धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ स्याउलेमा रहेको ज्वालादेवी प्रा.वि. झर्ने गोरेटो बाटोलाई धनकुटा नगरपालिकाका प्रमुखको नाममा ‘चिन्तन तामाङ गल्ली’ नामकरण गरिएको होर्डिङ बोर्ड सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ ।
खासगरी धनकुटा न.पा.३ को वडा कार्यालय कागतेदेखि सोही वडाको स्याउलेमा रहेको ज्वालादेवी प्रा.वि. झर्ने गोरेटो बाटोको नाम ‘चिन्तन तामाङ गल्ली’ नामकरण गरिएपछि नगरवासीमा हल्लाखल्ला मच्चिएको हो । होर्डिङ बोर्डमा ‘चिन्तन तामाङ गल्ली धनकुटा–३ स्याउले हार्दिक स्वागत गर्दछ’ लेखिएको छ । यसरी सामान्य गाउँघरमा तलमाथि गर्ने गोरेटो बाटोलाई नगर प्रमुखकै नाममा नामकरण गर्नु कति शोभनीय र न्यायोचित होला त भन्ने प्रश्न उठेको छ ।
बिहीबार साँझ नेपाली काङ्ग्रेसका नगर सभापति दिनेश राईले ‘धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङलाई बधाई छ’ भनेर तस्बिर आफ्नो फेसबुकको वालमा पोष्ट गरेपछि चासोको विषय बनेको हो । अहिले पनि सभापति दिनेश राईको फेसबुक वालमा उक्त होर्डिङ बोर्डको पोष्ट देख्न सकिन्छ । तर, धनकुटा न.पा.–३ स्याउलेमा भने उक्त बोर्ड शुक्रबार बिहानै हटाइएको छ ।
होर्डिङ बोर्ड सामाजिक सञ्जालमा सार्वजनिक भएलगत्तै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आफ्नो फेसबुक वालमा ‘मलाई थाहा छैन, यो कसले र किन राख्यो तर, जसले यो ग¥यो म त्यसलाई तुरुन्त हटाउन अनुरोध गर्दछु’ लेखेका छन् । उनले यो आग्रह गरेलगत्तै होर्डिङ बोर्ड भने स्याउलेको गल्लीबाट हटेको छ । ‘नगर प्रमुख भनेको जिम्मेवार सार्वजनिक पद हो, व्यक्ति हैन संस्था हो भन्ने सबैलाई थाहै छ’ नगर प्रमुख तामाङ भन्छन्, ‘यति हुँदाहुँदै पनि सम्बन्धित पक्षसँग विना जानकारी गोरेटो बाटोलाई ‘चिन्तन तामाङ गल्ली’ भनेर नगर प्रमुख पदको मानमर्दन हुने गरी नामकरण गरिनु ठीक हैन’ ।
सामाजिक सञ्जालमा चर्चासँगै सकारात्मक सुझावसहितको टिप्पणी र खिल्ली उडाउने ढङ्गले नकारात्मक टिप्पणी पनि आएको बताउँदै नगर प्रमुख तामाङले यसलाई गम्भीर ढङ्गले लिएको बताएका छन् । उनले भने, ‘नगरबाट पैसा लाने, योजना फत्ते गर्ने अनि नगर प्रमुखकै बदनाम हुने गरी गल्लीसँग जोडेर नामकरण गर्नु खराब नियत हो ।’ उता नेपाली काङ्ग्रेसका सभापति दिनेश राईले भने धनकुटा नगरपालिकामा विकास निर्माणको काम देखिने गरी केही नभएको बताउँदै भन्छन्, ‘त्यही गल्लीसम्म बनाउन भ्याएछन् ।’
वास्तविकता यस्तो
नगर प्रमुखको नाममा होर्डिङ बोर्ड राखिएको स्थान धनकुटा नगरपालिका वडा नं.३ स्याउलेमा हो । धनपा–३ को वडा कार्यालय कागतेबाट ओरालो झर्दा यही गोरेटो बाटो भोजपुरे टोल हुँदै ज्वालादेवी प्रा.वि., शिवालय मन्दिर र स्वास्थ्य चौकी पुगिन्छ । उक्त गोरेटो बाटो भोजपुरे गोलाइदेखि स्याउले ज्वालादेवी प्रा.वि.सम्म १ सय ३ मिटरको दूरी रहेको छ । गोरेटो बाटोमा आवत–जावत गर्न अति समस्या भएपछि स्थानीयले सिँढी बनाउने योजना अघि सारेको स्थानीय नगेन्द्र घिमिरेले बताए ।
घिमिरेको श्रीमती लक्ष्मी सापकोटा घिमिरे वालसहितको सिँढी निर्माण तथा खोल्सी ढलान उपभोक्ता समितिकी अध्यक्ष हुन् । उक्त कार्यको लागि आ.व.०७८/७९ मा धनपा वडा नं.३ को वडा कार्यालयबाट प्राप्त १ लाख ५० हजार लागतमा सिँढी निर्माण तथा वाल लगाउने कार्य थालिएको उपभोक्ता समितिका अध्यक्ष सापकोटाले बताइन् । धनकुटा न.पा. वडा नं.३ का वडाध्यक्ष विकास घिमिरेले सुरुमा वडाको बजेटबाट सिँढीको काम थालेको बताए । गल्लीमा बोर्ड राखिएको विषयमा वडाध्यक्ष घिमिरेलाई ब्लाष्टले जिज्ञासा राख्दा आफूले पनि बोर्ड राखेको देखेपछि हटाउन स्थानीयलाई आग्रह गरेको बताए ।
त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष सापकोटाले आ.व.०७९/८० मा धनकुटा नगरपालिकाले ४ लाख बजेट उपलब्ध गराएको बताइन् । चालु आ.व.०८०/८१ मा २ लाख गरी जम्मा ७ लाख ५० हजारको लागतमा १ सय ३ मिटर लामो वालसहितको सिँढी निर्माण तथा खोल्सी ढलान गर्ने कार्य सम्पन्न गरिएको उनले बताइन् । उनले चालु वर्षको २ लाख बजेटमा २२ हजार बराबरको जनश्रमदान थियो तर, १३ ट्याक्टर ढुङ्गा र ५२ हजार नगद बढी लागेको बताइन् । यो वर्षको बजेटले निर्माण कार्य सकेको करिब डेढ महिना भैसकेको सापकोटाका श्रीमान् नगेन्द्र घिमिरेले बताए ।
धनकुटा नगरपालिकाको सहयोगमा जोखिमयुक्त गोरेटो बाटोको सिँढी, वालसहित खोल्सी ढलान निर्माण कार्य १ महिनाअघि सम्पन्न गरिएको अध्यक्ष सापकोटाले बताइन् । गोरेटो बाटोमा नगर प्रमुख चिन्तन तामाङकै नाम उल्लेख गरिएको बोर्ड किन राखियो त भन्ने ब्लाष्टको प्रश्नमा अध्यक्ष सापकोटाले आफूलाई केही थाहा नभएको बताइन् ।
तर, सापकोटाका श्रीमान् नगेन्द्र घिमिरेले भने कसैको उक्साहटमा नभै राम्रो कामको लागि नगर प्रमुख तामाङले सहयोग गरे भनेर सम्मानस्वरूप ‘चिन्तन तामाङ गल्ली’ नामकरण गरेर होर्डिङ बोर्ड राखेको बताए । घिमिरेले आफै सुशिल आर्ट धनकुटा–६ मा गएर प्रिन्ट गरेर ल्याई बोर्ड राखेका थिए । घिमिरेले थपे, ‘तीन–चार दिनअघि नेकपा (माओवादी केन्द्र) का नेता हिमाल सुवेदी, स्थानीय राकेश बराइलीलगायत आएर फोटोसमेत खिचेर लगेका थिए । पछि थाहा भयो फेसबुकमा हालेर मेयर सा’वको ट्रोल बनाएछन्, त्यस्तो होला भन्ने मलाई लागेको थिएन ।’ उनले विवाद भएपछि बोर्ड आफैले हटाएको उनले बताए ।