सडक विस्तारमा असमान मापदण्ड कायम गरेको  भन्दै वराहक्षेत्र नगरपालिकाको निर्णय विरुद्ध अनसनरत स्थानीयले पाँच दिनपछि सहमति गरेका छन् । उनीहरुले घोषणा गरेको आमरण अनसन स्थगित भएको छ ।

सडक विस्तारका नाममा वराहक्षेत्र-६ स्थित चक्रघट्टीको मुख्यबजार (सडकको पूर्वदेखि पश्चिम नालादेखि नालादेखि नालासम्म) ६५ फुटदेखि अधिक्तम ८३ फुट अधिग्रहण गर्ने निर्णयबाट नगर प्रमुख पछि हटेका छन् । उनले आमरण अनसन बसेका नगरिकलाई १ इन्च पनि पछि नहट्ने अभिव्यक्ति दिंदै आएका थिए । तर उनले सहमतिका लागि ११ फुट पछि हट्ने समझदारी गरेका छन् ।

नगरपालिकासँग तीन बुँदे समझदारीपछि अनसनकारी तीर्थराज लुइँटेल, नवराज गौतम नवीन र रिना खड्का नेपालले अनसन स्थगित गरेका हुन् । नगर प्रमुख रमेश कार्कीले उनीहरुलाई जुस पिलाएर अनसन तोड्न आग्रह गरे ।

स्थानीय नगरिक समाज, पत्रकारलगायतको रोहबरमा अनसनकारी र नगरपालिकाबीच दुई पक्षीय सहमति भएको हो । लिखित समझदारीपत्रमा अनसनमा रहेका व्यक्तिले तत्काल अनसन तोडी सामान्य जीवनमा फर्किने, बराहक्षेत्र नगरपालिकाले सडक विस्तार गर्ने क्रममा वडा नं ६ स्थित महेन्द्रगेटदेखि लोकेन्द्रबहादुर कार्कीको घरसम्म नालादेखि नाला कायम गर्ने र बराहक्षेत्र नगरपालिका वडा नं ६ स्थित लोकेन्द्रबहादुर कार्कीको घरदेखि केदार नेपालको घर (मुनाल चौक) सम्म सडक ७२ फिट कायम गर्ने सहमति भएको छ ।
(समझदारीपत्र हेर्नुस्)
samajhadari patra barahakshetra

स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, प्रहरी प्रशासन सम्मिलित तेस्रो चरणको छलफलपछि नगर प्रमुखले समझदारी गर्ने निर्णय गरेका हुन् ।

यसअघि नगरपालिकाले अवैज्ञानिक सडक विस्तार गरेको भन्दै पाँच दिनदेखि पीडित अनसनमा बसेका थिए ।

अनसनकारीले बराहक्षेत्रको सडक विस्तार योजना स्वेच्छाचारी भएको भन्दै समानमापदण्ड लागू गर्न माग गरेका थिए । अनसनकारीमध्ये प्रोस्टेड र मधुमेहका रोगी ६८ वर्षीय तीर्थराज लुइँटेलको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।

नगर प्रमुख रमेश कार्कीले आफूले कायम गरेको मापदण्डमा एक इन्च पनि तलमाथि नहुने बताउँदै आएका थिए । तर, यसअघि निर्वाचित स्थानीय सरकारले नगरको मुख्य सडकको क्षेत्राधिकार ६० फिट तोकी स्थानीय राजपत्रमा प्रकाशित गरेको थियो । नगरले आधिकारिक नाला निर्माण नै नगरी स्थानीयले निजी प्रयोजनका लागि पानी पटाउन घरभित्र निर्माण गरेको कुलोलाई नाला कायम गरी संरचना हटाउने निर्णय गरेको थियो ।

नगरपालिकाले स्मार्टसिटी निर्माणका लागि संरचना हटाउन दिएको समय अब १ दिन बाँकी छ ।