धनकुटा । विद्युत् प्राधिकरणले धनकुटाको सिँधुवास्थित निगाले सिमेन्ट उद्योगको लाइन शुक्रबार काटेको छ । प्राधिकरणलाई १५ करोडभन्दा बढी विद्युत् महसुल नबुझाएपछि सिमेण्ट उद्योगको विद्युत् लाइन काटेको हो ।

निगाले सिमेन्टले विद्युत् प्राधिकरणलाई १५ करोड ८० लाख २८ हजार २ सय ५७ रुपैयाँ विद्युत् महसुल भुक्तानी गर्न बाँकी छ । विद्युत् प्रयोग गरेबापत प्राधिकरणलाई बुझाउनु पर्ने ठूलो रकम भुक्तानी नगरेकाले प्राधिकरण केन्द्रको नीतिअनुसार विद्युत् लाइन काटिएको प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख रोशन सिंहले बताए । ‘निगाले सिमेन्टले विद्युत् प्राधिकरणलाई १५ करोड ८० लाख रकम बुझाउन बाँकी छ । प्राधिकरण केन्द्रको नीतिअनुसार हामीले उद्योगको लाइन काटेका छौँ’ सिंहले भने, ‘यसरी ठूलो रकम नबुझाउने सबैको लाइन काटिँदै छ ।’

प्राधिकरणले अन्य उपभोक्ताको भन्दा बढी क्षमताको विशेष लाइन उद्योगलाई उपलब्ध गराएको थियो । २०७२ साउनदेखि २०७५ जेठ महिनासम्म प्रयोग गरिएको डेडिकेटेड एवम् ट्रङ्क लाइनको १४ करोड २१ लाख महसुल निगाले सिमेन्टले भुक्तानी गरेको छैन । समयमै महसुल भुक्तानी नभएपछि त्यसमा फाइन जोडिएर भुक्तानी बाँकी रकम १५ करोड नाघेको हो ।

डेडिकेटेड फिडर एवम् ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरी विद्युत् महसुल नबुझाउने उद्योगहरूको लाइन प्राधिकरणले धमाधम काटिरहेको छ । प्राधिकरणले शुक्रबार मात्रै निगाले सिमेन्टसहित १४ वटा उद्योगको लाइन काटेको हो । गत पुस ६ गतेबाट विद्युत् लाइन काट्ने अभियान थालेको प्राधिकरणले हालसम्म २३ वटा उद्योगको लाइन काटिसकेको जनाएको छ ।