धरान । अस्थायी स्वास्थ्य शिविर सञ्चालनको नाममा सुनसरी–मोरङ सिंचाइ आयोजनाको स्वामित्वमा रहेको ३७ बिघा जग्गामध्ये १२ बिघा जग्गा अतिक्रमण गरेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आयोजनाको बाँकी जग्गासमेत अतिक्रमण गर्ने तयारी गरेका छन् ।

महिला अनुयायीमाथि बलात्कारको आरोप खेपेका गिरीद्वारा सञ्चालित रामानन्दाचार्य सेवा पीठको मङ्गलबार आन्तरिक बैठक बसी स्थानीयको सहयोग र समर्थनमा सिंचाइ आयोजना र सप्तकोसी नदीको पूर्वी भङ्गालो आसपासको ठूलो क्षेत्रफल भोगचलन गर्ने निर्णय गराउने तयारी गरेको बैठकमा सहभागी एक स्थानीयले बताए । गिरीले अर्का जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यले सुरु गरेको कुम्भ मेलालाई प्रभावित गर्ने गरी हनुमान यज्ञ गर्न भारतीय विवादास्पद धार्मिक गुरु बागेश्वर धाम बाबालाई चतरा आगमनका लागि निमन्त्रणा दिएको सार्वजनिक भएको छ ।

कुम्भ मेला लगाउने साथै हनुमान यज्ञ गर्ने नाममा सिंचाइको ठूलो भू–भाग हत्याउने योजनासहित बैठक बसेको स्थानीयले जानकारी दिएका छन् ।

तत्कालीन वराहक्षेत्र गाविसले खेलमैदानका लागि बजेट विनियोजन गरी निर्माण गरेको खेलमैदान र आसपासको क्षेत्र पहिला नै अतिक्रमण गरेका थिए ।

उनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने नाममा जग्गा उपभोग गरेका थिए । पछि सिंचाइ आयोजनाको स्वामित्वमा रहेको ३७ बिघा जग्गामध्ये १२ बिघा जग्गा आयुर्वेदिक विश्वविद्यालय निर्माण गर्ने गुरुयोजना ल्याएर स्थानीयलाई प्रभावित गरेका थिए । तर, हाल उक्त योजना तुहिएको छ भने सो स्थानमा हनुमान मन्दिर र नक्सा पाससमेत नगरी सयौं भक्तजनबाट प्रतिकोठा ५ लाख रुपैयाँका दरले रकम असुलेर आश्रम निर्माण गरेका थिए ।

सो स्थानलाई रामानन्दाचार्य सेवा पीठ नामकरण गरेका उनले स्थानीयवासीसामु वराहक्षेत्रलाई योगको केन्द्र बनाउने, चतराधाममा आयुर्वेदिक विश्वविद्यालय निर्माण गर्ने, युवालाई रोजगार सिर्जना गर्ने, हरित क्रान्ति र जल पर्यटनजस्ता ठूला गुरुयोजना अघि सार्ने प्रलोभन देखाएका थिए । साथै उनले सो क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि २ सय तले मन्दिर निर्माण गर्ने सपना देखाएका थिए ।

वराहक्षेत्रमा आयुर्वेदिक विश्व विद्यालय स्थापना गर्न १० वर्षअघि ०७० वैशाख १९ गते वराहक्षेत्र आयुर्वेद विद्यापीठ, शिक्षण भवन शिलान्याससमेत गरेका थिए । आयुर्वेदिक विद्यालय निर्माण भएपछि सयौं  स्थानीयले जागिर पाउने र स्थानीयलाई सुलभ दरमा जडीबुटी औषधिसमेत उपलब्ध गराउने प्रलोभन देखाएका थिए ।

हाल कुनै पनि योजना सुरु नभई तुहिएपछि पुनः स्थानीयलाई १ महिनाका लागि जग्गा उपलब्ध गराउन सहयोग गरिदिन उनी याचनामा लागेका छन् । स्थानीयको सहयोग पाए जग्गा अतिक्रमण गर्ने उनको योजना रहेको स्थानीय बताउँछन् ।
यसअघि १२ बिघा जग्गा अतिक्रमण गरेका उनले सुनसरी–मोरङ सिंचाइ आयोजनासँग कुनै अनुमति हालसम्म लिएका छैनन् । उनले निर्माण गरेको संरचनासमेत अवैध छ । उनले संरचनाको वैधानिकताका लागि वराहक्षेत्र नगरपालिकासमक्ष नक्सापासको लागि हारगुहार गरेका थिए । तर, नगरले सम्पूर्ण निर्माण सकिएपछि नक्सापासका लागि गरिएको आग्रह अस्वीकार गरेको थियो ।

मुलुककै सबैभन्दा ठूलो सिंचाइ योजना मानिएको सुनसरी–मोरङ सिंचाइ योजनाअन्तर्गतको चतरा नहरबाट सुनसरी र मोरङको ६८ हजार हेक्टर (एक लाख २ हजार बिघा) जमिनमा सिंचाइ हुने गरेको छ ।

वराहक्षेत्रको चतरास्थित योजनाको मुख्य इन्टेकको जग्गामध्ये १२ बिघा अतिक्रमण गरेर पर्खाल लगाएपछि बालुवा फाल्ने दुई ड्रेजर मेसिन सञ्चालन गर्न कठिनाइ भएको सुनसरी–मोरङ सिंचाइ आयोजनाले बताउँदै आएको छ ।

सप्तकोसीको पानी वराहक्षेत्रको चतरादेखि ५३ किलोमिटर लम्बाइको मूल नहरबाट सुनसरी र मोरङका जमिनमा सिंचाइ गरिरहेको अवस्थामा दशकअघिदेखि जगद््गुरु रामानन्दाचार्य सेवा पीठको नाममा आयुर्वेदिक विद्यालय खोल्ने, धन्वन्तरी बाटिका, हर्बल जडीबुटी वृक्षरोपण र गौपालन गर्ने नाममा अतिक्रमित र भोगचलन हुँदै आएको छ ।

पीठले एक महिनाका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने भनेपछि आयोजनाले अस्थायी टहरा बनाएर बस्न अनुमति दिएको थियो । तर, एक महिने शिविर समाप्त भए पनि सेवा पीठले जग्गा छाड्नुको सट्टा स्थायी तरिकाले आयोजनाको स्वामित्वमा रहेको जग्गामा विना जानकारी पक्की पर्खाल लगाएर विशाल संरचना र मन्दिर निर्माण गरिएको छ ।

आयोजनाको पाइपलाइन भएको ठाउँसम्म जान आयोजनाले आफ्नै खर्च गरेर डिस्चार्ज निरीक्षण, ल्यावटेष्ट गर्नका लागि ग्राभेल बाटोसमेत निर्माण गरेको छ । तर, ती बाटामा जाने ठाउँ बन्द गरिएपछि विवाद हुँदा डे«जरका लागि बाटो छाडेर तीन स्थानमा संरचना निर्माण गरिएको छ ।

आयोजनाका अनुसार प्रतिसेकेन्ड ६० घनमिटर पानी प्रवाह गर्ने क्षमता भएको इन्टेकले ६८ हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ गरिरहेको छ । जग्गा अतिक्रमणको कारण हिउँदमा ३४ हजार हेक्टरमा लगाइने गहुँ खेती, चैते धान र अन्य नगदेबाली प्रभावित हुने गरेको छ ।  आयोजनाका अनुसार सुनसरी र मोरङमा सिंचाइका लागि पानी लैजाने मूल नहर चतरामा कोसीबाट आउने  बालुवामध्ये बर्सेनि चार लाख घन मिटर दुई ड्रेजर मेसिनले छान्ने गरेका छन् ।

चतरास्थित ड्रेजर मेसिन सञ्चालक रमेश अधिकारीका अनुसार ड्रेजर डिस्चार्ज पाइपलाइन निरीक्षण गर्न, पाइप पल्टाउन र सेम्पल कलेक्सन गर्नुपर्ने हुन्छ ।  सेवा पीठको अतिक्रमणका कारण ड्रेजिङ कार्यमा बाधा उत्पन्न भएको आयोजनाको भनाइ छ ।

सेवा पीठका अध्यक्ष दोर्ण लावती भने जग्गा अतिक्रमण गर्न लागेको हल्ला निराधार भएको बताउँछन् । उनले एक महिनाका लागि मात्र जग्गा उपभोग गरिने बताए । उनले भने, ‘पहिला के भयो थाहा भएन तर, अब त्यस्तो हुँदैन । हामीले अतिक्रमण गर्न लागेको भन्नु हल्ला मात्र हो ।’