धरान । धरान–१२ स्थित पब्लिक हाईस्कुलले ७७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राविधिक सहयोग र ब्लड फर निडको समन्वयमा विद्यालयको प्राङ्गणमा भएको रक्तदानमा १ सय ६ पिन्ट रगत सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । विद्यार्थीहरूमा सहयोग, सद्भाव र सामाजिक भावनाको विकास गर्दै राष्ट्रको जिम्मेवार नागरिक बनाउने उद्देश्यले रक्तदानको आयोजना गरिएको प्र.अ. झाले बताए । रक्तदान जीवन दान भएकाले रगतको अभावलाई थोरै भए पनि पूरा गर्न सहयोग पुग्ने अपेक्षा रहेको प्र.अ. झाले बताए ।
विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारीलगायतले रक्तदान गरेको विद्यालयले जनाएको छ । सुरुमा ५० पिन्ट रगत सङ्कलन हुने अपेक्षा गरिएको भए तापनि सोचे भन्दा राम्रो रगत सङ्कलन भएको विद्यालयका इन्चार्ज वीरेन्द्रबहादुर साहले बताए ।
वि.सं.२००३ सालमा स्थापना भएको विद्यालयले आगामी पुस २६ र २७ गते स्थापनाको ७७ औं वार्षिकोत्सव मनाउँदै छ । कार्यक्रममा मारवाडी सेवा समाज धरानका अध्यक्ष अनिल अग्रवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किरातीलगायतको उपस्थिति थियो ।