धरानको महत्वकाङ्क्षी परियोजना सर्दू करिडोरको काम अलपत्र परेको छ । सर्दू खोलाको वितण्डा रोक्ने दीर्घकालीन योजनाका रुपमा लिइएको सर्दू खोला शिरदेखि तीरसम्म नियन्त्रण गर्ने उद्देश्यले शिलान्यास भएको योजना सुरुवातमै अलपत्र परेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरी विशेष योजनाका रूपमा अगि बढाएको योजना कोभिड सङ्क्रमणका कारण रोकिएर २०७८ भदौ २५ गते ठेकेदार कम्पनी प्यासिफिक जलजला जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रदेश सरकारले बहुवर्षे ठेक्का स्वीकृत गरी २५ करोडको लागत स्टिमेट तयार गरेको थियो । ठेकेदार कम्पनीले १० करोड ६५ लाखमा ठेक्का प्राप्त गरेको थियो ।

योजना सङ्घीय सरकार र धरान उपमहानगरले समेत साझेदारी गर्ने गरी २ वर्षमा सम्पन्न गर्ने उद्देश्यका साथ बजेट व्यवस्थापन गरिएको थियो । २ वर्षको समयावधि सकिएको चार महिना बित्यो । नियामक निकाय मौन देखिएको छ ।

धरान-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले 'साइट क्लियर' नहुँदा समस्या भएको बताए । सुकुम्बासी समस्याका कारण निर्धारण गरिएको 'साइट क्लियर' गर्न नसकेको बताए । 'साइट क्लियर भएका ठाउँमा समेत ठेकेदार कम्पनीले काम गरेको छैन ।' वडाध्यक्ष भट्टराईले भने ।

ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा करिडोरको काम हुने-नहुने यकिन नभएकाले स्थानीयसमेत अन्योलमा छन् । करिडोर निर्माणको प्रारम्भिक काम सुरु भए पनि अलपत्र परेको कामले गति नलिंदा तटबन्ध भत्किन थालेको छ ।

'बर्खामा बाढीले बगाउन थालेपछि स्थानीय मिलेर जाली लगाउने काम गर्यौ,' स्थानीय युवा विनोद राईले भने, 'जनतालाई सपना देखाउनेमात्र काम भयो, काम अलपत्र छाडेर कम्पनी सम्पर्कविहीन भएको छ, स्थानीय सरकारको पहलकदमी देखिएन ।'

तत्काल धरान-चतरा सडक खण्डको सर्दूखोला पुल किनारदेखि उत्तर ५ किलोमिटर तटबन्ध गर्ने गरी ड्यामसहितको वाल, १७ सय मिटर प्लम कङ्क्रिट र १६ सय ७५ मिटर आरसीसी ढलान हुने योजना  खोला नगहिरियोस् भनेर रिभर बेल्ट बार (क्रस वाल) समेत लगाइने गरी सुरुवात गरिएको थियो । २० वटा छोटाछोटा वाल, ५ किमी करिडोर सडकको छेउमा ड्रेनसमेत निर्माण हुने भनिएको थियो । आवश्यकता र चौडाइ हेरेर औसत ८७ मिटर खोलाको चौडाइ कायम हुने गरी डिपीआर निर्माण गरिएको थियो । 

तत्कालीन प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शिलान्यासका अवसरमा सर्दू करिडोर धरानका लागि गेम चेञ्जर परियोजना भएको बताएका थिए । आचार्यले रात्रिकालीन पर्यटकीय स्थल निर्माण गर्ने परिकल्पनाअनुसार करिडोर सुरु गरिएको बताएका थिए ।


सर्दू करिडोरको शिलान्यासपछि बोल्दै मुख्यमन्त्री आचार्यले सर्दू करिडोरका कारण कोही बेघरबार नहुने बताएका थिए । करिडोरमा पर्ने घरलाई सुरक्षित स्थानमा सार्ने र प्रतिघर ५ लाख रुपैयाँ प्रदान गरिनेसमेत तत्कालीन  मुख्यमन्त्री आचार्यले प्रतिबद्धता जनाएका थिए ।

सर्दू करिडोर परियोजना जलाधार संरक्षणलगायतमा समेत लक्षित गर्ने योजनाअनुरूप अगि बढेको थियो । धरानका ११, १३, १६ र १७ नम्बर वडामा करिडोर निर्माणको कार्य सुरु गर्ने लक्ष्य राखिएको थियो । सर्दू खोला नियन्त्रणपछि २० हेक्टर 'खोला उकास जग्गा' निस्कने र त्यहाँ नगरपालिकाले पार्कलगायत पर्यटकीयस्थल निर्माण र व्यवस्थापन गर्ने अपेक्षा गरिएको थियो । करिडोर बनेपछि सर्दूको चपेटामा परेको १ सय २० हेक्टर जग्गा सुरक्षित हुने र ७ सय घरधुरीका १४ हजार जनसङ्ख्या लाभान्वित हुने अनुमान गरिएको थियो ।

करिडोर निर्माणपछि धरानमा आर्थिक रूपमा समेत आकर्षक आयोजना सुरु हुने, पर्यटन, दिगो विकास र व्यवस्थित सहरका रूपान्तरण गर्ने सपना पूरा हुने आश्वासन बाँडिएको थियो ।