विषय प्रवेशः
पछिल्लो समय नेपाली समाजमा जता पनि भ्वाङ परेको, फाटेको, बिग्रिएको अनि भत्किएको मात्रै देख्ने दृष्टिदोष बढिरहेको छ । सिर्जनशील कोणबाट यस्तो दृष्टिकोणलाई सही नै मान्नुपर्ने हुन्छ । किनभने यसले जो कसैलाई पनि बिग्रिनु, भत्किनु अनि गलत कामबाट जोगाउने गर्दछ । तर, निःषेधको कोणबाट मूल्याङ्कन गर्दा वा नेपाली समाजमा यस्तो नकारात्मकताले बनाएको भाष्यलाई अध्ययन गर्दा यस्तो प्रवृत्तिले गलत संस्कार–संस्कृति निर्माण गरिरहेको छ । सिर्जनशील सुझाव र आलोचनाले कुनै पनि वस्तु वा व्यक्तिलाई रूपान्तरण गर्ने हैसियत राख्दछ भने निःषेधजन्य विरोध र आलोचनाले काममा अनिर्णय, द्विविधा, आलश्यता पैदा गर्दछ । उत्साह मार्ने काम गर्दछ ।

नेपाली राष्ट्रिय राजनीतिमा सरकारी काम कारबाहीहरूको सन्दर्भमा सिर्जनशीलभन्दा पनि निःषेध, प्रतिशोध र निहीत स्वार्थजन्य तरिकाबाट विषय वस्तुहरूको उठान भइरहेको देखिन्छ । यसलाई चुनावी स्वार्थको गुरुत्वकेन्द्र वरिपरिबाट नाप्ने प्रचलन नराम्ररी मौलाएको छ । अर्थात् एउटा पक्षले समाजमा राम्रो प्रभाव पार्यो भने अर्को पक्षलाई कमजोर महसुस हुने आत्मकेन्द्रित स्वार्थगत मनोविज्ञान उत्कर्षमा पुगेको छ । चुनाव जित्ने भयो भनेर तीव्र ईष्र्या र डाहा पलाउने गर्दछ । यस्तो स्वार्थी रवैयाले उसको प्रतिस्पर्धी शक्ति वा व्यक्तिलाई चुनावमा हराउने वस्तुगत वातावरण त बन्ला र उसले चुनाव पनि जित्ला तर, सकारात्मक र उत्पादनशील कामहरू संस्थागत हुँदैनन् । सकारात्मक र सिर्जनशील कामहरूले प्रश्रय नपाउनु भनेको विकासले योजनाबद्ध चरित्र ग्रहण गर्न नसक्नु हो । मूल्य र पद्दति मर्दै जानु पनि हो । यस्तो गलत रवैयाले सम्भावना र सिर्जनशीलताका ढोकाहरू बन्द हुँदैछ भने आकाश खस्ने र धर्ती भासिने मनगढन्ते अनावश्यक परिकल्पनाहरू तीव्ररूपमा बढिरहेका छन् ।

प्रचण्ड प्रयासः
सम्माननीय प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकार गठन भएको पनि एक वर्ष पुगिसकेको छ । यो एक वर्षको अवधि भनेको सर्वाङ्गीण विकासको लागि पर्याप्त समय पक्कै पनि होइन । त्यसमा पनि हाम्रोजस्तो वैदेशिक उपभोगवादी संस्कृतिले गाँजेको समाजमा मतदाताको बनीबनाउ चाहना र उपभोगवादी बासनाको लयमा रातारात विकासले तीव्र लय समात्ने कुरा सम्भव हुँदैन । शदीयौं वर्षदेखिको विकृति र विसङ्गतिहरूको संस्कारमा मौलाएको मनोविज्ञानहरू एकै रातमा परिवर्तन हुँदैनन् । अर्थात् मतदाताहरूको उपभोगवादी चाहनाहरू असीमित हुन्छन् । त्यसमा पनि चुनाव केन्द्रित विभिन्न दलीय स्वार्थको दलदलमा समाज नराम्ररी फसेको छ । यस्तो समाजमा प्रथमतः राम्रो कामको थालनी हुँदैन । दोस्रो कुनै सरकार, पार्टी र नेताले राम्रो काम गर्न चाह्यो भने पनि उसलाई चुनाव केन्द्रित स्वार्थको रागमा शिथिल पार्ने दुष्प्रयास गरिन्छ । आज हाम्रो मुलुकमा ठीक त्यस्तै र यही दुष्प्रयासहरू भइरहेको छर्लङ्गै देख्न सकिन्छ ।

यसको मतलव प्रचण्ड सरकारले छेउकुना सबैतिर सम्याइसक्यो भन्ने होइन । तत्काल गर्नुपर्ने कैयौँ कामहरू थाँती नै छन् । शदीयौँ लामो कमजोरीले जन्माएको समस्याहरू कसैले मनोगत वा चुनावी मसलाको रूपमा भावोत्तेजनामा आएर बोलेको वा लेखेको भरमा समाधन हुँदैन । तर, तुलनात्मकरूपमा प्रचण्ड सरकारले नयाँ केही गर्ने हुट्हुटी लिएको स्पष्टै देखिन्छ । यद्यपि यो पर्याप्त नभएको सन्दर्भमा बहस गर्न सकिन्छ ।

वस्तुतः प्रचण्ड सरकारले सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ । यस अन्तर्गत भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डलगायतका ठूला माछा काण्डहरूलाई अघि बढाउने हिम्मत गर्यो । प्रधानमन्त्री प्रचण्डले आफू, आफन्त र आप्mनो पार्टी नभनी दोषीलाई कानूनी कठघरामा उभ्याउने प्रयास गर्नुभयो । यही मेसोमा थुप्रै गह्रौं तौलधारीहरूसमेत जेल चलान भए । यो सुशासन कायम गर्ने पहिलो प्रस्थान विन्दु थियो । छानबिनमा काखापाखा गरिएको छैन । यद्यपि कतिपय काण्डमा संलग्न भनेर प्रचारमा आएकाहरूलाई प्रहरीले आवश्यक कारबाही अघि बढाएको छैन । जसको कुनै प्रमाण फेला परेको छैन । अन्यथा सबैलाई कानूनी प्रक्रियामा लगिएको छ । यता राष्ट्रिय गौरवलगायतका विभिन्न विकासे परियोजनाहरू अघि बढाइएको छ । आर्थिक वृद्धिदर उल्लेख्यरूपमा बढेको छ । विदेशी मुद्रा सञ्चिति बढेको छ । अर्थात् सम्पूर्ण आर्थिक सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उकालो लागिरहेको अवस्था छ । इतिहासमै सबैभन्दा अनुकूल आर्थिक अवस्था पैदा भएको छ । यी प्रचण्ड सरकारको एकवर्षे अवधिका सकारात्मक कामहरू हुन् ।

योसँगै गठबन्धनको सीमा कमजोरीहरूलाई सन्तुलित गरिएको छ । कठोर र लचकताको द्वन्द्वात्मक प्रयोग अत्यधिक गरिएको छ । सत्तापक्ष र प्रतिपक्षलाई मिलाएर लाने अधिकतम् पहल र प्रयासहरू गरिएका छन् । यद्यपि जन्मजातै चुनावी स्वार्थको रतन्धो लागेका पार्टी वा नेताहरूले यसलाई कमजोरी भनेर टिप्प्णी गरिरहेका छन् । मनोगत नकारात्मक छिद्रहरू खोजिरहेका छन् । शान्ति प्रक्रिया अन्तर्गतका सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरू लगभग टुङ्गिने अवस्थामा पुगेको छ । अर्थात् तुलनात्मकरूपमा यसपटक प्रचण्डका प्रयासहरू ऐतिहासिक देखिन्छन् । तर चुनावी, दलीय र व्यक्तिगत स्वार्थको कारण प्रचण्डका प्रयासहरूलाई नजरअन्दाज गरिँदैछ । बरू उल्टै विभिन्न भ्रम र अफवाहरु फैल्याइएकोछ जसले सरासर गलत परिणाम दिनेछ । यस्तो परिणाम वा उपलब्धि हाम्रो आम चाहना होइन ।

विरोधीहरुको घेराबन्दीः
प्रचण्ड सरकारका राम्रा कामहरूको अनदेखा र नराम्रा साना छिद्रहरूको बढाई–चढाई हुनु भनेको प्रचण्डविरुद्धको घेराबन्दी नै हो । यस्तो घेराबन्दी पनि मुलुक र मतदाताको हित वा स्वार्थमा हुँदैन । यो केवल आफू, आप्mनो पार्टी, नेता, कार्यकर्ता र आफन्तजनमा सीमित हुन्छ । अर्थात योजनावद्धरुपमै चुनावी स्वार्थको चक्रव्युहमा अनावश्यक प्रचारवाजी र अफवाह फैल्याउने गरिन्छ, जसले मतदाताहरूमा नकारात्मक भाष्य निर्माण गर्न सहयोग गरोस् र आगामी चुनावमा हावा खुवाइदियोस् । यही स्वार्थको फेरो समातेर समाज र राष्ट्रको हितमा केही गर्छु भन्ने हुट्हुटीहरूलाई दबाइरहेको छ, मारिरहेको छ । योजनाबद्धरूपमै खुट्टा तान्ने र खाल्डा खन्ने कामहरू भइरहेको छ । परिणामतः प्रचण्ड सरकारको तुलनात्मक रूपमा गरिएका कतिपय राम्रा कामहरू पनि ओझेलमा पारिएको देखिन्छ ।   

मतदाताको बनीबनाउ चाहनाः
नेपाली समाजमा वैदेशिक अर्थराजनीतिक संस्कृति व्यापकरूपमा गडेको छ । आजको पुँजीवादी संस्कृति भनेको उपभोगवादी संस्कृति नै हो । यसले हरेक नागरिकहरूलाई सिर्जनशील, उत्पादनशील, वस्तुवादी र सकारात्मकभन्दा पनि भाते, स्वादे र भोगविलासे मात्र बनाउँछ । यस्तो सांस्कृतिक मनोविज्ञान हाबी भएको समाजमा चाहना र भावनाहरू बनीबनाउ, मनगढन्ते, उडन्ते, अव्यावहारिक र अवस्तुवादी हुने गर्दछ । शीघ्र उपयोग र उपभोगको पारो उत्कर्षमा पुग्ने गर्दछ । तातै खाउँ जली मरौं भन्ने उक्ति चरितार्थ हुन्छ । यस्तो समाजमा इच्छा–आकाङ्क्षाहरू अत्यधिक हुन्छ, जुन एकैचोटी पूरा गर्न सकिँदैन । यसरी चाहनाहरू एकैचोटी पूरा गर्न नसक्नु भनेको निरपेक्ष आलोचना र निःषेधको सामना गर्न तयार हुनु हो ।

पछिल्लो समय प्रचण्ड सरकारले काममा गति लिँदालिँदै पनि तीव्र विरोध हुनु भनेको उपभोगवादी संस्कृतिद्वारा निर्देशित लम्पट उपभोग बासना जिम्मेवार देखिन्छ । यता प्रचण्ड सरकारप्रतिको प्रतिशोध र चुनावी स्वार्थले पनि नराम्ररी घर गरेको छ । योसँगै प्रचण्ड सरकारलाई बदनाम गराउन सकियो भने आगामी चुनावी चिठ्ठा आप्mनै नाममा पर्ने सुनिश्चितता खोज्ने क्रममा यस्तो विरोधका स्वरहरू बढिरहेका छन् । यस्तो स्वार्थी समाजमा मतदाता र मुलुकको राष्ट्रिय हित निर्णायक हुँदैन । खाली निजी र निहीत स्वार्थहरूमा सिङ्गो समाजको सामाजिकी र भाष्य निर्देशित हुन्छ । अलिकति मात्रै कोल्टे, बाङ्गो, अपूरो अनि ढिलो भयो भने मनोगतरूपमा सारा संसार प्रलय भए भैंm गर्ने गरिन्छ । नराम्रो र गल्तीको सानो छिद्र खोज्दै जाँदा राम्रो र सहीको सिङ्गो पाटो नै भुल्ने गरिन्छ ।

बहकिएको/बरालिएको समाजः
हाम्रो समाजको राजनैतिक वैचारिकी आसध्यै कमजोर छ । समाजको प्राज्ञिक चरित्रलाई बरालिएको सञ्जालले खाइसकेको छ । बहस र छलफलद्वारा सत्य–तथ्य पहिचान गर्ने संस्कृति लगभग मर्दैगएको छ । व्याख्या, विश्लेषण र गन्थन–मन्थन हराउँदै गएको छ । आलोचनात्मक र द्वन्द्वात्मक दृष्टिकोण वा नजर बिलाउँदै गएको छ । यस्तो अर्थराजनीतिक परिवेशमा प्रचार, हल्ला–खल्ला र मिडिया स्टन्टबाजी निर्णायक हुने गर्दछ । कागले कान लग्यो भन्दै गर्दा कान छाम्न बिर्सेर कागको पछिपछि दगुर्ने गरिन्छ । सामाजिक सञ्जालमा भाइरल हुनुलाई सत्य र यथार्थताको कसी मान्ने गरिन्छ । सामाजिक हित, स्वार्थ र वास्तविकताभन्दा पनि सञ्जालमा देखिएको दर्शक, लाइक, कमेन्ट र शेयरको आधारमा सही गलत निर्धारण गर्ने गलत संस्कृति बढिरहेको छ । यस्तो सामाजिक भाष्यले नेतृत्व गरिरहेको समाजमा सत्य–तथ्य र सही गलतको खोजी हुँदैन । मिडियामा आएको विषयवस्तु स्वादिलो लागे पुग्छ । चोटिलो, घोचिलो र पेचिलो लागे हुन्छ । अझ विपक्षी वा विरोधीलाई गाली गरेको, खुइल्याएको अनि तथानाम गाली गरेको भए सात पुस्ता जीवन गुजारा पुग्नेजस्तो गरिन्छ । यसले अधिकांश राम्रो काम ओझेलमा र थोरै नराम्रो काम सतहमा उतार्ने गर्दछ । अहिले प्रचण्ड सरकारको काम कारबाहीबारेमा पनि ठीक यही भइरहेको छ ।

निष्कर्षः
त्यसैले सरकारले गरेका राम्रा कामहरूलाई राम्रो भन्ने न्यूनतम् विवेक प्रयोग गरौं । नराम्रोलाई नराम्रो भन्ने हिम्मत गरौं । चुनावी निहीत र नीजि स्वार्थको लागि राम्रोलाई नजरअन्दाज नगरौं । यस्तै आत्मकेन्द्रित व्यक्तिवादी र पार्टीवादी स्वार्थको लागि नराम्रो र गलतलाई राम्रो पनि नभनौं । स्वार्थको घेरो समातेर सहीलाई गलत र गलतलाई सही भनेर सत्य–तथ्य र यथार्थको अपव्याख्या नगरौं । आउँदो पुस्तालाई सही, विवेकशील र मूल्यको राजनैतिक संस्कार सिकाउने प्रयास गरौँ ।
तर, निहीत स्वार्थमा मुलुक र मतदाताको स्वार्थहरू सौदाबाजी गरियो भने राजनैतिक संस्कृति मर्नेछ । त्यो भनेको विकृति र विसङ्गति संस्थागत हुनु हो भने संस्कार र सभ्यता गिर्दै जानु हो । असल र खरावलाई सार्वभौम सत्य भन्दा पनि स्वार्थगत दृष्टिकोणबाट नाप्ने तौलने गर्नु गलत हुन्छ । यसले सिङ्गो समाजलाई अराजकता र अनिर्णयको गोलचक्करमा फसाउनेछ । तब सबैखाले प्रतिक्रियावादी तत्वहरू सल्बलाउन थाल्नेछन् । सबैलाई चेतना भया !