विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–४ मिलन चोकमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा राहत शिक्षक नियुक्तिको लागि लिएको परीक्षामा आर्थिक चलखेल भएको भन्दै आलोचना भएपछि शिक्षक नियुक्तिको प्रक्रिया तत्काललाई रोकिएको छ ।

कानेपोखरी गाउँपालिकाले १२ पुसमा तत्काल अर्को निर्देशन जारी नभएसम्मको लागि परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई नियुक्त नगर्न विद्यालयलाई पत्रचार गरेको हो ।

गाउँपालिकाले पत्राचार गरेपछि लिखित परीक्षाबाट उत्तीर्ण भएका उम्मेदवार शोभा कोइरालालाई विद्यालय व्यवस्थापन समितिले अहिलेसम्म नियुक्ति गरेको छैन । ‘पुस ९ गते सञ्चालित परीक्षाबाट छनौट भई नियुक्तिको लागि विद्यालय व्यवस्थापन समितिलाई सिफारिस गरिएको उम्मेदवारलाई यस कार्यालयबाट अर्को सूचना नभएसम्म नियुक्ति नगर्नू, नगराउनु हुन अनुरोध छ’–गाउँपालिकाले विद्यालयलाई पठाएको पत्रमा उल्लेख छ ।

कानेपोखरी गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशन नगरी परीक्षा सञ्चालन गर्ने प्रपञ्च मिलाएर करार सूचीका छ जना शिक्षकहरूलाई प्रतिस्पर्धा गर्नबाट बञ्चित गराई ९ पुसमा परीक्षा लिएको थियो । उक्त परीक्षाबाट शोभा कोइराला उत्तीर्ण भएकी थिइन् ।

सेटिङमा शिक्षक नियुक्त गर्न कानेपोखरी गाउँपालिकाका शिक्षा शाखाका अधिकारी र विद्यालयका प्रधानाध्यापकसमेतले मिलेमतो गरेको स्थानीयले आरोप लगाएका थिए । करार सूचीका शिक्षक र स्थानीयले आर्थिक चलखेल भएर गोप्यरूपमा गरिएको परीक्षा रद्द गरी शिक्षा नियमावलीमा व्यवस्था भएअनुसार करार सूचीका शिक्षक राखिनुपर्ने माग गर्दै आएका छन् ।

विमला पौडेलले राजीनामा दिएपछि रिक्त रहेको एक जना राहत शिक्षक नियुक्तिको परीक्षामा करार सूचीका ६ जना शिक्षकलाई बञ्चित गराएर गाउँपालिकाले परीक्षा लिएको थियो । रिक्त रहेको एक जना प्रा.वि. तृतीय राहत अनुदानको शिक्षक नियुक्तिको विज्ञापन विद्यालयले कात्तिक १० गते सूचना गोप्यरूपमा प्रकाशित गरेको थियो । तर, उक्त विज्ञापनको सूचना विद्यालय र गाउँपालिकाको वेबसाइट, पत्रपत्रिका र कार्यालय कतै टाँस गरिएको छैन । करार सूचीका शिक्षकहरूले निवेदन दिने समयसीमा सकिएपछि मात्र कात्तिक १६ गते विद्यालयका प्रधानाध्यापक भरत राजवंशीले आफ्नो फेसबुक र कानेपोखरीस्तरीय प्रधानाध्यापकहरूको फेसबुक ग्रुपमा हालेका थिए ।

कानेपोखरीमा करार सूचीका शिक्षकहरू ६ जना रहेका छन् । करार सूची नम्बर ११६ मा रहेका कानेपोखरी ३ का नवराज सुवेदी, २९ नम्बरका करार सूचीका युवराज सापकोटा, कानेपोखरी–५ का २८ नम्बर करार सूचीका तेइन्द्रकुमार बास्तोला, कानेपोखरी–७ का ९१ नम्बर करार सूचीका विनाकुमारी बुढाथोकी र सोही वडाका ७२ करार सूचीमा रहेका सीतादेवी खड्का रहेका छन् । उनीहरूलाई बाइपास गरेर विद्यालयले परीक्षा लिएको थियो ।

शिक्षा नियमावलीको उपनियम १ मा आयोगबाट प्रकाशित सूचीमा करारका लागि हुने उम्मेदवार नरहेमा वा सूचीमा समावेश भएका उम्मेदवारको शिक्षक पदमा नियुक्ति हुन निवेदन नपरेमा व्यवस्थापन समितिले शिक्षक छनौट समितिको सिफारिसमा बढीमा एक शैक्षिक सत्रको लागि कुनै व्यक्तिलाई करारमा शिक्षक नियुक्त गर्न सक्ने उल्लेख छ ।

शिक्षा नियामवलीमा व्यवस्था नभएको नियमलाई विद्यालयले २ महिनाअघि विज्ञापन प्रकाशित गर्दा विज्ञापन प्रकाशन गरेको मितिले करार सूचीका उम्मेदवारलाई ७ दिनभित्र कार्यालयमा सम्पर्क गर्न र करार सूचीका नआए मात्र अन्यले आवेदन दिन पाउने विज्ञापनमा उल्लेख गरेको छ । गाउँपालिकाको शिक्षा शाखा प्रमुख बेगबहादुर काफ्ले र विद्यालयका प्रधानाध्यापक भरत राजवंशीले आर्थिक चलखेल गरेर करार सूचीका शिक्षकहरूलाई राहत शिक्षक नियुक्ति प्रक्रियामा सामेल नगराउने उद्देश्यले विज्ञापन गुपचुप राखेको पाइएको छ ।

करार सूचीका शिक्षकले निवेदन दिने समय सकिएपछि विज्ञापन सार्वजनिक गरेको दुई महिनापछि मात्र पुस ९ गते लिएको परीक्षा लिएको थियो ।

कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले तत्काल शिक्षक नियुक्त नगर्न विद्यालयलाई निर्देशन दिएको बताए । राहत शिक्षकको परीक्षाको विषयमा अध्ययन भइरहेको उनले बताए । ‘अहिले शिक्षक नियुक्ति भइसकेको छैन । करार सूचीका शिक्षकहरूको पनि कुरा आइरहेको छ’ उनले भने, ‘यसमा हामी पुनःविचार गर्नेछौँ ।’ गाउँपालिकाले परीक्षा रद्द गरेर ६ जना करार सूचीमध्येका निवेदन दिएका शिक्षकलाई नियुक्ति गर्ने तयारी गरेको बुझिएको छ ।