धरान- चतराको दु:खका रुपमा रहेको बाघखोलामा पुल निर्माण हुने भएपछि स्थानीयको यात्रा सहज र आवागमनमा सुविधा हुने भएको छ । पुल निर्माणको प्रारम्भिक काम सुरु भएपछि स्थानीय हर्षित भएका छन् ।
बर्खामा बाघखोलामा बर्सेनि हुने दुर्घटनाका कारण स्थानीय आजित हुँदै आएका छन् । स्वास्थ्य, शिक्षालगायत कृषि उपज बजार खरिद बिक्रीका लागि सुनसरीको चतरादेखि उदयपुरका पूर्वी भेग र भोजपुर, खोटाङका दक्षिणी भेगका वासिन्दा धरान बजारमा आश्रित हुँदै आएका छन् । बाघखोलामा पुल निर्माण हुने आशा पलाएपछि धरान- चतराको सहज यात्रा र दूरी समेत छोटिने वराहक्षेत्र १ का वडाध्यक्ष किसन थापाले बताए ।
बाघखोला र बगुवा खोला वर्षाको समयमा समस्याको रुपमा रहेकाले मोटरेबल पुल बन्ने भएपछि स्थानीय र सो बाटो भएर यात्रा गर्ने नागरिकहरु हर्षित भएको वडाध्यक्ष थापा बताउँछन् ।
पुललाई गुणस्तरीय निर्माण सामग्री प्रयाेग गरी समयमा निर्माण सम्पन्न गर्न आफूले वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने बताए । चतरा र आसपसका क्षेत्रका स्थानीयको 'लाइफलाइन' का रुपमा रहेको विकास निर्माणको महत्वपूर्ण पक्षका रुपमा बाघखोला र बगुवाको पुल निर्माण रहेको वडाध्यक्ष थापाले बताए ।
वडाध्यक्ष थापाका अनुसार बाघखोलामा पक्की पुल बन्नका लागि निर्माण कम्पनीले अस्थायी घर टहरा निर्माण गरेको छ । स्काभेटर २ वटा, रड, सिमेन्ट, बालुवा, गिट्टी, मिक्सचर मेसिनलगायत सामग्री ल्याई काम थालनी गरेको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत धरान-चतरा सडक खण्डमा पर्ने बाघ खोला पुल निर्माणको काम सुरु भएको कोशी प्रदेशकी सांसद ममता तामाङले समेत जानकारी दिइन् ।
निर्माण कम्पनीले समयमै बाघखोलाको पुल निर्माण गराउन आफ्नो सकारात्मक र रचनात्मक सहयोग रहने सांसद तामाङले बताइन् । पुल निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री प्रयाेग गरी समयमा सम्पन्न गर्न र विनियोजित बजेट निकासाका लागि आफ्नो पहल प्रयत्न रहने सांसद तामाङले बताइन् ।
पुलको लम्बाई ६० मिटर र चौडाई ९ मिटर भित्र १-१ मिटर दायाँबायाँ साथै दुबैतर्फ मान्छे आवतजावत गर्ने पेटी निर्माण गरिने ठेकेदार कम्पनीका प्रतिनिधि दीपक श्रेष्ठले जानकारी दिए । निर्माण कम्पनीले १९ करोड भ्याटसहित ठेक्का पारेको हो।
यता बगुवा खोलामा भने पुल बन्ने ठाउँमा विद्युत प्राधिकरणको हाइटेन्सनको लाइनको पोल भएको हुँदा उक्त पोललाई स्थान्तरण गरेपछि निर्माण सुरु गर्ने अवस्था रहेको छ । बाघखोलाको पुल बन्ने स्थानमा रुख नपर्ने हुँदा ठेकेदार पक्षलाई काम गर्न सहज हुने मदन भण्डारी राजमार्ग योजनाका सव इन्जिनियर सुजन ढकालले बताए ।
सव इन्जिनियर ढकालले पुल बनिसके पछि बाटोमा रुख पर्ने हुँदा सरोकार राख्ने निकाय वन मन्त्रालय, विद्युत प्राधिकरणले चाँडै 'साइट क्लियर' गरिदिनु पर्ने र स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय बासिन्दाहरूले आफ्नो ठाउँ र क्षेत्रबाट उक्त पुल बन्नमा लागि बाधा अड्काउ फुकाउन साथ सहयोग गर्नु पर्ने धारणा राखे।
सूर्य एण्ड सन्स निर्माण कम्पनी प्रतिनिधि दिपक श्रेष्ठका अनुसार मदन भण्डारी राजमार्ग योजना कार्यालयले समयमा रकम विनियोजित गरिदिएमा उक्त पुल यही कार्तिकमा निर्माण कार्य सम्पन्न हुने रकम विनियोजन गर्नमा ढिलाई भए समय लम्बिन सक्ने जानकारी दिए।
धरान- चतरा सडक खण्डमा पर्ने ४ वटा पुल रेल्वे खोला, ठकुरी खोला, बगुवा खोला र बाघखोला पुल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी सूर्य एण्ड सन्स निर्माण कम्पनीले बाघखोलाको पुलको फाउण्डेसन (जग) को काम सकेर १६,२०,२५ र ३३ एमएम फलामे रड लगाएर ३ वटा पिल्लर मध्ये २ वटा
दायाँ-बायाँ दुबै तर्फको ढलाइ गरेर निर्माण कार्यको सुरुवात गरेको छ।