आज तराईमा हुस्सु र मुलुकको हिमाली र पहाडी जिल्लामा हिमपात हुने सम्भावना छ । देशका तराई भू-भागका केही स्थानहरू हुस्सु/कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
देशभर चिसो बढ्दो क्रममा छ । राजधानी काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियससम्म पुगेको छ । जुम्लामा सबैभन्दा चिसो माइनस ६.६ डिग्री सेल्सियस रहेको छ भने जोमसोममा पनि माइनस ४.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ । जिरीमा माइनस ०.७ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुगेको छ ।
आइतबार कोशी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।