विषय प्रवेशः
धनकुटामा केपी ओलीमाथि थप्पडे आक्रमण भएको दुई हप्ता पनि नबित्दै  पोखरामा रवि लामिछानेमाथि खोये आक्रमण भएको छ । यसलाई केही वर्षअघि झलनाथ र प्रचण्डमाथि भएको जुत्ते आक्रमणकै निरन्तरता हो भनेर विश्लेषण गर्न सकिन्छ । तर, यहाँ विषय विश्लेषण र व्याख्याको मात्र छैन । सवाल  वर्तमान विश्व अर्थराजनीति र त्यसले नेपाललगायतका विश्व समाजको सांस्कृतिक तथा मनोवैज्ञानिक आयाममा पारेको नकारात्मक प्रभाव असाध्यै संवेदनशील देखिन्छ । स्वभावतः यस्ता घटनाहरूले विरोधीहरूलाई खुसी र समर्थकहरूलाई दुःखी बनाउँछ । तर, यसको प्रभाव तपाईं हामी सुखी–दुःखी हुने वस्तुगत सच्चाइमा मात्र सीमित छैन । मूलतः यस्ता घटनाहरू किन र कसरी घटिरहेका छन् ? यो चाहिँ सर्वाधिक गम्भीर र विचारणीय पक्ष हो, जसमा सबै सरोकारवालाहरू जिम्मेवार बन्न जरुरी देखिन्छ ।

यहाँ सरोकारवाला भन्नाले आक्रमण गर्ने र आक्रमण गरिमाग्ने दुवै पक्षहरूलाई प्रतिनिधि पक्षको रूपमा उभ्याउने प्रयास गरिएको छ । आक्रमण गरिमाग्ने अन्तर्गत सिङ्गो पार्टी, नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू पर्दछ भने आक्रमण गर्नेमा सिङ्गो मतदाताहरू पर्दछ । यसलाई नितान्त प्रतिनिधि घटनाहरूको रूपमा ग्रहण गर्दै यसको नकारात्मक प्रभावबारे हामी सबै गम्भीर बन्न र रूपान्तरित हुन अनिवार्य देखिन्छ । यो अरूलाई पर्दा खुच्चिङ गर्ने र आफूलाई पर्दा निराश हुने मात्र सवाल होइन । यो अर्थराजनीतिक सांस्कृतिक सत्ता र जीवन–व्यवहारसँग जोडिएको विषय हो । यही सांस्कृतिक प्रवृत्ति कायम रहे अरू कैयौं पार्टी, नेता, कार्यकर्ता र स्वतन्त्रहरू पनि यसको शिकार भई नै रहने निश्चित छ । तसर्थ सबै सरोकारवालाहरूले यसको वस्तुवादी कारणबारे अनुसन्धान गरेर समाधान खोज्नु आजको अहम् कार्यभार बनेको देखिन्छ ।

दलाल पुँजीवादी वैचारिकीः
पछिल्लो विश्वदृष्टिकोण अन्तर्गत दलाल पुँजीवादी वैचारिकी हावी देखिन्छ । अर्थात् आजको विश्व–अर्थराजनीति दलाल पुँजीवादी उत्पादन पद्दतिद्वारा निर्देशित रहेको छ । यसले राष्ट्रिय आत्मनिर्भर उत्पादन पद्दतिलाई निरुत्साहित गर्दछ । बजारले एकाधिकारसँगै भूमण्डलीकृत चरित्र ग्रहण गरेको हुन्छ । तब सिङ्गो विश्व मानव समाज बहुराष्ट्रिय कम्पनीहरूले उत्पादन गरेको माल बिक्री र उपभोक्ता गृह बन्न पुग्दछ । सांस्कृतिक लहर, मनोविज्ञान, फेसन, स्वाद र आर्थिक अवस्था हेरेर खालखालका मालहरू उत्पादन गरिन्छ, जसले उनीहरूलाई योजनाबद्ध र  निरपेक्षरूपमा परनिर्भर बनाउने गर्दछ । त्यतिमात्र होइन, सिर्जनशीलता, क्रियाशीलता र उद्यमशीलताहरू मारिरहेको हुन्छ । यद्यपि दलाल पुँजीवादले कसैको उद्यमशीलता मार्दैछु भनेर कहिल्यै घोषणा भने गर्दैन । बरू उल्टै उद्यम र व्यवसायको लागि आह्वान गर्दछ । किनभने आर्थिक उत्पादनको भूमण्डलीकृत एकाधिकारवादी चरित्रले नेतृत्व गरिरहेको अर्थराजनीतिमा सानातिना उत्पादकहरू धरासायी हुन्छन् भन्ने उनीहरूलाई राम्रो ज्ञान छ । प्रतिस्पर्धा गर्न सक्दैन र आपैm पतन हुन्छ भन्नेमा उनीहरू स्पष्ट छन् ।

यस्तो वस्तुगत अर्थराजनीतिक धरातलमा श्रम, सिर्जना र स्वाभिमानहरू हराउँदै जान्छ । कसैले श्रम र सिर्जनाको कुरा गरे पनि त्यो केवल, ढोङ्ग, मिडिया स्टन्टबाजी र चुनावी मसलाको लागि मात्र गरिन्छ । तब श्रममा आधारित सिर्जनशीलता र उद्यमशीलता बिलाउँदै जान्छ । आम मतदाताहरू उपभोगवादी संस्कृतिको दलदलमा नराम्री फस्न पुग्दछ । रमिते डाँडा वा दृश्यघरहरू विना बाँच्नै नसक्ने हुन्छन् । उनीहरू नितान्त भाते, स्वादे, ऐश आराम र मनोरञ्जनमुखी बन्दैजान्छन् । राजनैतिक सचेतना र वैचारिकी लगभग शुन्य हुन्छ । तब सही र गलत पहिचान गर्ने सचेतना कमजोर हुन्छ । जता पनि बहकिने र बरालिने अवस्थामा पुग्छन् । सबै मतदाताहरू वस्तु, सत्ता र व्यक्तिप्रति आलोचनात्मक हुँदैनन् । सिर्जनशील विरोधभन्दा पनि निरपेक्ष निषेध र निरपेक्ष समर्थनको सहारा लिन थाल्छन्, जसले उनीहरूलाई लगभग अराजकता र विवेकशून्यताको पराकाष्ठामा पु¥याउँछन् । वस्तुवादीभन्दा पनि नितान्त मनोगत र अधिभूतवादी बन्न पुग्दछ, जसलाई एक सुता बाङ्गो–टिङ्गो पनि स्वीकार्य हुँदैन अनि सनक र लहडमा बरालिँदै जाँदा अराजक बन्न पुग्दछ । यही बहकाइको सेरोफेरो अन्तर्गत ठड्याइएको विचारशून्यताको खाली घरमा जुत्ता र झापडले डेरा जमाउन पुग्दछ ।

पार्टी वा नेताप्रतिको वितृष्णाः

यसरी दलाल पुँजीवादद्वारा निर्देशित समाजमा सापेक्ष वस्तुवादी आशा–अपेक्षाभन्दा पनि निरपेक्ष अधिभूतवादी र उपभोगवादी अपेक्षाहरू उत्कर्षमा पुग्ने गर्दछ । उनीहरूले रातारात भौतिक ता सांस्कृतिक विकासको अपेक्षाहरू गर्ने गर्दछ, जुन वैभव अमेरिका वा वेलायत जाँदा देखेको, सुनेको र पढेको हुनुपर्दछ । यही मेसोमा सरकार, पार्टी र नेताहरूले मतदाताहरूको चाहना अनुरूप कार्यसम्पादन गर्न सक्दैनन् । तब उनीहरूप्रति चरम् वितृष्णा जाग्ने गर्दछ । आजको नेपाली समाजमा वैचारिक राजनीतिक दृष्टिकोणको आधारमा समर्थन र विरोध गर्ने संस्कृति लगभग विघटनको अवस्थामा पुगेको छ । आप्mनो निहीत स्वार्थ पूरा भए समर्थन र नभए विरोधको गलत संस्कृति मौलाइरहेको छ । यसले गलतलाई सही र सहीलाई गलत सावित गरिदिने परिबन्ध बनिरहेको छ । तब स्वार्थकै फेरोमा गलत र सहीको लक्ष्मणरेखा निर्धारण हुने गर्दछ । 

अर्कोतिर पार्टी, नेता र कार्यकर्ताहरूले पनि चुनाव जित्नको लागि पुग्ने–नपुग्ने, सकिने–नसकिने अनि वस्तुवादी–अवस्तुवादी सबैखाले सस्तो वाचा–कसमहरू खाने गर्दछ । लोकरिझाइको लागि उनीहरूले यस्ता प्रतिबद्धताहरू गर्ने गर्दछन्, जुन वस्तुतः धरातलीय यथार्थभन्दा धेरै टाढा हुन्छ । नेपाली समाजको वस्तुवादी अनुसन्धान गरेर तथ्यमा आधारित तथ्याङ्क र गुरुयोजनासहित गरिएका वाचाहरू मात्र कार्यान्वयन गर्न सकिन्छ । अन्यथा त्यस्ता प्रतिबद्धताहरू केवल चुनावी मसला मात्र बन्न पुग्दछ । यसकारण पछिल्लो समय जसरी पनि चुनाव जित्ने नाममा सस्तो वाचा कसम र सपनाहरू असाध्यैनै बढी बाँड्न थालिएको छ । त्यति मात्र होइन, पार्टी र नेताहरूले राजनीतिलाई विशुद्ध स्वयम्सेवाको रूपमा व्यवहारतः ग्रहण गर्न सकिरहेको देखिँदैन । यसलाई पद, प्रतिष्ठा, पावर र पैसा आर्जन गर्ने फलदायी पेशा–व्यवसाय बनाइरहेका छन् । परिणातः मतदाताहरूमा चरम् वितृष्णा र विरोधका स्वरहरूले घर गरिरहेको छ । यही सिलसिलामा जुत्ता, थप्पड र खोया कारबाही अघि बढेको अनुमान गर्न सकिन्छ ।

नकारात्मकता र गालीद्वारा निर्देशित समाजः
वस्तुतः दलाल पुँजीवादले नेतृत्व गरिरहेको समाजमा आलोचनात्मक सचेतना, सैद्धान्तिक सचेतना, विवेक र अनुशासन हुँदैन । निश्चित विचार, सिद्धान्त र दृष्टिकोणहरूको खुल्ला र स्पष्ट बहस छलफलद्वारा मौलिक वैचारिकी निर्धारण गरिँदैन । सकारात्मक र नकारात्मक आयामहरूलाई विचार र राजनीतिले नेतृत्व गरिरहेको हुँदैन । सही र गलतको सीमारेखा निर्धारण वस्तुवादी मूल्याङ्कन र तथ्याङ्कमा आधारित हुँदैन । सिङ्गो समाज वा मतदाताहरू विचार, सिद्धान्त र दृष्टिकोणको लगाम विना बहकिने, बरालिने र भड्किने गर्दछ । तब त्यहाँ बरालाइ र बहकाइको कुनै सीमारेखा हुँदैन । जसलाई जति मन लाग्छ, त्यति बहकिने र बरालिने क्रम बढ्दै जान्छ । यसैमा भविष्य देख्ने दृष्टिदोष पैदा हुने गर्दछ ।

 यही वस्तुगत परिवेशमा पार्टी, नेता वा वस्तुप्रति आम मतदाताहरूको निरपेक्ष नकारात्मक धारणा बन्न जान्छ । अरूको नकारात्मकतामा आप्mनो सफलता खोज्ने परिपाटी महामारीकै रूपमा फैलिने गर्दछ । अरूलाई गालीगलौज गरेर वा खुइल्याएर बनाइएको समथर धरातलमा आफ्नो भविष्य देख्ने गलत परम्परा मौलाइरहेको छ । नयाँ कार्यदिशा, कार्यक्रम, काययोजना पेश गरेर नयाँ वा पृथक् बन्ने संस्कृति छैन ।  यहाँ अरूको गल्ती देखेर वा देखाइदिएर आफू महान् बुद्ध बन्ने सपना बाँड्ने गरिन्छ । अद्भूत, अनौठो र चमत्कारिकताको बिल्ला भिर्ने गरिन्छ । यस्तो सामाजिक भाष्यमा कसैले कसैलाई खुइल्याइदिए हुन्थ्यो, गाली गरिदिए हुन्थ्यो । अनि आलोचना गरिदिए हुन्थ्यो भन्ने बनीबनाउ उद्देश्य राखिन्छ । तब आप्mनो पालो आउँथ्यो वा आप्mनो स्वार्थ पूरा हुनेथियो भन्ने निकृष्ट स्वार्थ बोक्ने गरिन्छ । यही मेसोमा जुत्ते, थप्पडे र खोये कारबाहीहरू तय हुने गर्दछ । कोही रमाउने र कोही दुखाउने गर्दछ ।

सैद्धान्तिक वैचारिकीको अभावः
दलाल पुँजीवादी उत्पादन पद्दतिले गाँजेको समाजमा सचेत मतदाताहरू पाउन कठिन हुन्छ । यस्तो समाजमा गलत र अव्यावहारिक नै भए पनि वैदेशिक जीवनशैली, कार्यशैली, संस्कृति, उठबस र परम्पराहरू अभ्यास गरिन्छ । धनी मुलुक वा व्यक्तिहरूबाट गरिब मुलुक वा व्यक्तिहरूले अक्षरशः देखासिकी गर्ने गर्दछ । यहाँसम्म कि दिसा–पिसाबसम्ममा पनि उनीहरूकै नक्कल गरिन्छ । मौलिकतामा विश्वास गरिँदैन । देखासिकी गर्ने हैसियत बन्नुलाई वा देखासिकी गर्न सक्षम बन्नुलाई सर्वश्व ठान्ने गरिन्छ । मुखले गलत भने पनि व्यवहारमा त्यही काम जानीजानी गर्ने गरिन्छ ।
  यसको मूलभूत कारण भनेको नेपाली समाजलाई नेतृत्व गर्ने सही सैद्धान्तिक वैचारिकीको अभाव हुनु नै हो । नेपाली माटो, परिवेश र आर्थिक अवस्था वा उत्पादन सम्बन्धको आधारमा निश्चित राजनैतिक वैचारिकीले समाजलाई दिशानिर्देश गर्न नसक्नु हो । हाम्रै अर्थराजनीतिक वैचारिकीले नेतृत्व गर्ने हो भने आम मतदाताहरू यसरी बरालिने र बहकिने थिएन । हावा, हल्ला–खल्ला, मिडिया स्टन्टबाजीको पछि कुद्ने थिएन । अचेत, अराजक, अविवेकी र अनुशासनहीन बन्ने थिएन । सही र गलत, अन्याय र न्याय अनि अग्रगामी र पश्चगामी प्रवृत्ति, पार्टी र पात्रलाई एउटै आँखाले हेर्ने थिएन । तर, निश्चित वा सही सामाजिक वैचारिकीले निर्देश नगरेको समाजमा सनकमा कसले कतिखेर के गर्ने हो केही अनुमान गर्न सकिन्न । पुष्पगुच्छा र खोया कतिखेर कुन चाहिँ हान्ने हो केही भन्न सकिन्न ।
निष्कर्षः

तसर्थ कसले कसलाई थप्पड वा खोया हान्यो, त्यसमा तरङ्गित हुन जरुरी छैन । धेरै हौसिनु र दुःखी हुनु पनि पर्दैन । त्योभन्दा पनि जुत्ता, थप्पड र खोया हान्नु पर्ने अवस्था कसरी पैदा हुँदैछ । यसको अन्तर्यमा लुकेको राजनैतिक, वैचारिक, व्यावहारिक र प्राविधिक कारण के के हुन् भन्ने सन्दर्भमा गम्भीर बहस छलफल गरेर समाधान खोज्नुपर्ने हुन्छ । 

यसमा थप्पड वा खोया हान्ने मतदाताले पनि चिन्तन् गर्न जरुरी छ भने खोया खाने पार्टी वा नेताले पनि मनन् गर्न जरुरी छ । म खोया हान्ने किन भएँ र मलाई खोया किन हानियो भन्ने कुरा विचारणीय छ । यसमा दुवै पक्षले निर्मम आत्मसमीक्षा गर्दै कमी कम्जोरीलाई सच्याउनु पर्दछ । तब मात्रै समस्याको चुरोमा पुग्न सकिन्छ र समाधानको वस्तुवादी बाटो पहिल्याउन सकिन्छ । नत्र जुत्ता, थप्पड र खोया कारबाही निरन्तर जारी रहनेछ । त्यो भनेको समग्र नेपाल र नेपाली समाजको लागि हितकर हुँदैन । सबैलाई चेतना होस् !