विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–४ मिलन चोकमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा राहत शिक्षक नियुक्तिको परीक्षामा आर्थिक चलखेल भएको पाइएको छ ।
विमला पौडेलले राजीनामा दिएपछि रिक्त रहेको एक जना राहत शिक्षक नियुक्तिको परीक्षामा करार सूचीका ६ जना शिक्षकलाई बञ्चित गराएर गाउँपालिकाले परीक्षा लिएको पाइएको हो । रिक्त रहेको एक जना प्रा.वि. तृतीय राहत अनुदानको शिक्षक नियुक्तिको विज्ञापन विद्यालयले कात्तिक १० गते सूचना गोप्यरूपमा प्रकाशित गरेको छ । तर, उक्त विज्ञापनको सूचना विद्यालय र गाउँपालिकाको वेभसाइट, पत्रपत्रिका र कार्यालय कतै टाँस गरिएको छैन । करार सूचीका शिक्षकहरूले निवेदन दिने समयसीमा सकिएपछि मात्र कात्तिक १६ गते विद्यालयका प्रधानाध्यापक भरत राजवंशीले आफ्नो फेसबुक र कानेपोखरीस्तरीय प्रधानाध्यापकहरूको फेसबुक ग्रुपमा हालेका छन् ।
कानेपोखरीमा करार सूचीका शिक्षकहरू ६ जना रहेका छन् । करार सूची नम्बर ११६ मा रहेका कानेपोखरी–३ का नवराज सुवेदी, २९ नम्बरका करार सूचीका युवराज सापकोटा, कानेपोखरी–५ का २८ नम्बर करार सूचीका तेइन्द्रकुमार बास्तोला, कानेपोखरी–७ का ९१ नम्बर करार सूचीका विनाकुमारी बुढाथोकी र सोही वडाका ७२ करार सूचीमा रहेका सीतादेवी खड्का रहेका छन् ।
शिक्षा नियमावलीको उपनियम १ मा आयोगबाट प्रकाशित सूचीमा करारका लागि हुने उम्मेदवार नरहेमा वा सूचीमा समावेश भएका उम्मेदवारको शिक्षक पदमा नियुक्ति हुन निवेदन नपरेमा व्यवस्थापन समितिले शिक्षक छनौट समितिको सिफारिसमा बढीमा एक शैक्षिक सत्रको लागि कुनै व्यक्तिलाई करारमा शिक्षक नियुक्ति गर्न सक्ने उल्लेख छ । शिक्षा नियमावलीमा व्यवस्था नभएको नियमलाई मानेर विद्यालयले २ महिनाअघि विज्ञापन प्रकाशन गरेको मितिले करार सूचीका उम्मेदवारलाई ७ दिनभित्र कार्यालयमा सम्पर्क गर्न र करार सूचीका नआएमात्र अन्यले आवेदन दिन पाउने विज्ञापनमा उल्लेख गरेको छ ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख बेगबहादुर काफ्ले र विद्यालयका प्रधानाध्यापक भरत राजवंशीले आर्थिक चलखेल गरेर करार सूचीका शिक्षकहरूलाई राहत शिक्षक नियुक्ति प्रक्रियामा सामेल नगराउने उद्देश्यले विज्ञापन गुपचुप राखेको पाइएको छ । करार सूचीका योग्य उम्मेदवारलाई परीक्षाबाट पाखा लगाएर गाउँपालिका शिक्षा शाखाका प्रमुख काफ्लेले मोटो रकम लिएर सुन्दरहरैँचाबाट शिक्षक नियुक्ति गरेको स्रोतको दाबी छ ।
करार सूचीका शिक्षकले निवेदन दिने समय सकिएपछि विज्ञापन सार्वजनिक गरेको दुई महिनापछि मात्र पुस ९ गते परीक्षा लिइएको थियो । परीक्षामा ६ जना सहभागी भए । जसमा दुर्गा बोहरा, नवराज सुवेदी, भूमिका अधिकारी, शोभा कोइराला, सन्तोष भट्टराई र सुनिता कार्कीले लिखित परीक्षा दिए । उनीहरूमध्ये शोभा कोइराला उत्तीर्ण भइन् । वैकल्पिकमा सन्तोष भट्टराई रहेका छन् । नेपाल शिक्षक महासङ्घ गाउँ समिति, कानेपोखरीका अध्यक्ष धर्मराज थापाले राहत शिक्षक नियुक्तिमा आर्थिक चलखेल भएकोले गाउँपालिकाले नियुक्ति प्रक्रिया रोक्नुपर्ने बताए । ‘राहत शिक्षक पदपूर्तिको लागि खुलाएको विज्ञापन गुपचुप राखेर करार सूचीका योग्य उम्मेदवारहरूलाई बञ्चित गराउने प्रयत्न भएको छ’ उनले भने, ‘आर्थिक चलखेल गरेर लिएको यो परीक्षा रद्द गरेर करार सूचीका योग्य उम्मेदवारलाई नियुक्ति गर्नुपर्छ । यस विषयमा हामीले गाउँपालिकाको पनि ध्यानाकर्षण गराएका छौँ ।’
प्रधानाध्यापक भरत राजवंशीले शिक्षा शाखाका प्रमुखको कार्यव्यस्तताले परीक्षा ढिलो भएको बताए । विज्ञापन प्रकाशन बारेमा फेसबुकमा ढिलो भए पनि विद्यालय र वडा कार्यालयमा समयमै टाँस गरिएको उनको दाबी छ ।
कानेपोखरीका शिक्षा शाखा अधिकृत वेगबहादुर काफ्लेले भने विज्ञसहितको शिक्षक छनौट समितिले राहत शिक्षक छनौट गर्ने भएकाले यस विषयमा कुनै चलखेल नभएको दाबी गरे । ‘करार सूचीका शिक्षकबाट निवेदन नपरेपछि परीक्षा भएको हो’ उनले भने, ‘विज्ञापन प्रकाशित भएको दिन म हस्पिटलमा भएकाले साइटमा हाल्न नपाएको हो ।’ अहिले शिक्षक नियुक्ति भइनसकेकोले विज्ञान आह्वानमा गल्ती भएको हुनसक्ने भएकाले सच्याउन पनि लागिपरेको उनले बताए ।
कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले राहत शिक्षकको परीक्षाको विषयमा अध्ययन भइरहेको बताए । ‘अहिले शिक्षक नियुक्ति भइसकेको छैन । करार सूचीका शिक्षकहरूको पनि कुरा आइरहेको छ’ उनले भने, ‘यसमा हामी पुनःविचार गर्नेछौँ ।’ राहत शिक्षक नियुक्ति भएपछि दिगो हुने भएकाले नियुक्ति प्रक्रियामा आर्थिक चलखेल हुने गरेको शिक्षकहरू बताउँछन् ।