धरान । पहाडीभेगमा गाउँ छाडेर सहरतिर बसाइँ सर्ने लहर चलेको छ । गाउँहरू उजाड बनिरहेका छन् ।

पाँचथरको विकट गाउँ मिक्लाजुङ–१ की जुनु लावतीलाई भने श्रीमान्ले सात–आठ वर्ष विदेश बसेर राम्रै कमाइ गरे पनि सहरतिर झर्ने रहर लागेन । बरू विदेशको कमाइ पनि गाउँमै लगानी गरेर आफ्नै पुख्र्यौली थलो हराभरा बनाउने इच्छा जाग्यो । त्यसपछि उनको परिवारले किबी खेती सुरु ग¥यो । यो २०६८ सालतिरको कुरा हो ।

‘त्यतिबेला नेपालमा किबी खेती भर्खरै सुरु हुन थालेको थियो । भविष्य कस्तो होला ? भन्ने संशय अवश्य थियो’ धरान उत्सवमा किबीका उत्पादनको प्रवद्र्धन गरिरहेकी उनले भनिन्, ‘त्यो बेला केजीको हजारदेखि बाह्र सयसम्म पर्ने किबी धेरै उत्पादन भएपछि भाउ घट्छ भन्ने सोचेरै त्यहीअनुसार खेती सुरु गरेका हौँ ।’ विदेशबाट भर्खरै भित्रिएको यो फल रोप्ने, गोडमेलदेखि बजारसम्मका विषयमा बुझ्दै, अध्ययन गर्दै, काम गर्दै उनीहरू अघि बढे ।

लावतीको परिवार पनि पहिला अरूजस्तै निर्वाहमुखी खेतीमा सीमित थियो । लेकाली क्षेत्रमा पर्ने मिक्लाजुङमा फरक किसिमले खेती गर्ने सोच राखी नगदे बालीको खोजी गर्ने क्रममा भर्खरै चर्चामा आउँदै गरेको किबी खेती सुरु गरेको लावतीको भनाइ छ । करिब ४५ रोपनी जग्गामा लगाएको किबीसँगै माछा पालन र चिया खेती पनि गरिएको छ । हालसम्म एक करोडभन्दा बढी लगानी भइसकेको लावतीको भनाइ छ ।

सुरुमा माङ्पाङ लावती कृषि उद्योग दर्ता गरेर किबी बेच्दै आएको लावती परिवारले २०७२ सालदेखि सनम फलफूल उत्पादन तथा प्रशोधन उद्योग दर्ता गरेर काम गर्दै आएका छन् । २०७८ सालदेखि उद्योगबाट किबीको स्क्वास, जाम, अचार, जुस, वाइन र रक्सी बनाएर बेच्दै आएकी लावती अझै पनि यसको प्रचार–प्रसार राम्रोसँग हुन नसकेको बताउँछिन् । उत्पादनको प्रचारकै लागि पनि विभिन्न मेला, उत्सवमा पुग्ने गरेको बताउँदै उनी भन्छिन्, ‘हामीले खेती सुरु गर्दा किबी पाहुना फल थियो, अहिले विस्तारै चिनाउँदै लगेका छौं तर, अझै पनि सबैले यसको महत्व बुझिसक्नुभएको छैन । बुझाउनकै लागि पनि हामी मेला उत्सवमा घुमिरहेका छौँ ।’

बारीमा फलेको किबी ग्रेडिङ गरेर ठूलाजति बजारमा पठाउने र बाँकी पाकेका तथा साना दानाको प्रशोधन गरेर जुसदेखि रक्सीसम्म बनाउने गरेको लावतीको भनाइ छ । किबी खेती र उद्योगमा अहिले लावतीको परिवारका साथै नियमित आठ जना जति कामदार छन् । सिजनका बेला २० जना जतिले रोजगारी पाउँछन् । उनको परिवारको जीविकोपार्जन किबीबाटै हुँदै आएको छ ।

कृषिप्रधान देश भनिए पनि राज्यले किसानलाई प्राथमिकतामा नराखेको देख्दा भने मन दुख्ने गरेको लावती बताउँछिन् । ‘राज्यले पोष्टर छाप्दासमेत किसानलाई थोत्रे लुगा लगाएको, हलो, कोदालो बोकेको देखाएर दुव्र्यवहार गरेको छ’ उनको गुनासो छ, ‘कागजपत्र मिलाउनेले अनुदान पाउँछन्, वास्तविक किसानलाई राज्यले वास्तै गर्दैन ।’

लावतीको खेतीका लागि प्रदेश सरकारले पहिला केही सहयोग गरे पनि हाल उद्योग आफ्नै बलबुताले सञ्चालन गरेको उनी बताउँछिन् । किबीबाट अग्र्यानिक रक्सीसमेत उत्पादन गर्दै आएकी उनी राज्यले विदेशी रक्सी ल्याएर बेच्नेलाई सम्मान गर्ने तर, आफ्नै खेतबारीको उत्पादनबाट रक्सी बनाएर बेच्नेलाई दुव्र्यवहार गर्ने गरेको पनि उनलाई चित्त बुझ्दैन । उनी भन्छिन्, ‘मेरो त संस्कारमै रक्सी जोडिएको हुन्छ । तर, मैले परम्परागतरूपमा बनाएको रक्सी सरकारले अवैध मान्छ । यसलाई ब्रान्डिङ गरिदिए त राज्यलाई नै फाइदा हुन्थ्यो । करोडौं रुपैयाँ बाहिर जान पाउँदैनथ्यो । अनि किसानहरू पनि गाउँ छाडेर सहरतिर बसाइँ सर्नुपर्ने थिएन ।’