धरान । हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गरेको हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता), सिजन–२ नेपाल पुुलिस स्कुलले जितेको छ ।

शनिबार भएको फाइनल चरणमा नेपाल पुलिस स्कुलले अन्य स्कुललाई पछि पार्दै विजयी बनेको हो । जितसँगै पुुलिस स्कुलले नगद १२ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।

त्यसैगरी प्रतियोगितामा पब्लिक हाईस्कुल दोस्रो भएको छ । पब्लिकले नगद १० हजार सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । प्रतियोगिता वराहक्षेत्रस्थित जीवनज्योति मा.वि. तेस्रो भएर नगद ८ हजार मेडल र प्रमाण–पत्र हात पारेको छ । त्यस्तै चन्द्र संस्कृत मा.वि. धरानले चौथो हुँदै नगद ६ हजार र प्रमाण–पत्र हात पारेको छ । प्रतियोगितामा हिमालयन बोर्डिङ स्कुलले पाँचौं भएर नगद ४ हजार, सरस्वती मा.वि. पानवारीले सान्त्वना भएर नगद २ हजार तथा प्रमाण–पत्र प्राप्त गरेको छ ।

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडा, विशेष अतिथि एनप्याब्सन सुनसरीका अध्यक्ष युवा राई, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सचिव देवेन्द्र कार्की, प्रमुख निर्णायक नउदिप साह, निर्णायक सुरेश रेग्मीलगायतले पुरस्कार, मेडल र प्रमाण–पत्र वितरण गरे ।

यस वर्षबाट विजेतालाई रनिङ कप प्रदान गरिएको स्कुलका सल्लाहकार पवन झाले जानकारी दिए । सल्लाहकार झाले क्विज मेनिया कार्यक्रमको उद्धेश्यमाथि पनि प्रकाश पारे । कार्यक्रमका प्रमुख अतिथि खतिवडाले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुनुका साथै धरानलाई शिक्षाको हबको रूपमा विकास गर्न थप टेवा पुग्ने बताए । उनले कार्यक्रमको निरन्तरताको कामना गर्दै आउने वर्षदेखि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने बताए । प्रतियोगितामा वराहक्षेत्रबाट १ र धरानका ३० गरी ३१ विद्यालयले सहभागिता जनाएका थिए ।

शुक्रबार भएको छनोट चरणबाट सहभागी ३१ मध्ये ६ विद्यालय उत्कृष्ट ६ मा परेका थिए । प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने स्कुलले जनाएको छ । कार्यक्रम स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम राईको अध्यक्षतामा भएको थियो ।