कुनै पनि राष्ट्र कलाविना बुच्चो देखिन्छ । हाम्रो देश परम्परागत कला र संस्कृतिले भरिएको देश हो । यो बुच्चो छैन । अन्तर्राष्टिूय क्षेत्रमा हाम्रो आफ्नै कलाको पहिचान छ । विविध परम्परागत कलाहरूका पृथक्–पृथक् मूल्य, मान्यता र संस्कारहरू छन् । त्यसैले बर्सेनि विदेशी पाहुनाहरू टाढा–टाढाबाट हाम्रा कलाहरू अवलोकन गर्न, बुझ्न र अनुभव लिन आउँछन् ।
यी त भए हाम्रा मौलिक कलाहरूका महिमा वा उचाइका कुरा । तर, आज हामीहरूलाई परम्परागत कलाहरूमात्र होइन । समय सुहाउँदो प्रचलित आधुनिक तथा उत्तरआधुनिक कला पनि मनग्य चाहिएको छ । आधुनिक तथा उत्तरआधुनिक कला चारैतिर विश्वभर फैलिँदै गएको वर्तमान परिपे्रक्ष्यमा अन्य मुलुकहरूमा जस्तै यहाँ पनि विश्वमा प्रचलित आधुनिक कलाधार वा मान्यताहरूको विकास, विस्तार र उत्थान हुन उत्तिकै आवश्यक छ, जति हाम्रो मौलिक कलाको विकास तथा विस्तार हुनुमा छ ।
हरेक विकसित र विकासोन्मुख देशहरूमा आज आधुनिक र उत्तरआधुनिक कलाको दौड चलिरहेको छ । त्यहाँ यिनका हरेक पक्षहरू, पहलहरू (वाद, धार र शैली) विकासको चरम् उचाइमा पुगिसकेका छन् । विश्वकला मञ्चमा हाम्रो सोचाइ वा आँकलन बाहिरका कुरा पनि कला भइदिएर आएका देखिन्छन् । यस सन्दर्भमा अहिले हामी कहाँ छौँ ? खोज्ने बेला भइसकेको छ । नेपालमा भने अझै पनि यी, यस्ता कलाप्रति हामीमा पूर्णरूपले चेतना जागृत भइसकेको अवस्था छैन । आज हामी यस्तो कलाको विकास वा विस्तारका सन्दर्भमा अन्य राष्ट्रभन्दा धेरै नै पछि परेका छौँ भन्दा सरम मान्नुपर्ने अवस्था छैन । किनकी आधुनिक कलाको सन्दर्भमा हाम्रो विकास प्रक्रिया नै ढिलो भएको हो । हुन त यसका पनि थुप्रै कारणहरू छन् । अहिले हामी त्यसतर्फ नजाऔँ । आधुनिक कलाको सन्दर्भमा हाम्रो प्रयत्नले सार्क राष्ट्रहरूको जत्तिको पनि उचाइ छुन सकेको छैन । उनीहरूको कलाको विकसित रूपसँग हाम्रो आधुनिक कलाले समदूरी कायम गर्न सकिरहेको छैन । कलाको विकासको सन्दर्भमा तिनीहरूले हामीलाई क्रमशः उछिन्दै गइरहेका छन् । पाश्चात्य र युरोपेली देशहरूको कलाको प्रगति र उचाइसँग त हाम्रो तुलना नै हुन सक्दैन । हामी कहाँ छौँ ? हामी के कारणले पछि परिरहेका छौँ ? कलाको विकासको सन्दर्भमा उठिरहेका यी ज्वलन्त प्रश्नहरू हामीमाथि बादल बनेर अझै पनि छाइरहेका छन् ।
वास्तवमा नेपालमा कलाक्षेत्रको विकासलाई उचाल्ने महŒवपूर्ण पक्ष जुन पक्षको सहभागिता विना देशको आधुनिक कलाले उचाइ भर्न सक्दैन, त्यही पक्ष नै आज आधुनिक कलादेखि टाढिएको अवस्था छ । अर्थात् आधुनिक कलाको चेतना अझै समग्र सर्वसाधारण नेपाली जनमानससम्म पुग्नसकेको छैन । यो नै कलाविकास तथा विस्तार हुन नसक्नुको प्रमुख कारण हो । जबसम्म नेपाली जनमानसले आधुनिक नेपाली कला बुझ्दैन वा बुझ्न समर्थ हुँदैन वा उनीहरूलाई बुझाउने प्रयत्न गरिँदैन, तबसम्म समयसापेक्ष यस्तो कलाको विकास तथा विस्तार हुन सक्दैन । नेपालमा युरोपेली र पाश्चात्य मुलुकहरूमा जस्तै कलामा जनचेतनालाई पहिलो श्रेणीमा राख्नैपर्छ । पश्चिमा कलाक्षेत्रको विकास र विस्तार हुनुको कारण जनतामा कलाप्रति चेतना जागेरै हो । जनताले कलाको मूल्यमान्यता र वैभव बेलैदेखि बुझेर नै हो । त्यसैले आम जनसमुदायलाई नजरअन्दाज गरेर कलाक्षेत्रको विकास हुँदैन । कलाक्षेत्र हरेक पहलुबाट समृद्ध हुन सर्वप्रथमतः सर्वसाधारणमा कलाको मूल्य, मान्यता वा महिमा पुग्न सक्नुपर्छ । हामीहरूले उनीहरूलाई कलाप्रति सचेत र संवेदशील बनाउन सक्नुपर्दछ ।
सूक्ष्म रूपमा दृष्टिगत गर्दा यहाँ के देखिन्छ भने एउटा नेपाली कलाकारले कला सिर्जना त गर्छ, तर उसको कला कुनै कलाग्यालरीमा वा कलाको सौखिन सानो समुदायमा बाहेक आम समुदायसम्म पुग्दैन । जबसम्म कलाको गरिमा, मूल्यमान्यता वा बुझाइ आम समुदायसम्म पुग्दैन, तबसम्म नेपाली आधुनिक कलाले विकासको फड्को मार्न सक्दैन । यो ध्रुवसत्य हो । आम समुदायले कला बुझ्नु भनेको कला र कलाकारको आर्थिक स्थिति सुनिश्चित र सुदृढ हुने ढोका खोलिँदै जानु हो । किन कि नेपाली कलाको आर्थिक उन्नति विदेशी वा सौखिन केही घरानियाँहरूले कला खरिद गरिदिएर मात्र हुने होइन । बहुसङ्ख्यक रूपमा रहेका सर्वसाधारण नेपालीहरूले कला खरिद गर्ने संस्कार बसालेपछि नै हुन्छ । कला बेचबिखनबाट कलाकारहरू बलिया भैसकेपछि नै यस क्षेत्रका सबै पक्षहरू स्वभावतः बलिया हँुदै जान्छन् । कलाकारले निरन्तर कर्म गर्दै जाने अवस्था सिर्जना हुनसक्नु, ग्यालरीहरू कलाको बिक्री नहुनुको पीडाबाट ग्रसित नबन्नु, प्रतिस्पर्धी कलासमाजको जन्म हुनु, सरकार, ठूल्ठूला व्यापारिक कम्पनी, संस्था लगायत सबै पक्षहरूको यसप्रति चासो बढ्दै जानु नै कलाक्षेत्रको विकास तथा विस्तार हुनुको सङ्केत हो । यो अवस्था प्राप्तिको ढोका सर्वप्रथम जनमानसबीच कलाचेतना पैmलिएपछि नै खुल्छ ।
विकसित मुलुकहरूको कलाको विकासको दाँजोमा हामी टाढा परिरहनुको पहिलो कारण कलाप्रति जनचेतनाको अभाव नै हो । कलालाई सर्वसाधारणसम्म नपु¥याई हाम्रो कला र कलाकारको उत्थान, विकास र आर्थिक समृद्धता कायम हुन्छ भनेर अघि बढ्नु बालुवामा पानी हालेजस्तै हो । कलाप्रदर्शनी र कार्यशाला गरेर नै कलाको विकास हुन्छ वा यी गतिविधिहरू नै कलाविकास वा विस्तारका सङ्केत हुन् भनेर अघि बढ्नु मुख्र्याइँबाहेक अरू केही होइन । किन कि यी त कला गतिविधिका कर्ममात्र हुन आवश्यक कलाचेतना जागरण वा विस्तार गराउने सूत्र होइनन् ।
हामीलाई अहिले जनमानसमा कलाचेतना बाँड्नु छ । कलाचेतना फैलाउने प्रयत्न वा संयन्त्रको जन्म गराउनु छ । कलाका हरेक पक्ष, हरेक गतिविधिहरू, कलाका मूल्य–मान्यताहरू सर्वसाधारण जनतासम्म पु¥याउन सरकारको मात्र मुख नताकी कलाक्षेत्रको विकास गर्न भनेर बनेको ललितकला प्रज्ञाप्रतिष्ठान, कलाका सङ्घ–संस्थाहरू र स्वयम् कलाकार भिजनसहित अघि बढ्न आवश्यक छ ।