भरौल । जिल्लास्तरीय लोकनृत्य प्रतियोगितामा मुनबिम एकेडेमी र सिद्धार्थ मेमोरियल स्कुल प्रदेशस्तरीय लोकनृत्य प्रतियोगिताका लागि छनोट भएका छन् ।
शुक्रबार प्याब्सन सुनसरीको आयोजनामा भएको प्रतियोगितामा माध्यमिक विद्यालयस्तरीय प्रतियोगिता अन्तर्गत वराहक्षेत्रको सिद्धार्थ मेमोरियल स्कुल र +२ अन्तर्गत वराहक्षेत्रको मुनबिम एकेडेमी उत्कृष्ट भई छनोट भएका हुन् ।
प्रतियोगितामा माध्यमिक तह कक्षा १० सम्मका सुनसरीभरिका १३ विद्यालय सहभागी भएका थिए । वराहक्षेत्रबाट सिद्धार्थ मेमोरियल, वराहराइजिङ, इटहरीअन्तर्गत युनिभर्सल इङ्लिस स्कुल, हिमशिखर स्कुल, इटहरी मोडल, सुनसरी क्रिष्टल, पशुपति एकेडेमी, इनरुवाबाट ब्राइट इङ्लिस, रामधुनीबाट नवकिरण, पिङ्क लोटस, दुहबीबाट महेन्द्र मेमोरियललगायत १३ विद्यालय नगरबाट छनोट भई सहभागिता जनाएका थिए ।
प्रतियोगितामा इटहरीको युनिभर्सल स्कुल सान्त्वना, वराहक्षेत्रको वराह राइजिङ स्कुल तृतीय, तरहराको हिमशिखर स्कुल द्वितीय र वराहक्षेत्रको सिद्धार्थ मेमोरियल प्रथम बन्यो । द्वितीय र प्रथम हुने विद्यालयले प्रदेशस्तरीय लोकनृत्य प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले बताएको छ । शुक्रबार भएको जिल्ला स्तरीय +२ अन्तर्गत वराहक्षेत्रबाट मुनबिम एकेडेमी, इटहरीबाट पशुपति स्कुल र इनरुवाबाट सूर्यकिरण एकेडेमीले सहभागिता जनाएका थिए । जसमध्ये मुनबिम एकेडेमी उत्कृष्ट बन्दै फागुन ५ गते हुने प्रदेशस्तरीय लोकनृत्य प्रतियोगितामा सहभागिता जनाउन पाउने भएको छ ।
प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकालको सभाध्यक्षता र प्याब्सन केन्द्रीय सदस्य जिब गुरागाईंको प्रमुख आतिथ्यमा वराहक्षेत्रस्थित सिद्धार्थ मेमोरियल स्कुलमा प्रतियोगिता सम्पन्न भएको थियो । कार्यक्रम प्याब्सन सुनसरीका सचिव गणेश भण्डारीले सञ्चालन गरेका थिए ।