इटहरी । इटहरी उप महानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन् ।
मङ्गलबार इटहरी रङ्गशालामा आधारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरूलाई दीक्षित गरिएको हो । उनीहरूलाई इटहरी उप–महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, इटहरी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी लकेस तुम्बाहाङ्फेलगायतले दीक्षित गरेका हुन् । ३५ दिनसम्म चलेको तालिममा रामतपेश्वर यादवलगायतको टोलीले प्रशिक्षण दिएको थियो ।
तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम, दोस्रो चरणमा सुरक्षा तथा नगर प्रहरीको कार्य र भीड व्यवस्थापन र तेस्रो चरणमा स्थानीय निकायको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । दीक्षान्त समारोहमा नगर प्रहरीहरूले राष्ट्रिय सलामी अर्पणसहित कवाजसमेत प्रदर्शन गरेका थिए । उनीहरूलाई इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेताले शपथ गराएका छन् । नगर प्रहरीलाई दीक्षान्त समारोहमा दज्र्यानी चिह्न प्रदान गरिएको छ । उनीहरूलाई दीक्षित गर्दै उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर प्रहरीलाई थप सशक्त बनाएको बताए । जनशक्तिका हिसाबले नगर प्रहरीको सङ्ख्या बढ्नुका साथै समग्र इटहरी उपमहानगरपालिकाको सुव्यवस्थामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उपमहानगर प्रमुख पौडेलले बजार व्यवस्थापनमा नगर प्रहरीको भूमिका अझ सशक्त बनाएर लैजान निर्देशनसमेत दिएका थिए ।
नगरप्रमुख पौडेलले जुनसुकै काम, कर्तव्य पालना गर्दा विधिलाई मान्नुपर्ने बताउँदै व्यक्तिलाई नमान्न आग्रह गरेका छन् । उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय पदपूर्ति समितिको निर्णयअनुसार नगर प्रहरीका विभिन्न पदमा सेवा करारका लागि उपमहानगरपालिकाले गत २०७९ असोज २१ गते इन्स्पेक्टर, दुई सइ, ३ जना असइ, ४ जना हवल्दारसहित २७ जना नगर प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको थियो । सो दरखास्तअनुसार छनौट भई ३५ दिनको आधारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरू दीक्षान्तपश्चात् कार्यक्षेत्रमा खटिएका छन् । नगर प्रहरीलाई उपमहानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उपमहानगरमा हुने विभिन्न सभा, समारोह, स्थानीय जात्रापर्वहरूको सुरक्षा व्यवस्थापन, उपमहानगर क्षेत्रको पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशुको नियन्त्रण, अनधिकृत निर्माणमा रोकलगायतका जिम्मेवारीहरू तोकिएका छन् । तालिम अवधिभर उत्कृष्ट भएका रितु चौधरी, विक्रम चौधरी, नीता राई तथा कवाजतर्फ नीमा तामाङ, पुष्कर निरौला पुरस्कृत भएका छन् ।