विराटनगर ।  संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को अध्यक्षमा नगेन्द्र प्रसाद (बिवेक) ढकाल निर्वाचित भएका छन् ।

विराटनगरमा आइतबार भएको निर्वाचनमा ढकालले प्रतिस्पर्धी धनकुमार राईलाई ३४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचति भएका हुन् ।

ढकालले ४६ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी राईले १२ मत मात्र ल्याए । सचिबमा गोपाल रिजालले ३० मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी दिपक प्रसाद घिमिरले २८ मत पाए । सहकारीको अध्यक्ष र सचिब पदमा मात्र निर्वाचित भएको थियो । अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्षमा निर्वाचित भएका ढकाल मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको मोरङ पब्लिक स्कुलका प्रिन्सिपल पनि हुन् ।

उपाध्यक्ष नन्दलाल मण्डल, सह–सचिबमा दिपेन्द्र राई, कोषाध्यक्षमा हिराबहादुर मगर, सहकोषाध्यक्ष नेत्रप्रसाद गडतौला रहेका छन् । सदस्यहरुमा देवीलाल महतो, अर्जुन श्रेष्ठ, दिनेश ढुङ्गना, केदार पौडेल, महेन्द्र मण्डल रहेका छन् ।

सहकारीको ९२ जना सेयर सदस्य मध्ये ६० मत खसेको थियो । एक मत बदर भएको थियो । एसबीएससी मोरङ जिल्लाभरीको रहेको संस्थागत विद्यालय आवद्ध भएको सहकारी हो । २०६७ मंसिर १५ गते सहकारी स्थापना भएको हो । सहकारीको बचत निक्षेप २ करोड ५२ लाख , कोष हिसाब ६ लाख ८० हजार , ऋण लगानी २ करोड २७ लाख रुपैयाँ रहेको छ ।

सहकारीले प्रत्येक वर्ष एसबीएससी सिंगीन स्टार, चित्रकला प्रतियोगितालगायतका विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ । सहकारीले एसबीएससी सिंगीन स्टार हरेक वर्ष आयोजना गरिएको जिल्लाको ठूलो प्रतियोगिता हो ।