच, निस्सा वितरण कार्यसमेत रोकी मुकदर्शक बनेको, पूर्वाञ्चल विश्वविद्यालयमा अस्पताल सञ्चालन तथा मेडिकल कलेज स्थापनाका लागि स्थानीय तहको तर्फबाट गर्नुपर्ने न्यूनतम् कार्यसमेत नगरेको उनीहरूको भनाइ छ । निर्माणाधीन हसिना सिमसारको कार्य अलपत्र पारेको साथै बाघझोडा सिमसार क्षेत्र, किच्चकेगडी, नयाँ वृन्दावन गौशालाजस्ता पर्यटकीय क्षेत्रमा आवश्यक बजेट व्यवस्थापन गर्नुको साटो अपारदर्शी ढङ्गले वडाध्यक्षहरूसमेतलाई कुनै जानकारी नदिई काम गर्ने गरेको साथै वडाहरूमा बजेट विनियोजन गर्दा असमान ढङ्गले वितरण गर्ने गरेको उनीहरूको भनाइ छ ।
नगरप्रमुख गुरागाईंलाई लगाएको आरोप पत्रमा नेपाली काङ्ग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला, माओवादी केन्द्रका नगरअध्यक्ष दुष्यान्त भट्टराई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तिलकप्रसाद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरहरैँचाका सभापति टेकमणि न्यौपाने (विवेक), जनमुक्ति पार्टीका जिल्ला उपाध्यक्ष पुरन राई, जनता समाजवादी पार्टी नगर अध्यक्ष शङ्कर देवान, सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद रिजाल र सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।